|

म्याग्दी : बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। 

वर्षा याममा खोलामा आउने बाढीका कारण दैनिकरुपमा सडक अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका छन्। 

२०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रभावित हुँदै आएको छ। चार वर्ष बितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी करिडोरअन्तर्गत बेगखोलामा पुल बनाउने कुनै सुरसार छैन। खोलामा पानीको बहाव बढेपछि अलपत्र पैदलयात्रीलाई डोजर, ट्रकमार्फत आवातजावत गराइँदै आइएको छ।

यस्तै, यातायातका साधनलाई आवातजावत गर्न दिनहुँ डोजरको सहयोग लिनुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन्। बेगखोलामा पुल बनाउन संघ र गण्डकी प्रदेश सरकारसँगै म्याग्दी र मुस्ताङका जनप्रतिनिधिहरुले बेवास्ता कारण पुल नबन्दा बर्सेनि म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगै मुस्ताङवासीलाई र खाद्यान्न तथा विकास निर्माणका सामग्री ओसारपोसारमा समस्या बनाएको स्थानीय सुरेन गुरुङको गुनासो छ। जिल्लामा नेताभन्दा पनि निर्माण व्यवसायी शक्तिशाली हुदाँ जिल्ला ठूला आयोजनाहरु अलपत्र पर्दै आएका छन्।

बेगखोलामा पक्की पुल निर्माणका लागि सडक विभागले ठेक्का सम्झौता गरिसकेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए। उनले आगामी आर्थिक वर्षदेखि निर्माण कम्पनीले काम सुरु गर्ने सडक विभागको इन्जिनियरबाट जानकारी प्राप्त भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.