|
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ। 

अन्तिम समयमा आएर महन्थ पक्षले देउवालाई विश्वासको मत दिने भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिना नै देउवाले विश्वासको मत प्राप्त गर्ने पक्का भएको हो। 

सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार केही समयमा विश्वासको मत लिँदै छन् उनले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ। 

त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन्। कांग्रेसका दुई जना सांसद निलम्बित अवस्थामा छन्। विजयकुमार गच्छदार र मोहम्मद अफ्ताब आलमले मत दिन पाउने छैनन्। तर, कायम संख्यामा भने उनीहरूको गणना हुनेछ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चार जना बर्खास्त भएका छन्। उनीहरू अहिले सांसद पदमा छैनन्। नेकपा (एमाले) मै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो।

स्वतन्त्र रूपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन्।

जनता समाजवादी पार्टीमा जम्मा ३२ सांसद छन्। ३४ मध्ये दुई जना निलम्बित छन्। रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन्। जसपाका ३२ जनाले नै विश्वासको मत दिने भएका छन्। 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा हस्ताक्षर गरेका थिए। त्यसमध्ये केही बाहेकले देउवालाई विश्वासको मत दिने पक्का छ।  

प्रतिनिधि सभामा एमालेका तर्फबाट १२१ सांसद छन्। ओली समूह बाहेक अरु सबै एक ठाउँमा उभिएका छन्।

संसदमा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ। त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन्।

ओलीबाहेक सबै पार्टी एकै ठाउँमा भएपछि प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने पक्का भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.