|

पर्वत : पर्वतमै पहिलो पटक स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको गुप्तेश्वर बहुमुखी क्याम्पसका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।

व्यवस्थापन संकायअन्तर्गत एमबिएसको कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयबाट हालै अनुमति पाएको क्याम्पसको आर्थिक अवस्था बलियो नभएकाले सहयोग उठाएर कोष निर्माण गर्ने गरी अभियान सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए।

कार्यसमितिले क्याम्पसको समग्र विकास, एमबिएस कार्यक्रमको स्थायित्व, थप कार्यक्रमको योजना र अन्य व्यावसायिक विषयको कार्यक्रम सञ्चालनमा लागि कम्तीमा पनि पाँच करोड रुपैयाँको अक्षयकोष निर्माण गर्ने संकल्प गरेर सहयोगका लागि सरकारी तथा गैरसरकारी निकाय, शिक्षा प्रेमी, समाजसेवी, पूर्वविद्यार्थी, रोजगारीका लागि विदेशमा रहेकालगायतसँग सहयोगको अपिल गरिएको कर्मचारीले बताए।

क्याम्पसमा फन्ड छैन। एमबिएस सुरु गर्न कम्तीमा ५० लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरेका छौँ। बाँकी रहेको पैसा अक्षयकोषमा राखेर त्यसैको ब्याजबाट आवश्यक खर्च गर्ने हो‚कर्माचार्य भन्छन्, ‘यो फन्डलाई अन्तर्राष्ट्रिय संस्थाहरूले जसरी प्राक्टिस गरिरहेका छन् त्यही शैलीमा चलाइन्छ। अध्यक्ष वा कुनै एक व्यक्तिले चाहेर पैसा निकाल्न पाउँदैन। नत्र त पाँच करोड सक्न पाँच महिना पनि लाग्दैन।

क्याम्पसको आर्थिक उपसमितिका संयोजक कमलनाथ पोखरेलले जिल्लामा नै पहिलो पटक सुरु भएको स्नातकोत्तर तहको कक्षालाई अत्याधुनिक र प्रविधियुक्त तरीकाले विज्ञ प्राध्यापकहरूबाट सञ्चालन गर्न ठूलो आर्थिक स्रोत आवश्यक रहेको बताउँछन्। उनले स्थानीय तहबाट एक करोड, रोजगारीका लागि विदेशमा रहेकाबाट दुई करोड, पूर्वविद्यार्थीबाट ५० लाख र महायज्ञबाट दुई करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको बताए।

अभियान सुरु हुँदासाथ जापानमा रहेका एनआरएनए आइसिसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले पाँच लाख, कुश्मा नगरपालिका४ को कार्यालयबाट दुई लाख, आर्थिक उपसमितिका संयोजक पोखरेलबाट एक लाख, व्यवसायी राजनकुमार जोशीबाट एक लाख, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कर्माचार्यबाट एक लाख र समाजसेवी लोकनाथ आचार्यबाट ५० हजार रुपैयाँ सहयोग भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.