|

धनगढी : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका सदस्यको 'हेड काउन्ट' भइरहेको छ। आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ।

जसपाको केन्द्रमा छताछुल्ल विवाद र ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा जसपाका दुई सांसदले भने पार्टी एकता गरेरै जानुपर्ने बताएका छन्।

आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताउँदै उनीहरुले भने, ‘ हामी पार्टी एकताको पक्षमा छौँ। हामीले पार्टी एकताका लागि दबाब दिन्छौँ।’

पार्टीको संसदीय दलका नेता रहेका कृष्णकुमार चौधरी र प्रमुख सचेतक मालामति कुमारी राना पार्टी एकतापूर्व राष्ट्रिय जनता पार्टीका थिए। यसअघि उनीहरू दुवैजना महन्थ ठाकुर पक्षीय जसपामा थिए। उनीहरुले हालसम्म पार्टीमा पक्ष फेरबदल नगरेको बताएका छन्।

‘हामी जसपा विभाजन हुनु हुँदैन भन्न चाहन्छौँ, सांसद रानाले भनिन्, त्यसैले हामी अहिलेसम्म पक्ष वा विपक्षमा छैनौं।’

उनले (आज) सोमबार अत्तरियामा जसपा एकताको लागि दबाबमूलक कार्यक्रमको आयोजना समेत गरिएको समेत बताइन्। जसपाकै अर्का सांसद कृष्ण चौधरीले पनि आफू ठाकुर पक्षमै रहेको बताउदै जसपा विभाजन हुन नसक्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशसभामा जसपाका दुई मात्रै सांसद रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.