|

नेकपा (माओवादी केन्द्र)का अध्यक्षले हिजो कम्युनिष्टहरू बाहिर निष्ठा र आदर्शका कुरा गर्ने र भित्र लोभ गर्ने कुरा गर्नुभयो।

त्यो चाहिँ अवसरवादी बन्न हुँदैन भन्ने कुराको सकारात्मक सन्देशको संकेत गर्न खोज्नुभएको हो। जिम्मेवारी प्राप्त गर्ने रहर र आकांक्षा प्राप्त गर्न भन्ने कुरालाई अध्यक्षले संस्कार र संस्कृतिसँग अलिक पार्टीको विचार र दृष्टिकोणसँग प्रतिबद्ध हुनको निम्ति प्रशिक्षणको सन्दर्भमा उहाँले राख्नुभएको हो। 

मन्त्री बाँडफाँड तनावको विषय हो जस्तो लाग्दैन। स्वभाविक रूपमा पार्टी जुन निति तथा योजना र कार्यक्रममा अगाढि बढ्छ। त्यो बेला कतिपय साथीले चाहना राख्न पाउँछन्। चाहना राखेर कोही साथी गए होलान्। पार्टीको कार्यविभाजन हुने बेलामा जिम्मेवारीको कुरा गर्छन्। सरकार विस्तार हुने बेलामा सरकारको कुरा गर्छन्। केन्द्रीय सदस्य थपघट हुने बेला केन्द्रीय सदस्य हुन पाए हुन्थ्यो भन्ने कुरा गर्छन्। यो स्वभाविक प्रक्रिया हो। यसलाई तनावको रूपमा मैले बुझेको छैन। 

जुन ढंगले सरकार बनेको छ-यो हिसाबले मन्त्री बन्ने कुरा प्राथमिकता होइन।

प्रतिगमनविरूद्ध नेपाली जनताले गरेको आन्दोलन, संविधान, प्रणालीको रक्षाको लागि संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य प्रणाली निर्माण गरिनेछ भन्ने छ।

सबैको सामूहिक राष्ट्रिय प्रतिबद्धता भएको हुँदा त्यसअनुरूप अघि बढ्नुपर्ने हुन्छ। जनता यतिखेर कोरोनाबाट प्रताडित भइरहेका छन्। अझै पनि महामारी निर्मूल नभइसकेकाले जनतालाई कहीँ न कहीँ त्यसले अफ्ठ्यारो पारिरहेको छ। प्रतिकुल असर परिरहेको स्थितिमा स्वास्थ्यप्रति गम्भीरतापूर्वक ख्याल गरेर जनतालाई खोप व्यवस्थापन गर्नु, विकास निर्माणको काम प्रक्रियागत रूपमा अगाढि बढाउनु, देशमा उठेका कतिपय सुशासन सम्बन्धित भष्ट्राचारलगायत विषयलाई नियन्त्रण र न्यूनीकरण गर्नु लगायत कुराहरू सरकारका प्राथमिकता हुनुपर्छ। 

यसकारण अहिले मुख्य पद र प्रतिष्ठामा कसरी पुगौँ र प्राप्ति गरौँ भन्नु भन्दा पनि राष्ट्रसामू रहेका समस्याहरू समाधान गर्नुपर्छ। जस्तै : लिपुलेक लिम्पियाधुरा, कालापानीका समस्याहरूबारे निर्णय त गरियो, तर कार्यान्वयन हुन बाँकी छ। ती मुद्दाहरूमा केन्द्रित हुनु दल, सरकार र राज्यको आजको कार्यभार हो।  

कहिलेकाहीँ कसैलाई पद या जिम्मेवारी दिने र कसैलाई नदिने भन्ने हुन सक्ला। तर, कुन बेलामा कुन व्यक्तिलाई के जिम्मेवारी दिँदा राम्रो हुन्छ भन्ने कुरा पार्टीको हो। मेरै कुरा गर्ने हो भने पार्टीले जे जिम्मेवारी दिन्छ-त्यो पालना गर्दै आएको छु। अहिले म गण्डकी प्रदेशको इञ्चार्ज र पार्टीको स्थायी समितिमा छु। पार्टीले सोही जिम्मवारी दिएकाले त्यसैअनुसार काम गरिरहेको छु।

भोलि कुनै जिम्मेवारी दिँदा मैले पूरा गर्नुपर्छ। मैले अहिले मन्त्री पाउँछु वा पाउँदिन-यो मेरो व्यक्तिगत कुरा होइन। पार्टीको प्रसंग हो। पार्टीको निर्णय नै मेरो पालना गर्ने आधार हो। 

मन्त्रालय बाँडफाँटमा यसकारण ढिलाइ

गठबन्धन भनेकै सहमति र समझदारीमा काम गर्नेलाई भनिएको हो। यो सरकार र देशसामु देखिएका समस्याहरू सुल्झाउन सामूहिक रूपमा एक प्रकारको गठबन्धन भएको छ।

हिजो मात्र गठबन्धनको बैठक बसेर सरकार सञ्चालन सम्बन्धी अहिलेका अवस्थाहरू, प्रभावकारीताका लागि कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफल भएको छ। धेरै लामो भएर अल्झिएको अवस्था होइन।

गठबन्धनका पार्टीहरू कतिपय कानूनी उल्झनमा परेका र खासगरी एमालेको एक पक्ष गठबन्धनमा भएको हुनाले उल्झन छ।

जसपा पनि अलिअलि निर्वाचन आयोग र अदालतको उल्झनमा परेको हुँदा उहाँहरूले सम्बन्धित निकायबाट निर्णय आउञ्जेलसम्म प्रतिक्षा गर्नुस् भनिसकेपछि कुरिरहेको अवस्था हो। अरू कारणले रोकिएको होइन।

गठबन्धन एकै पार्टी होइन

गठबन्धन एकै पार्टी भएको भए कुरा अर्को हिसाबले सोच्न सकिन्थ्यो। यतिबेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट कतिपय संविधान विपरीत क्रियाकलाप र गतिविधि, राज्यमा नहुनुपर्ने कामहरू भएको छ।

प्रतिनिधिसभा दुईपटक विघटन भयो। एकतर्फी प्रकृतिका काम भए। ती कामसँग असन्तुष्ट हुने र त्यसलाई संविधान प्रणालीका र विधिको रक्षाका निम्ति कुरा उठाउने पक्षमा बनेको गठबन्धन हो। मलाई लाग्छ-केही समयसम्म यो गठबन्धनले सामूहिक रूपमा यो तीन वर्षको गम्भीर समीक्षा गर्दै सँगै यात्रा गर्छ। म व्यक्तिगत रूपमा ढुक्क छु। 

गठबन्धन टिक्ने आधार

नेपालमा यो मात्र विषय होइन, जुन पार्टी देशको सबैभन्दा ठूलो पार्टीको रूपमा निर्वाचनपछि आउँछ, सोही पार्टीमा उल्झन र समस्या पैदा हुन्छ।

कांग्रेसले दुई तिहाइ ल्याउँदापनि समस्या पैदा भएको थियो। माओवादी ठूलो पार्टी बन्दा पनि समस्या पैदा भएको थियो। नेकपा दुई पार्टी बनिसकेपछि पनि सोही स्थिति निम्तियो।

अदालतले नेकपा अलग-अलग गरिसकेपछि पनि एमालेजस्तो ठूलो पार्टीमा उल्झन बाँकी नै छ। यसकारण पनि गठबन्धनको मात्र होइन कि यो राजनीतिक परिदृश्यलाई नेपालका राजनीतिक सम्बन्धी 'स्टेकहोल्डर' भित्र किन यस्तो भइरहेको छ भन्ने कुरा पनि गम्भीर रूपमा समीक्षा गर्नुपर्नेछ। एउटै पार्टीले बहुमत प्राप्त गर्दा वा ठूलो पार्टी हुँदापनि यो उल्झन किन भइरहेको छ भन्ने थाहा पाउनुपर्छ।

उल्झनमा आन्तरिक कारण नै प्रधान

उल्झनहरूमा आन्तरिक कारण नै प्रमुख हो। बाहिरी चिज पनि कहीँ न कहीँ प्रवेश गरेका होलान्।

कतिपय शक्ति केन्द्रहरूले आफ्नो प्रभाव बढाउन नेपालजस्तो देशलाई दृश्य वा अदृश्य रूपमा परिचालन गराउन खोज्छन्‌। तर, यो प्रधान होइन। प्रधान भनेको आन्तरिक कुरा हो।

पार्टीहरूबीच आफूहरूले नै बनाएको संविधान, प्रणाली, कानून र ऐन अनुरूप राज्यलाई यसरी लिएर जान्छौँ र निर्वाचनमा गरेका घोषणापत्रमा नै देशलाई बनाउँछौँ भन्नेतर्फ आन्तरिक रूपमा नै साझा मुद्दामा एकजुट हुन नसक्ने प्रवृत्ति छ।

सत्ता प्राप्तिका निम्ति सरकारमा जाने कुरामा अरू कसैको सहयोग पो चाहिन्छ कि भन्ने प्रकारको गलत उद्देश्यले गर्दा उल्झन महसुस गर्न सकिन्छ। 

(कुराकानीमा आधारित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.