|

क्यूबाको कम्युनिष्ट सरकारविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ।

राजधानी हवाना  र अन्य ठूला शहरहरूमा भएका प्रदर्शनमा हजारौं मानिसहरूले सहभागिता जनाएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

कम्युनिष्ट सरकारविरुद्ध पछिल्लो ३० यताकै ठूलो प्रदर्शन भएको र प्रदर्शनकारीहरूले स्वतन्त्रता, लोकतन्त्र एवम् कोरोना महामारीसँग लड्न आवश्यक भ्याक्सिन माग गरिरहेका खबरहरूमा उल्लेख छ। क्यूबा यतिखेर कोरोना महामारीको चपेटामा परेको छ। यही बेला सरकारविरोधी प्रदर्शन हुँदा त्यहाँ असामान्य स्थिति निम्तिएको छ। 

राजधानी हवानामा सरकार समर्थकहरूले पनि जुलुस निकालेका छन्। राष्ट्रपति मिगेल डियाज–क्यानलले सरकारविरोधी प्रदर्शनमा अमेरिकाको हात रहेको आरोप लगाएका छन्। उनले भनेका छन्, 'हामी देशका सबै क्रान्तिकारी र कम्युनिष्टहरूलाई सडकमा उत्रिन अपिल गर्छाैं। विरोध प्रदर्शन जहाँजहाँ भइरहेको छ, त्यहाँ गएर स्पष्टता, दृढता र साहसका साथ विरोधीहरूको सामना गर्न आग्रह गर्छु।'

ल्याटिन अमेरिकाका लागि अमेरिकी वरिष्ठ कूटनीतिज्ञ जुली चुङले क्यूबामा लडाइँका लागि गरिएको आह्वानलाई लिएर आफूहरू चिन्तामा परेको बताएकी छिन्। साथै, उनले क्यूबामा शान्ति कायम राख्न आग्रह पनि गरेकी छिन्। अमेरिका र क्यूबाबीच परम्परागत दुस्मनी रहिआएको छ। 

यतिखेर राजधानी हवानामा सुरक्षा बलको उपस्थिति निकै बढाइएको छ। त्यहाँ झडप र मानिसहरू गिरफ्तार भएको खबरहरू बाहिरिएका छन्। हवानाबाट २० माइल पर रहेको सेन एन्टेनियो डे लास शहरमा पनि विद्युत, खानेकुरा र अत्यावश्यक सामग्रीको अभाव भएपछि मानिसहरू प्रदर्शनमा उत्रिएका छन्। 

राष्ट्रपति कैनलले केही प्रतिक्रियावादीहरूले असन्तोष फैलाएको आरोप लगाएका छन्।

क्यूबामा सन् १९५८ डिसेम्बर ३१ का दिन तत्कालीन बाटिस्टा सरकारलाई हराउँदै कम्युनिष्ट विद्रोहीहरूले सत्ता कब्जा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.