|

मेरो भुँडी मोह अच्छा राई रसिकको 'भुँडी' अनि भैरव अर्यालको 'जय भुँडी' र 'भान्सा भो हजुर' निबन्ध पढे देखिकै हो।

सायद आफ्नो भुँडीले उचाई लिन थालेर पो कि! यो भुँडीप्रतिको मेरो लगाव आजकल अलि बढी नै हुन थालेको छ। पहिले-पहिले कसैले 'मोटाएछस् नि!' भन्दा कटक्क दुख्ने मेरो मन आजकल त्यही शब्द सुन्दा हर्षले गद्‌गद् हुन्छ। संसारभर हरेक पल घट्ने हरेक घटनाको एकमात्र कारण भुँडी नै हो भन्ने मेरो भुँडीवादी मगजको ठम्याइ छ।

भुँडीकै कारण संसारमा कैयौँ व्यक्ति,वाद र व्यवस्थाहरूको उदय भएको छ। आजको युगमा ज्ञानले भवसागर तार्न र विज्ञानले फड्को मार्नमा पनि भुँडी नै प्रत्यक्ष कारण बनेको छ।

उदाहरणको लागि महान वैज्ञानिक न्युटनलाई नै हेरौँ, त्यसदिन न्युटन भोकले छट्पटिएर भुँडी भर्न स्याउबारी नछिरेका भए न उनले स्याउ खसेको देख्थे, न पृथ्वीको गुरुत्वाकर्षण शक्तिको सिद्धान्त पत्ता लाग्थ्यो। वास्तवमा भुँडी पुरुषको भाग्यवाचक समेत हो, जस्तो कि तपाईंकी श्रीमतीको भुँडी बढ्दा तपाईं भाग्यमानी ठहरिनुहुन्छ, तर प्रेमिकाको भुँडी बढे अभागी!

मलाई भुँडीवादी बनाउनमा पहिलो हात त मेरै भुँडीको छ। त्यसपछि अन्य कारणहरूमा मेरा मातापिता,गुरु,आफन्त र साथीहरूको भुँडीको प्रत्यक्ष योगदान रहेको छ।

क्याम्पसको चौरमा मेरा श्रद्धेय गुरुसँग साहित्यदर्पण पढ्दै थिएँ। केही अन्य विषयका गुरुहरूको राजनैतिक गफ,हाँसो र हल्लाले मेरो पढाईमा भद्दा मजाक गर्‍यो। आँखा तिनै हल्लाखोरहरूको झुण्डमा पुगे। त्यो समूहमा रहेका अधिकांश गुरुहरूका बारेमा विद्यार्थीहरू कहिल्यै राम्रो कुरा गर्दैनथे। फलानो मास्टरको त पढाउने ढंग नै छैन। राजनीति गरेका भरमा नियुक्ति पाएको के गतिलो हुन्थ्यो? जम्मा भएका विद्यार्थीहरूले गुरुप्रति लक्षित आरोप लगाइहाल्थे।

यी हल्लाहरू र उनीहरूको खुबीसँग गुरुपनि परिचित हुनुहुन्थ्यो। सोधेँ, 'यी बिना योग्यताका मान्छेलाई विश्वविद्यालयले प्रमाणपत्रका भरमा मात्र किन नियुक्ति दिन्छ गुरु?'

मेरो प्रश्न सुनेर मुसुक्क मुस्काउँदै गुरुले भन्नुभयो, 'यी विचराहरूले नि जहान केटाकेटी पाल्नै पर्‍यो। एउटा न एउटा काम त गर्नैपर्छ। क्याम्पस भर्ना भएदेखि नै पढाई इत्यादि केही नभनी विश्वविद्यालयमा राजनीति गरे। अब यहीँ पनि नबिके कहाँ बिक्लान् र विचराहरू? गुरुको कुरा सुनेपछि मलाई आफ्नो मात्र होइन आफ्नाहरूको भुँडीको महत्व समेत थाहा भयो।

अस्ति एकदिन त लाग्यो यत्रो चराचर जगत भुँडीका लागि मात्र त दौडिएको होइन होला। भुँडीका लागि नभए के का लागि रातदिन नभनि दौडिएको छ त दुनियाँ? पत्ता त लगाउन पर्छ भनेर गम खाँदै थिएँ। भतिजको फोन आएर ध्यान भंग भयो।

'अघि मैले फोन गर्दा किन उठाएनस् त भनेको रातभर अस्पतालमा बिरामी कुरेर अनिदो बसेको अहिले मस्त निदाएछु', भन्छ। 'कसलाई के भएर गइस् त अस्पताल?' मैले सोधेँ। बुहारी बिरामी भएर अंकल। मैले सोधेँ के भयो सविनालाई? मेरी बुढीलाई हैन क्या! अंकल त्यो ज्योतिषकी बुढीलाई हिजो ट्याक्सीले हानेछ।

फोन राखेपछि मलाई दिव्यज्ञान भयो-त्यत्रो विश्व ज्योतिष महासंघको अध्यक्ष हो कि सचिव हुँ भनेर छाती पिट्ने वरिष्ठ ज्योतिषलाई खुद आफ्नै बुढीका दशाको समेत ज्ञान रहेनछ। भनेपछि उसले पनि जहान छोराछोरी र आफ्नो भुँडीका लागि मात्र त्रिकालदर्शीको अभिनय गरेको रहेछ।

त्यहीबेला म्यासेञ्जरमा घण्टी बज्यो। हेरेको एउटा साथीले अनलाइन मार्फत ज्योतिष कक्षा सञ्चालन गर्न लागेको र सहभागी हुने भए मासिक २५ सय रुपैयाँ लाग्ने विज्ञापन पो पठाएको रहेछ। सोचेँ यो विचराले पनि स्वास्नी छोराछोरीको भुँडीवाला समस्याको समाधान खोजेछ। हुन त यी घटना म भुँडीवादी हुनका लागि केवल उदाहरण मात्र हुन्। लक्षण त मैले विद्यालय जीवनमा नै पढिसकेको थिएँ

काषायग्रहणं कपालभरणं केषावलीलुञ्चनं

पाखण्डव्रतभस्मचीवरजटाधारित्वमुन्मत्तता।

नग्नत्वं निगमागमादिकवितागोष्ठी सभामण्डले

सर्वं चोदरपूरणार्थनटनं न श्रेयसां कारणम्।

हाम्रा महर्षीहरूले हाम्रो भुँडीको समस्यापूर्ति गर्न काम लाग्ला भनेर नै अनेक त्याग र तपस्या गरेर लाखौँ शास्त्र तयार गरिदिए।

हाम्रो अहंकार बढ्ला भनेर यसो भने, 'घरदेखि अनुहारसम्म लिपपोत गर वा कपाल फाल्नेदेखि जगल्टा पाल्ने सम्मका कपालीकला गर, मागेर खाउ वा उपवासका ढोंग रचना गर, धुर्वे हात्ती झैँ मैमत्ता बनेर हिँड वा नांगै हिँड, वेद, पुराण, उपनिषद, कविता आदिका शास्त्रार्थ, गोष्ठी, सभा गर यी सारा कुरा तिम्रो भुँडीका लागि गरिने काम मात्र हुने श्रेय प्राप्तिका कारण होइनन्। '

हिजोमात्र विश्वविद्यालयले स्नातकोत्तरको परीक्षाफल प्रकाशन गरेछ। फेसबुकभर बधाईका पोष्ट भरिएका रहेछन्। एउटा साथीलाई म्यासेज लेखेँ, 'तिम्रो यो प्रमाणपत्र र योग्यता सम्पूर्ण विश्ववासीको भुँडीका लागि सहयोगी बनोस्। '

'लौ धन्यवाद है! अब पढाइको टन्टा नि सकियो', लेखेर म्यासेज फर्कायो। फेसबुकका भित्तामा आँखा दौडाउँदै थिएँ, भर्खर बधाई दिएको साथीको फोटो देखेँ।

उसैको भाइले अनेक तानावाना बुनेर स्नातकोत्तर पास भएकोमा बधाई दिएको रहेछ। म्यासेञ्जरमा लेखेँ, 'भाइलाई जबरजस्ती फेसबुकमा बधाई लेखेर पोष्ट गर्न लगायौ हैन?

जवाफ आयो, 'के गर्नु यार मागी खाने भाँडोको प्रचार त गर्नै परो, यति गरेपछि मेरा ग्राहकजति सबैले देख्छन्, त्यति भए मलाई पुग्यो। ' यो पापी पेटका लागि पनि अनेक लीला गर्नुपर्ने, मैले यति भन्नासाथ उसले एउटा बधाईको स्क्रिनसट पठायो। 'ल हेर् कोही कोहीले यहि बधाई आफ्नै बुढीलाई लेख्न लगाएका छन् मैले त धन्न भाइलाई लगाएँ', हासेको इमोजी पठाउँदै भन्यो।

फोटो खोलेर हेरेँ। मलाई अनायासै खित्का छुट्यो। घरको कोठामा एउटै खाटमा सुतेकी श्रीमतिले यस्सो कोट्याएर गालामा चुप्पा नै खाएर मेरा प्यारा बुढा संसारका अल्पसंख्यक पटमुर्खहरूले मात्र  गर्न सकेको एम ए पास तिमीले नि गरेछौ, लौ एक भकारी बधाई छ है, भनेका भरमा सकिने कुरो फेसबुकमा नानाभाँती फुर्का जोडेर लेखिटोपल्नुको उद्देश्य के त? प्रश्नसँगै मेरो मगजमा उत्तर पनि पछि लागेर आइहाल्यो। यो सब लीला भुँडीकै हो।

खासमा त्यो बुढालाई बधाई थिएन। त्यो त बुढाले आफ्नो र केटाकेटीको भुँडी भर्न ल्याउने सर्दामका खसमहरूको लागि जानकारी मात्र थियो। भुँडीको अपार लीला मगजमा मडारिँदै गर्दा अर्को म्यासेज आयो, 'ओ केटा लौ न अर्को एउटा भुँडीको उद्धार गरिदिन पर्ने भयो। मलाई कसैले बधाई दिएनन् भनेर रोइलो गर्दैछ।

'त्यसका चाहिँ दाजुभाइ स्वास्नी कसैले टाँसेनन् रे?' मैले सोधेँ। 'बढी कुरा नगरि हाल्दे न, त्यो डुकुलण्ठुका त झन् भुँडीका देउता देशमा भन्दा विदेशमा बढी छन्', म्यासेजवालाले आदेशात्मक पिडा सुनायो।

लौ त भनेर त्यो बबुरोको भुँडीको उद्धार म आफैँले गरिदिएँ। त्यत्रा बधाईका भीडमा एउटा बबुरो छुटेछ। मेरो पनि होस् पुगेन। उसले पनि मागेन, मोरो पहिल्यैदेखि अल्लि अन्तर्मुखी स्वभावको हो।  अरू कसैले लौ गरिखावोस् नि भनेनछन्। अन्तिममा केही सीप नलागेर फलानो विषयमा फलानो योग्यताको उपाधि प्राप्त गरियो लेखेर आफैँले फेसबुकमा पोष्ट गरेछ। के गरोस् आखिर पापी पेट त उसको नि छ, उसका भुँडीका देउता समक्ष पनि उसको योग्यताको जानकारी पुग्नै पर्‍यो।  भुँडीको महत्व र उपयोगीताको सबैभन्दा बढी जानकार देवतामा गजमुण्टे गणेश, राक्षसमा रावणानुज कुम्भकर्ण र दार्शनिकहरूमा महर्षी चार्वाक पर्दछन्।

चार्वाकले त 'यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्' भनेर भुँडी संरक्षणको सिद्धान्त नै बनाइदिएका छन्। हेरेर मर्नु भन्दा छेरेर मर्नु जाति भन्ने उखान त भुँडीवादको उदाहरण नै हो। हाम्रा महर्षीले पढ्नु, पढाउनु, खेल्नु, खेलाउनु, लड्नु, लडाउनु, हाँस्नु, हँसाउनु, बाँच्नु, बँचाउनु, लुट्नु, लुटाउनु, चोर्नु, ढाँट्नु, फटाहा हुनु, इमान्दार हुनु, सज्जन हुनु, डाक्टर हुनु, कन्डक्टर हुनु, हिरोदेखि जिरो सम्म र नेतादेखि अभिनेता सम्म जेसुकै र जस्तोसुकै बनेपनि त्यो बन्नुको गौण रहस्य केवल भुँडी नै हो भनेर परापूर्वकालमा नै प्रष्ट पारिसकेका छन्। नपत्याए यो हेर्नुस् :

बुभुक्षितैव्र्याकरणं न भुज्यते पिपासितैर्काव्यरसो न पीयते

नच्छन्दसा केनचिदुद्धृतं कुलं हिरण्यमेवार्जय निष्फला कला।

जति नै विद्वान किन नहोस् भुँडीले नरुचाउने चीज हालेर भुँडी भर्ने ल्याकत उसँग हुँदै। साहित्यका ठेली लेख्नेहरू पनि भुँडीदेवको इच्छा विपरीत चल्न असम्भव छ।

वेद र विज्ञानका व्याख्याता पनि भुँडीदेवकै कृपा हुन्। त्यसैले संसारमा जे भए, जे भइरहेछन् र जे जे हुनेवाला छन्, सबैको कारण भुँडी नै हो। यो भुँडीको लीला नि अपरम्पार छ। सायद भुँडीकै कारण यो संसार अहिलेसम्म अस्तित्वमा छ।

भुँडीकै लागि मैले यो भुँडी महात्म्य लेखेँ। तपाईं पनि पढ्न नछुटाउनुहोला। कतै न कतै तपाईंको र तपाईंका जहान केटाकेटीको भुँडीका लागि पक्कै काम आउनसक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.