|

दाङ : जडीबुटीका विरुवा रोपेका दाङका किसानलाई घर मै गएर प्रोत्साहन बापत रकम दिन सुरु गरिएको छ। पहाडी भेगका किसानलाई मंगलबारदेखि रकम वितरण सुरु गरिएको हो।

डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका ६०० भन्दा बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो।

सहकारीमार्फत पकेट क्षेत्रमा जडीबुटी बिस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका ७ वटा वडामा ७० हजार बढी विरुवाहरू रोपिएको छ। घोराहीको १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका १ देखि ५ वटा वडामा टिमुर, मालागेडी र दालचिनीका विरुवा रोपिएका छन्। सहकारीमार्फत किसानहरूलाई गाउँमै निःशुल्क विरुवा उपलब्ध गराइएको थियो।  उनीहरूलाई प्रतिविरुवा तीन रुपैयाँको दरले यो वर्ष प्रोत्साहन बापत २ लाख १० हजार रुपैयाँ दिइने सहकारी संस्थाका अध्यक्ष ध्रुबराज पौडेलले जानकारी दिए।

प्रोत्साहन रकम वितरण कार्यक्रमअन्तर्गत पहिलो दिन घोराही १९ का च्यानगैरा, राम्चे, तिर्साङ, लाकुरीडाँडा, पटिन्जा र बंगलाचुली  गाउँपालिकाको वडा नम्बर २ का मर्पेस र खाडा गाउँमै पुगेर प्रोत्साहन बापतको रकम वितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिए। विरुवा लगाउने किसानहरूलाई सबै वडाका गाउँमै पुगेर साउन १५ गतेसम्म प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। रकम बुझ्ने किसानहरूले गाउँसम्मै निःशुल्क रुपमा विरुवा उपलब्ध भएर प्रोत्साहन बापतको रकम पाएको जीवनमै पहिलो पटक भएको भन्दै खुसी व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.