|

काठमाडौं : नेकपा (एमाले) मा विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ।

आजको बैठकले सहमतिको खाकालाई अन्तिम रुप दिनेछ। पार्टी प्रवक्तासमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने जानकारी दिए।

हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको छ। स्रोतका अनुसार माधव नेपाल पक्षले संसद पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने तर अदालतबाट जस्तोसुकै फैसला आए पनि पार्टी एकैठाउँमा रहने गरी सहमति भएको छ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच शक्ति बाँडफाँटमा कुरा मिलिसकेको छैन। त्यसको जिम्मा स्वयम्‌ दुई नेतालाई नै दिने कार्यदलको तयारी छ।

कार्यदलको ओली पक्षका संयोजक सुवास नेम्वाङले बैठकको समय तय भइनसकेको तर आज सहमतिको मस्यौदालाई अन्तिम रूप दिएर सार्वजनिक गरिने बताए।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.