|

'तिमीहरूको नाम, ठेगाना र पेसा के थियो, सबैले पालैपालो भन!’

'मेरो नाम रामप्रसाद खतिवडा, पूर्वी नेपालतिर राजमार्ग छेउको बस्तीबाट, म पेसाले एमबीबीएस सकेर काउन्सिलको जाँचमा अनुत्तीर्ण विद्यार्थी!'’

'अनि तेरो बारेमा बता! ’

'मेरो नाम रामलखन यादव, घर नेपालको मध्य पूर्वी तराइ, मलेशियामा काम गरेर फर्केको श्रमिक!'

'तेरो नि?’

'मेरो नाम रामकाजी डंगोल, घर नेपालको राजधानी शहरमा, मेरो पढाइ राम्रो भएन्, जागिर पनि केही थिएन। म गर्लफ्रेण्डले छोडेको, लागुपदार्थ सेवनकर्ता! '

अनि तेरो?’

'मेरो रामबहादुर गुरुङ, घर नेपालको पोखरा नजिकैको पहाडी गाउँ, बेलायती सेनामा भर्ती हुन नसकेको युवा।'

'अब तँ भन्!’

'मेरो नाम रामसिंह विश्वकर्मा, घर कर्णाली, दलित।'

'अब तँ भन्!'

'मेरो नाम रामभगत थारु, पूर्वी पहाडतिर मजदुरी गर्थें।'

हातमा गदा लिएको, कानसम्म फैलिएको जुँगा भएकोऽ भ्यात्त भुँडी उठेको मुस्तन्डले लाम लागेर उभिएका र शरीरमा सर्वाङ्ग सेतो पहिरन लगाएका, डरले थर्थर काँपिरहेका पुरुषहरूलाई सोधिसकेपछि तिनीहरूकै पछि सेतै पहिरनमा शिर निहुराएर उभिएकी एक युवतीलाई सोही प्रश्न गर्‍यो।

उसले जवाफ दिई, 'मेरो नाम राम कुमारी, घर बुटवल भैरहवातिर, देह व्यापार गर्ने गरेकी युवती।'

त्यो प्रश्न गर्ने मुस्तन्ड जुँगामुठे यमलोकका राजा यमराज थिए भने लाम लागेर पालैपालो जवाफ दिनेहरू गएको महिना आत्महत्या गरेर यमलोक पुगेका नेपाली युवाका आत्माहरू थिए।

यो ठाउँ यमलोकको अदालतको इजलास चलिरहेको थियो।

यमराजले छेवैमा बसेर फाइलहरू पल्टाइरहेका चित्रगुप्तसित सोधे, 'चित्रगुप्तजी! भन्नुहोस् त, यिनीहरूलाई यता ल्याइसकेपछि पृथ्वी लोकमा मान्छेहरू यिनीहरूको बारेमा के भनिरहेका छन्?’

चित्रगुप्तले फाइल पल्टाउँदै भने, 'प्रभु! यिनीहरूलाई त पृथ्वीमा कुलकै इज्जत फाल्ने कुलङ्‌गार स्वाँठहरू, बाँच्नको दुःखले आत्महत्या गरेका डरपोकहरू र यस्तै अरू तमाम शब्दहरूले गाली गर्दै रहेछन्। आफू त मरेर गए गए, बाँच्नेहरूलाई शिर ठाडो गर्न नदिने भए पिराहाहरूले’ भनेर सराप्दै रहेछन् प्रभु।

यमराजले जुँगामा ताउ लगाउँदै गदाहा उचालेर भने, 'ओइ खतिवडा बाहुन! यत्रो खर्च गरेर डाक्टर हुन लागेको बेला तैँले किन आत्महत्या गरेर सम्पूर्ण कुल/खानदानको इज्जत माटोमा मिलाइस्?’

'हजुर! मैले एमबीबीएस मेरो लागि होइन, मेरो समाजको लागि गर्दै थिएँ। उनीहरूको दबावस्वरूप मेरा बाआमाले मलाई डाक्टर बनाउने सपना देख्नुभयो। पहिले मेरा बाआमालाई सय रुपियाँ सापट नपत्याउनेले मेरो विदेशी पढाइको लागि लाखौँ रुपैयाँ ऋण पत्याए। कहिल्यै तिर्न नसकिने ऋण गरेर मलाई जबर्जस्ती मेडिकल साइन्स पढ्न विदेश पठाइयो। म उत्साहित भएर खुसी हुँदै विदेशमा डाक्टरी पढ्न गएपनि त्यहाँको माहोलमा डाक्टरी पढ्न अत्यन्त कठिन भयो।

बल्लतल्ल पढेर फर्केपनि स्वदेश पुगेर काउन्सिलको परीक्षा उत्तिर्ण गर्न नसकेकोले काम गर्न पाउने योग्य बन्न सकिनँ। यता ऋणको कारण साहुको बारम्बार ताकेता, अर्कातिर पढाइ पूरा गर्न नसकेको पीडा छँदैथियो।

बालसखाहरूले 'बडो सान दिएर डाक्टर हुन विदेश गएको थियो, जाबो लाइसेन्सको जाँच पनि पास गर्न सकेनछ’ भन्दै गर्ने छिछि-दूरदूर सहन सहन नसकेर म आत्महत्या गर्न बाध्य भएँ!' खतिवडाले डरले काम्दै जवाफ दियो।

'अनि नसक्ने डाक्टरी विषय जबर्जस्ती किन पढ्न गएको त बदमास?’ यमराज गर्जिए।

'डाक्टरी मेरो रहर थिएन भगवान्‌ ! म त सानैदेखि कलाप्रेमी थिएँ। मलाई नाचगानमा रुचि थियो। मलाई नारायणगोपाल जस्तै गायक र देवकोटा जस्तै कवि हुने रहर थियो प्रभु! कार चढेर सानसँग हिँड्ने डाक्टरको बाआमा हुने बाआमाको रहर पूरा गर्न म जबर्जस्ती विदेश गएको थिएँ, मलाई त विदेशको कोलाहलमा हराउन होइन, हाम्रै गाउँघरका खोलामा पौडी खेल्दै त्यसैको किनारमा बसेर गीत गाउन र कविता रच्न मन लाग्थ्यो प्रभु!'

मेरा बाआमालाई डाक्टरका बाउ आमा भनेर सम्बोधन गर्न थालेको यो समाजले अहिले छिछि-दूरदूर गरेको देख्दा मलाई झन दुःखी बनाएको छ प्रभु।'

'अनि यादव! तँलाई के नपुगेर घाँटीमा पासो लगाइस्, भन् त!’ यमराजले रामलखनलाई सोधे।

'प्रभु! कुरा के छ कि, मेरो परिवार सबै जमिन्दारको घरमा काम गर्थियो। मेरो जमिन जायदाद बहुत कम थियो। बेटीहरू धेरै छ। उनीहरूको शादी गर्नलाई धेरै तिलक खर्चा भयो। साहुको ऋण तिर्न भनेर मलेशिया गएँ। मलेशिया गएपछि बिमार भएँ। पैसा कमाउन सकिनँ। त्यहिबेला यौटा बंगालीले चोरीको केश गराइदियो। कमाएको सबै पैसावैसा जुर्माना तिरेर घर फर्किएँ। घर आएपछि घर आगलागी भयो। यौटा दामादले तिलक कम भयो भनेर बेटीको जिउमा एसिड लगाएर जलाइदियो।

म रातभर रोएँ, दिमागमा केही सुझ आएन। मेरै कारण सबको दुःख भयो भनेर आत्महत्या गरिलिएँ भगवान्‌ ! '

'अनि डंगोल, यो खाइलाग्दो उमेरमा राजधानीको सुख-सुविधायुक्त जिन्दगी त्यागेर किन आत्महत्या गरेको लाछी?’

'भगवान्‌! मेरो परिवार किसानी गर्छ। तर, काठमाडौँ बाहिरका मान्छे आउँदै हाम्रो जग्गा किन्दै गर्न लाग्यो। हरेक वर्ष जग्गा बेच्दा हामीसित धेरै पैसा भयो। तर, पैसा के गर्ने भन्ने हामी कसैलाई थाहा थिएन। त्यसैले जग्गा बेचेको पैसाले मोटरसाइकल र कार किन्न थाल्यो।

पैसा धेरै भएपछि किन दुःख गरेर पढ्ने भन्ने मनमा आयो। कुनै साथी, छिमेकी र टिचरले पनि 'बिग्रिन हुन्न' भनेर सम्झाएनन्। बरू धनीको छोरो भनेर सबै मेरो पछिपछि लाग्थे। कलेजमा लागुपदार्थ खाने साथीको संगतमा परेर मैले पनि हान्न थालेँ।

मेरो सोझो बाबुआमाले पनि म के गर्दैछ भनेर मतलब गरेन। मेरो यौटी गर्लफ्रेन्ड थियो, मेरो पैसा हुन्जेल मोज गर्‍यो अनि 'यस्तो ट्यापे, आवारा, काम न काजको लफंगासित को लभ गर्छ?' भनेर छोडेर अर्कैसित गयो। पछि त मलाई 'यो ट्यापे 'भनेर कसैले माया गरेन। मैले सहन सकेन। अनि एकै चोटि धेरै ट्याबलेट खाएर मर्‍यो प्रभु!'

'अनि गुरुङ, केको भुत चढ्यो र सेती नदीमा हाम फालेको नि?’

'प्रभु! म स्कूलको फस्ट ब्वाइ वैज्ञानिक हुने रहर थियो। तर, मेरो गाउँतिर सबै केटा सके ब्रिटिस नसके इन्डियाको लाहुरे हुने चलन छ। मेरो घर र आफन्त सबैले 'लाहुरे हुन जा जा' भनेर कर गरिराख्ने। गाउँघरमा पनि लाहुर गएर आउनेलाई इज्जत गर्ने, हामी जस्तो पढेर बस्नेको इज्जतै नगर्ने।

म पनि जबर्जस्ती लाहुरे हुन गएको, तर, भएन। लाहुरे हुने उमेर गैहाल्यो। यता पढाइ पनि छुटिहाल्यो। गतिलो जागिर पनि पाएन। 'लाहुरे पनि होइन, जागिर पनि छैन' भनेर बिहे गर्न केटी पनि दिएन कसैले। लाहुरे र जागिरे मात्र मान्छे हो, म होइन भने किन बाँच्नु भनेर मर्‍यो भगवान!' रामबहादुर गुरुङले जवाफ दियो।

'अनि रामसिंह! तँ किन मरिस्? कर्णालीको मान्छे, काठमाडौँ गएर मरिस्, अनि सारा मान्छेलाई दुःख दिइस्?’ यमराजले सोधे।

'काठमाडौँ गएर केही पढौँ, केही सिकौँ र आफ्नो दलित समाजको लागि केही गरौँ, विकट कर्णालीको लागि पनि केही योगदान गरूँ भनेर नेपालको राजधानीमा आएको थिएँ। तर, काठमाडौँका सुकिला मान्छेहरूले हाम्रो मैलो शरीर देखेर घृणा गरे। दलित भएकोले मैले डेरा पाइनँ। पाटीमा बसेर पनि चिसा रात गुजारेँ। यहाँका मान्छेले जस्तो राम्रोसित बोल्न नजानेको हुनाले कुनै जागिर पाइनँ।

भारी बोकेर प्राण धान्दै थिएँ, लकडाउनले त्यहि काम पनि खोसि दियो। घर जान गाडी पाइनँ। बसेर खान अन्न पाइनँ। मान्छेहरूको अपमान सहँदै पाइला-पाइलामा मरिरहनुभन्दा एकै पटक मर्छु भनेर आफू सुत्ने गरेको पाटीको दलिनमा भारी बोक्ने नाम्लोको पासोले बेरिएर मरेँ प्रभु!' रामसिंहले जवाफ दियो।

'अनि रामभगत! कैलाली कञ्‍चनपुरको त्यो उब्जाउ मैदानमा खेतिपाती गरेर खाएर परिवार पाल्न छोडेर किन मरिस्‌? अनि सबैलाई दुःखमा पारिस्?’ यमराजले सोधे।

'मेरो घर आगाडि भएको उब्जाउ जग्गा मेरो होइन प्रभु! त्यो त जमिन्दार को हो। हामी त पहिले कमैया हो, अहिले सुकुम्बासी मजदूर हो। परिवार पाल्न पूर्वी पहाडको हाइड्रोमा गएको थिएँ। जाडोको बेला बिमार भएर काम गर्न सकेन।

जाडो सकिएपछि अलि अलि काम गर्दै थिएँ। तर बाढी आएर हाइड्रो बगाइदियो। काम तमाम भैगो। त्यही बेला गाउँको एकजनाले मेरो बुढीलाई भगाइदियो। अब यहाँ बसौँ, के खाएर बसौँ, घरमा कसको लागि जाउँ, किन जाउँ भनेर मैले आत्महत्या गरेँ,' रामभगतले खुइय्य गर्दै बयान गर्‍यो।

अब पालो रामकुमारीको थियो। आत्महत्या गर्नुको कारणबारे उसले बताउन थाली।

'म राजमार्ग छेउको नगरोन्मुख क्षेत्रमा जन्मेँ/हुर्केँ। म सानैदेखि साह्रै राम्री थिएँ। स्कूल पढ्दादेखि नै मलाई धेरै पैसावालहरूले मन पराए। उनीहरूले मलाई विभिन्न ठाउँ घुमाउन लैजान्थे, अनि मीठामीठा कुरा खुवाउँथे, राम्राराम्रा उपहार दिन्थे।

म सानैदेखि साह्रै विलासी भएँ। मान्छेहरूले आफूले मलाई गरेको खर्चबापत यौन सेवा माग्थे। मेरो अरू उपाय थिएन, मलाई घुमाउनेहरूको गर्लफ्रेण्ड बन्थेँ। मैले आफूलाई माया गरिटोपल्नेहरूलाई 'अब बिहे गरौँ’ भनेर प्रस्ताव गरेँ। उनीहरूमध्ये कसैले मेरो चरित्रमाथि औँला उठाउँदै 'छि:छि: तँ जस्तासित पनि बिहे गर्नु?’ भन्थे भने कोही प्रस्ताव राख्नासाथ बेपत्ता हुन्थे।

बिस्तारै मलाई माया गर्ने मान्छेको कमी हुन थाल्यो। तर, पैसा खर्च गर्ने विलासी बानी बाँकी नै थियो। यतिबेला मेरा परिवारका सबैजना, 'यो हाम्रा लागि मरि!’ भनेर पर भएका थिए।

अनि म आफ्नो आवश्यकता पूरा गर्न यौनकर्मी भएँ।

म बुढी हुँदै गएपछि मेरो माग घट्न थाल्यो। अस्तिसम्म रातभर सँगै सुत्नेहरू अहिले बोलाउँदा पनि नचिने झैँ गर्न थाले। बेसहारा एक्लो महसुस गर्न थालेँ। मायाको कुरा परै, दु:ख पर्दा ५ मिनेट सँगै बसेर दुःखका कुरा सुनिदिने मान्छे पनि पाइनँ। अब मेरो जिन्दगीको औचित्य सकिएछ भन्ने सोचेर मैले आत्महत्या गरेँ प्रभु।'

यमराजले गदाहा भुइँमा राखेर आँखामा आएको आँशु पुछे।

चित्रगुप्तले अचम्म मान्दै सोधे, 'प्रभु! हजुर त सग्ला मान्छेहरूलाई टपक्क टिपेर ल्याइ कराइमा उम्लिरहेको तातो तेलमा हाल्ने ब्रह्माण्डकै कठोर व्यक्ति, हजुरको आँखामा आँशु?’

यमराजले सुँक्कसुँक्क गर्दै धोतीको पाटोले आँशु पुछ्‌दै भने, 'चित्रगुप्तजी! भगवान ब्रह्माजीले सिर्जना गरेको यो सुन्दर धर्तीमा यी होनहार लालाबालाहरूले भोग्नुपरेको यो अवस्था देखेर मैले मेरो आँशु थाम्नै सकिनँ। अब आइन्दा कसैले आत्महत्या गरेमा 'हाम्रो आफ्नै समाज पो दोषी हो कि' भनेर खोजी गर्नु, अनि कसैलाई पनि ज्यादै अत्याचार गरेर आत्महत्या गर्न बाध्य नपार्नु भनेर मेरो सन्देश धर्ती लोकमा पुर्‍याइदिनु!'

यति भनेर यमराज आफ्नो आसनबाट उठे।

'हवस्, जो आज्ञा प्रभु!’ भन्दै चित्रगुप्तले सबै फाइलहरू बाक्साभित्र राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.