|

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। 

नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ।’

यसअघि अन्य गाउँम बलेको बिजुली हेर्दै रात काट्ने गरे पनि अहिले आफ्नै गाउँमा बिजुली बल्न थालेपछि खुसी भएको ६२ वर्षीय केशवबहादुर सिंह बताउँछन्। ‘धेरै ठूल–ठूला मान्छेहरु गाउँमा आउँथे, सबैले बिजुली ल्याउन पहल गर्छम भन्थे। आश देखाउँथे तर बत्ती वर्षौंसम्म आएन,’ उनले भने, ‘हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो। तर, आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुसी लागेको छ।’

जेठदेखि नै गाउँमा बिजुली वितरण गर्ने योजना भए पनि तार तान्न ढिलाई भएकाले वितरण पनि ढिलाइ भएका वडा नम्बर १ का अध्यक्ष गगनबहादुर सिंहले बताए। राष्ट्रिय प्रशारण लाइन ल्याउन थुप्रै समस्या झेल्नु परे पनि आफ्नै कार्यकालमा वडावासीलाई उज्यालो दिन पाउँदा खुसी लागेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.