विद्यालय तहदेखि नै शिक्षा दिन आवश्यक : महाशाखा

|

काठमाडौँ : नुवाकोट घर भएकी ३२ वर्षीया (अनिता) नाम परिवर्तनलाई गत बैशाखमा नयाँ नम्बरबाट म्यासेज आयो। चिनजानको मान्छे हो कि भन्ने अनुमानले अनिताले कुराकानी गर्न थालिन्।

केही दिनसम्म सामान्य कुराकानी भयो। उनीहरू क्रमश: नजिक हुँदै गए। पारिवारिक अवस्था र आफ्नो पेसालगायत विषयमा निरन्तर कुराकानी हुन थाल्यो।

केही दिनमा उताबाट फोन आयो। फोन उठाएलगत्तै ‘बधाई छ, तपाईंलाई चिट्ठा परेको छ,’ आवाज सुनिन्‌।

कुरा गर्दागर्दै नजिक भएका थिए। आफ्नौ साथीले भनेको कुरा कसरी नपत्याउने? चिट्ठा त पर्‍यो, तर के को कसरी चिट्ठा पर्‍यो केही थाहा थिएन। उनले सोधिन् , ‘कति पर्‍यो? के के छ चिट्ठा? तर, अनिताले यो सोधिनन् कि केही प्रकृया पूरा नगरी चिट्ठा कसरी पर्‍यो।

फोनमा एक पुरुषले २ तोलाको सिक्री, ल्यापटप र मोबाइल लगायत सामान परेको भने। अनितालाई समानको फोटो र नेपालको कुन ठाउँमा पठाउने ठेगाना समेत खुलाएर बाकसको फोटो पठाइयो। 

यो सामान पाउन के प्रकृया पूरा गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन। ती पुरुषले भने बमोजिम बैंक खाता नम्बर र नागरिकता लगायत आवश्यक कागजात पठाइन्।

आफ्नो साथीले यतिसम्म गरेपछि नपत्याउने कुरै भएन। उनलाई यताबाट सामान पठाइएको छ भन्दै म्यासेज आयो। 'तपाईंको समान आएको छ' भन्दै फेरि अर्को नम्बरबाट फोन आयो।

'भन्सार शुल्क तपाईंले तिर्नुपर्ने भयो, तत्काल १ लाख पठाउनुस्' भन्दै फोन आयो। उनलाई अर्काे नेपालीको बैंक खाता नम्बर दिइयो। उनले सोही खातामा उनीहरूले भने बमोजिम रकम पठाइन्। 

अनितालाई पटक-पटक नयाँ नम्बरबाट फोन गरी सामानको भन्सार शुल्क पठाउन लगाइयो। ४ लाख रुपैयाँ तिरिसक्दा पनि सामान नआएपछि उनलाई शंका लाग्यो। प्रहरी कार्यालयमा आइपुगिन्।

उनले प्रहरीलाई बुझाएको प्रमाणअनुसार सो रकम झापा घर भएका एक व्यक्तिको खातामा पुगेको पत्ता लाग्यो। ती झापाका व्यक्तिलाई भारतीय नम्बरबाट फोन आएको खुल्यो। 

'भारतमा नेपालीको दुर्घटना भएको छ। नेपालीहरूले सहयोग गरेको रकम छ। मेरो नेपाली बैँकमा खाता छैन। नेपाली बचाउन त्यो पैसा नाकासम्म ल्याइदिनु भन्यो,' ती व्यक्तिले प्रहरीलाई बयान दिए। उनले पैसा नै पुर्‍याइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यसरी विदेशबाट चिट्ठा पर्‍यो भन्दै सबै नेपालीको खाता प्रयोग गरी ठगी धन्दा गरिँदै आएको महानगरीय प्रहरी परिसर कार्यालयले जनाएको छ। यसरी ठगी धन्दा गर्ने समूह पत्ता लगाउन सकिएको छैन।

अन्य देशबाट ठगी हुँदा पनि नेपाललाई प्रयोग गर्ने गरेको पाइएको प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। पीडक पत्ता लाग्न नसक्ने र पीडित/पीडितलाई नै एक आपसमा जुधाइने गरेको पाइएको प्रहरीले जनाएको छ। 

०००

अर्को घटना :

सिन्धुपाल्चोक घर भएकी कमला (नाम परिवर्तन)लाई इमोमा भारतीय नम्बरबाट म्यासेज आयो।

‘बधाई छ, तपाईंले धेरै इमोको प्रयोग गर्नु भएकाले कम्पनीले उपहार दिने भएको छ।’

कति रकम पाइने भन्दै सोधिन्‌। उताबाट उत्तर आयो, ‘४० लाख।’

कमलालाई ४० लाख रुपैयाँ प्राप्त गर्न खाता नम्बर र २५ हजार रुपैयाँ मागियो। ४० लाख पाइन्छ भने २५ हजार किन नपठाउने भन्दै आइएमई आइन्।

‘पहिलादेखि नै कारोबार गर्दै आएको आइएमईका सञ्‍चालकले ठग्नका लागि यसरी पैसामा मागिएको हो भन्नुभयो,' कमलाले भनिन्, ‘म फसिसकेकी थिएँ, दाइले ठगिनबाट बचाउनुभयो।’

०००

काठमाडौँ घर भएकी २४ वर्षीया महिलालाई विदेशी नामको आइडीबाट ट्रेन्ड रिक्वइस्ट आयो।

उनी जसरी पनि विदेश जाने सोचमा थिइन्। विदेशीसँग कुरा गर्न थालिन्। सामान्य कुराकानीमा नै उनले विदेश जाने चाहना रहेको बताइन्।

ती पुरुषले विवाह गरेर विदेश लैजाने बताए। आफू नेपाल आएर विवाह गर्ने र विदेश लैजाने, तर आउने-जाने खर्च तिरिदिन भने। नेपाल आउन भन्दै ३ लाख रुपैयाँ मागे। उनले पठाइन्। त्यो व्यक्तिले उनलाई फेसबुकमा ब्लक गरे। त्यसपछि उनी न्याय माग्दै प्रहरी कार्यालयमा पुगिन्।

००० 

माथि उल्लेखित प्रतिनिधि घटनामात्र हुन्। पछिल्लो समय मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटना वृद्धि भएको छ।

फेसबुक, ट्वीटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको मानहानी गर्ने घटना बढेर गएको हो।

प्रहरी परिसर टेकुका अनुसार यस्ता उजुरी दैनिक ५ वटा पर्ने गरेका छन्। सामाजिक सञ्जाल फेसबुक ‍र ट्वीटरमा चिट्ठा पर्‍यो भनेर एक करोड रुपैयाँसम्म ठगी गरेको उजुरी परेको उपरीक्षक बस्नेतले जनाए। 

महाशाखाका अनुसार साइबर अपराधमा युवा वर्गको संलग्नता बढी छ। ‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुने र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको उनले बताए। साइबर कानूनबारे विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिन जरुरी रहेको महाशाखाले जनाएको छ।

साइबर अपराधको मुद्दामा ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ। अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्दै आएको छ।

विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख वा दुवै सजाय हुने व्यवस्था छ। साइबर अपराध भोगेका मानिस घरबारविहीन हुने, पढाइ बिग्रने र आत्महत्यासम्म गर्ने गरेको महाशाखाका अधिकारीहरू बताउँछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.