मकवानपुर : मनहरी गाउँपलिका–४ नयाँ बस्तीकी तिलकुमारी चेपाङ ७० वर्षकी भइन्।
तिलकुमारीलाई उठबस गर्न र हिँड्डुल गर्न लौरोको सहारा चाहिन्छ। १६ वटा सन्तानलाई जन्म दिएकी उनको बुढेसकालको साहारा त्यही एउटा लौरो बनेको छ।
सानै उमेरमा विवाह गरेकी तिलकुमारीले अशिक्षा र बाध्यतावश १६ सन्तानलाई जन्म दिइन्। छोराकै पर्खाइमा तिलकुमारीले धेरैपटक मातृत्व ग्रहण गरेकी थिइन्।
उनलाई छोरा पाउने बाध्यतामात्रै होइन, रहर पनि थियो। घरपरिवार र श्रीमानले छोरा पाउनैपर्छ भनेर दिने दबावसँगै आफैँलाई पनि छोरा पाउने रहन लाग्ने गरेको उनी सुनाउँछिन्।
‘छोरा भएन भने बुढेसकालमा मेरो बिचल्ली हुन्छ। कसैले पनि मलाई हेर्दैन जस्तो लाग्थ्यो। त्यसैले छोरा नजन्मँदासम्म म आफैँ पनि सन्तान जन्माइरहन चाहन्थेँ,’ उनले भनिन्।
७ वटा छोरी पछि जन्मिएका थिए उनका पहिलो छोरा। तर, एक छोराले मात्रै कहाँ बुढेसकाल जान्छ र? अरू पनि त केही छोरा जन्माउन पर्यो भन्ने सोचले उनले १६ वटा सन्तान जन्माइन्। जसमध्ये हाल ६ जना मात्रै जीवित छन्।
बुढेसकालको साथी बनाउन असह्य प्रसव पीडा सहेर जन्म दिएको १० वटा सन्तानले सधैँको लागि संसार छोडेर जाँदा उनलाई कति पीडा भयो होला? सायद त्यो पीडा कमैले महसुस गर्न सक्छन्।
‘बच्चा जन्माउँदाको सबै पीडा भविष्यमा उनीहरूबाट पाउने सहारा सम्झेर सहन्थेँ। तर, उनीहरूलाई जन्माउँदाको मात्रै होइन, गुमाउँदाको पीडा पनि मैले सहनुपर्यो,’ उनले दु:खले भरिएको आफ्नो पीडा पोखिन्।
‘कोही आफैँ सक्किए, केहीले आफैलाई सक्काए,’ तिलकुमारीले थपिन्। उनले आफूले जन्माएका केही सन्तानको सानैमा मृत्यु भएको र केहीको ठूलो भइसकेपछि विभिन्न रोग लागेर, करेन्ट लागेर र आत्महत्या गरेर मृत्यु भएको बताइन्। हाल उनको दुई छोरा र चार छोरी छन्।
तर, छैन सहारा
जीवित ६ जना सन्तानबाट पनि उनले बुढेसकालमा साहारा पाउन सकेकी छैनन्। अहिले उनी एक्लै बस्ने गरेकी छिन्।
केही वर्षअघि तिलकुमारी निकै बिरामी परेकी थिइन्। अनेक उपचार गर्दा पनि ठीक नभएपछि उनले गाउँका केही मान्छेको लहलहैमा इसाई धर्म लिइन्।
जन्मेदेखि हिन्दु धर्म मान्दै आएकी उनले रोग ठीक हुने आशमा धर्म परिवर्तन गरिन्। धर्म परिवर्तन गरेदेखि उनको शरीरबाट रोगसँगै सन्तानहरू पनि उनीबाट टाढा पुगे।
अहिले उनी सन्तानबाट एक्लिनुको कारण धर्म परिवर्तन बनेको छ। तिलकुमारी धर्म त्याग्न सक्दिनन् र छोराहरू उनलाई धर्मसहित अपनाउन सक्दैनन्। जसले गर्दा बुढेसकालमा उनी गाउँमा एक्लै बस्नु परेको छ।
०००
सोही गाउँकी ६४ वर्षीया कान्छीमाया थिङ अझैपनि खेतबारीमा रमाउँदै छिन्।
११ वर्षको उमेरमै विवाह गरेकी उनले पनि १२ वटा सन्तानलाई जन्म दिइन्। विवाहको अर्थ नबुझ्दै बन्धनमा बाँधिएकी उनले १५ वर्षकै उमेरमा पहिलो छोरालाई जन्म दिएकी थिइन्।
आफैँ बच्चा उमेरमै हुँदा अर्को जन्म दिएकी उनका दुई सन्तानको मृत्यु भयो। उमेर नभइकन मातृत्व ग्रहण गरेकी आफू आमा बन्न नपाउँदै कोख उजाडिएको सुनाउँछिन् उनी।
कान्छीमायाले भने छोराको आशमा धेरै सन्तान जन्माएकी होइनन्। उनले ७ वटा छोरा जन्माएपछि मात्रै छोरी जन्मिएकी थिइन्।
छोरा र छोरीको आशमा होइन, ठूलो परिवार बनाउन धेरै सन्तान जन्माएको बताउँछिन् उनी। उसो त उनले जस्तै घटना उनको छोराछोरीले पनि नदोहोर्याएका होइनन्।
अहिले उनको १० जना छोराछोरीमा अधिकांशले पाँचभन्दा बढी सन्तानलाई नै जन्म दिएका छन्। आफूले सानै उमेरमा विवाह गरेर बच्चा जन्माउँदा दुईवटा सन्तान गुमाउनुपरेको पीडा बुझेकी उनले आफ्नो सन्तानलाई भने बुझाउन नसकेको बताउँछिन्।
‘छोराछोरीहरू सबैले आ–आफैँ सानै उमेरमा विवाह गरे। एउटा छोराको मात्रै हामीले २० वर्षमा विवाह गरिदिएका हौँ। बाँकी सबैले सानै उमेरमा विवाह गरे। बच्चा पनि धेरै नै जन्माए। आफूले भोगेको दु:ख भोग्न नपरोस् भन्ने लाग्छ तर, बुझ्दैनन्,’ उनले भनिन्।
०००
६४ वर्षीय खड्ग बहादुर वाइबा पनि यस्तै पीडाबाट गुज्रिरहेका छन्।
हुन त उनी पुरुष हुन्, उनले बच्चा जन्माउनुपर्ने पीडा सहनु परेन। तर, धेरै सन्तान जन्माएर बुढेसकालमा सुख पाउने सपना देखेका खड्ग बहादुर यतिबेला आफ्नो सपना चकनाचुर भएको बताउँछन्।
‘धेरै सन्तान भयो भने बुढेसकालमा सुख पाइन्छ जस्तो लाग्थ्यो। त्यही भएर ४ छोरा र दुई छोरी जन्माइयो। तर, अहिले बुढेसकालमा श्रीमती बाहेक अरू कोही साथमा भएनन्,’ उनले दुखेसो गरे।
तिलकुमारी र कान्छीमाया दुवैले सानै उमेरमा विवाह गरे बच्चा जन्माउँदा स्वास्थ्यमा निकै समस्या झेल्नुपर्यो। उनीहरूले आफूले सहनुपरेको दु:खको फेहरिस्त सुनाउँदा पनि अहिलेसम्म अनेक बहानामा धेरै सन्तान जन्माउने चलन नहटेको बताए।
नयाँ बस्तीका बासिन्दा अझैपनि छोरा र छोरीको पर्खाइमा, काम गर्न धेरै जहान बनाउने आशमा र अनेक रहर बाध्यता देखाउँदै धेरै सन्तान जन्माउने गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।