|

दाङ : तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरका आनन्द नेपालीले खेतबारीमा वर्षमा दुई पटक मात्र खेती गर्दै आएका थिए। गाउँमा पानीको समस्याले गर्दा चैत र वैशाखमा खेतबारी बाँझै हुने गर्दथ्यो। तर, बृहत दाङ उपत्यका सिँचाइ योजनाले गाउँमा बबई नदीको पानी सोलारबाट लिफ्ट मार्फत ल्याइदिएपछि अहिले वर्षको तीन खेती गर्दै आएको बताए। 

नेपालीका अनुसार गाउँमा उक्त सिँचाइ योजनाले करिब  ३० बिघा जमिनमा सिँचाइ पुग्ने गर्दछ। सिँचाइको व्यवस्था भएपछि अब अन्य खेतीसँगै तरकारी खेती पनि गर्ने योजना रहेको उनले सुनाए। ‘अहिले गाउँमा बबई नदीको पानी आएको छ,’ नेपालीले भने, ‘चैत र वैशाखमा खेत बारी बाझै हुन्थ्यो। तर, यस पटक मकै लगाएर बेचियो। अब तरकारी खेती गर्ने योजना रहेको छ।’

उक्त योजनामा निर्माण गर्नको लागि ७९ लाख रुपैयाँ लागेको थियो। योजनाबाट तुलसीपुर–१८ का यज्ञबहादुर बस्नेत पनि गाउँमा कृत्रिम पोखरी बनेपछि निकै खुशी छन्। ताल निर्माण समितिका अध्यक्ष  शेषमणि कुँवरले तालको पानीले करिब ४०० घरपरिवारलाई सिँचाइ पुग्ने बताउँछन्। उनका अनुसार उक्त तालमा एक महिनालाई मात्र पानीको स्रोत नहुने र अन्य समयमा प्रशस्त हुने गर्दछ। उक्त ताललाई सिँचाइका लागि मात्र नभई आर्थिक आय आर्जन गर्नका लागि माछा पालन, पर्यटकीय स्थल बनाउन डुङ्गा सञ्चालन, पार्क बनाउने योजना रहेको समेत उनले सुनाए। 

जलाशय निर्माणको काम दुई वर्षअघि सुरु गरिएको थियो। जलाशय निर्माण भए पनि सिँचाइका लागि अझै धेरै काम बाँकी रहेको छ। करिब दुई लाख घनमिटर पानी अट्ने उक्त जलाशय एक करोड ८३ लाख रुपैयाँ लागतमा बन्दैछ।

त्यस्तै, घोराही उपमहानगरपालिका वडा नम्बर २ र ४ मा पर्ने सरेसोतामा कृत्रिम जलाशय निर्माण भएपछि स्थानीय खुशी भएका छन्। सोही ठाउँका बलबहादुर विष्टले तालको पानीबाट अब सजिलै सिँचाइ गर्न मिल्ने बताए। पानीको समस्याले यहाँका किसानहरू सिँचाइबाट बञ्चित भएको अवस्थामा जलाशय निर्माणपछि तरकारी खेती गर्न सकिने उनले बताए। त्यस्तै, तालको पानी सिँचाइको लागि मात्रा नभई  माछापालन, पर्यटकीय क्षेत्र समेत बन्ने आशा व्यक्त गरे।  

सोही ठाउँकी अर्की रिखा घर्तीले अब तालको पानीबाट थोरै जमिनमा पनि तरकारी खेती गर्न  सकिने बताइन्। पहिले आकाशे पानीबाट मात्रै सिँचाइ हुने गरे पनि जलाशय निर्माणपछि वर्षभरि सिंचाइ गर्न सकिने उनले बताइन्। ‘पानी अभावका कारण धेरै खेतीयोग्य जमिन बाझो भइरहेको अवस्थामा अब विभिन्न खेती गर्न सकिने छ,’ उनले भनिन्, ‘जसका कारण हामीलाई आय आर्जन गर्न सहज हुने छ।’ तालमा पनि धेरै दुर्घटना हुने गरेकाले ताल वरपर तारबार गर्न लागेको समेत उनले बताइन्। 

उक्त जलाशयबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने र तीन लाख घनमिटर पानी अट्न सक्ने क्षमताको रहेको छ। जलाशय निर्माण गर्न दुई करोड रुपैयाँ लगानीमा भएको छ।

त्यस्तै, तुलसीपुर–१८ दुधरासका विष्णुप्रसाद खुलालले पिर्थली कुइरेसोता जलाशय बनेपछि सिँचाइका लागि पानी अभाव नहुने बताए। जलाशयलाई सिँचाइका लागि मात्रै नभई पर्यटकीय विकासका लागि पनि प्रयोग गर्न सकिने बताए। तालको पानीले १२७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने खुलालले बताए। 

केही समय पहिले निर्माण पूरा भएको घोराही–२ रामपुरमा रहेको चेपे तालमा बृहत् सिँचाइ आयोजनाले पाँचवटा लिफ्टिङ जडान गरेको छ । जसबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ भएको छ। ८४ लाख रुपैयाँको लागतमा पाँचवटा लिफ्ट जडान भएको आयोजनाले जनाएको छ।

बृहत दाङ उपत्यका सिँचाइ आयोजना २०७३ सालमा स्थापना भएको हो। आयोजनाले १० वर्षमा ५६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्इ लिएको छ। हालसम्म ३ हजार हेक्टरमा सिँचाइ पु¥याएको र योजनाले सिँचाइका लागि पाँचवटा कार्य गर्दै आएको आयोजन तुलसीपुरका प्रमुख राजु आचार्यले बताए। उनका अनुसार आयोजनाले पाँच प्रकृतिका योजनाहरू निर्माण सम्पन्न गर्दै सिञ्चित क्षेत्र बढाइरहेको छ। डाइभर्सन, पानी संकलनका लागि जलाशयहरू निर्माण, बबई करिडोर लिफ्ट सिँचाइ योजना, पुराना सिँचाइ योजनाको आधुनिकीकरण र पहाडी क्षेत्रमा मुल संरक्षण तथा पानी संकलन विधिसँग जोडिएका योजनाहरू निर्माण गरिरहेको प्रमुख आचार्यले बताए।

आयोजनाअन्तर्गत दाङका विभिन्न स्थानमा १४ वटा जलाशय निर्माण भइसकेका छन्। ३० वटा प्रक्रियामा छन्। १२ वटा लिफ्ट सिँचाइ योजना, त्यस्तै पुराना योजनाको आधुनिकीकरण लगायतका योजनाहरू गरिराखिएको उनको भनाइ छ। तीन वर्षकोे अवधिमा भएका यी योजनामा अहिले जिल्लाको सबै क्षेत्रमा गरेर तीन हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाइको व्यवस्थापन गरिएको उनले बताए। उनले अर्काे वर्ष जलाशयहरू पूरा हुने हुँदा १४ वटै जलाशयले सिँचाइ सुविधा दिने र सिञ्चित क्षेत्रफल बढ्ने समेत दाबी गरे।  

त्यस्तै आयोजनाले अहिलेसम्म सल्यानको शारदा नदीको पानी दाङ झार्ने गरी शारदा डाइभर्सनको पूर्व सम्भाव्यता अध्ययन पूरा गरिसकेको समेत उनले बताए। ग्वारखोला उच्च बाँधको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न र विस्तृत इन्जिनियरिङको सुरूवात गरेको, माडी दाङ डाइभर्सन सम्बन्धित अध्ययन भइरहेको समेत बताए। उरहरी–जसपुर–डुरूवा सिँचाइ प्रणाली निर्माण कार्य सुरू, दाङ उपत्यकाको कृत्रिम जलाशयहरूको मास्टर प्लान तयार गरेको, २५ वडा डिप ट्युबेलको निर्माण कार्य अन्तिम चरणमा रहेको, १७ वटा प्रक्रियामा रहेको, १४ वटा माटोको कृत्रिम जलाशय निर्माण, ३० वटा जलाशय निर्माणको लागि पहिचान, बबई करिडोर अन्तर्गत विभिन्न २६ वटा लिफ्ट सिँचाइ निर्माण र किसान व्यवस्थित सतह सिँचाइ प्रणालीअन्तर्गत ३० किमि नहरको पुनस्र्थापन तथा सुधार गरिएको प्रमुख आचार्यले बताए।

तीन हजार हेक्टर सिँचाइ सुविधाका लागि अहिलेसम्म आयोजनाले ४८ करोड ६१ लाख रूपैयाँ खर्च भइसकेको जनाएको छ। १० वर्षको कार्ययोजनासहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब रूपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.