|
फाइल तस्वीर

झापा : बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले ३ महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्।

गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल १७० मजदुर स्थायीरुपमा कार्यरत छन्। बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ। 

मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, बिर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरुले गुहारेका हुन्। 

मजदुरहरुले सोमवार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई ज्ञापनपत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन्।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चिया मजदुरले पारिश्रमिक नपाएको बताए। 

“महिनौँदेखि पारिश्रमिक नपाउँदा मजदूरहरुको बिचल्ली भएको छ”, उनले भने, “व्यापारीहरुले खाद्यान्नसमेत उधारो दिन छाडेका छन्।”

कार्यरत मजदूरहरु बगानको कच्ची आवासगृहमा बस्दै आएका छन्। अतिरिक्त आयस्रोत नभएका कारण मजदूरहरु भोकमरीमा परेको विषयलाई सरकारले गम्भीर रुपमा लिन पर्ने मजदूर अगुवा नारायण दर्जीको धारणा छ।

व्यवस्थापनले यसअघि पाक्षिक रुपमा मजदूरको पारिश्रमिक दिँदै आएको थियो। भुक्तानी रोकिए पनि मजदूरहरु नियमित कामकाजमा खटिइरहेको जानकारी उनले दिए। पारिश्रमिक माग्न जाँदा व्यवस्थापनले बेवास्ता गर्दै आएको उनको गुनासो छ।

“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राई भन्छन्, “उहाँहरु पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउनुहुन्छ।”

मजदूरहरुले जिल्ला प्रशासन कार्यालय झापा र श्रम कार्यालय भद्रपुरमा पारिश्रमिक दिलाउन पहल गरिदिन ज्ञापनपत्र बुझाइसकेका छन्। पाश्रिमिक नपाए आन्दोलनमा उत्रिन बाध्य हुने मजदूरहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

गिरीबन्धु टि–स्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक सङ्कटका कारण मजदूरहरुलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताए। बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केही ननिस्किएको उनको भनाइ छ।

श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिक नपाएको गुनासो लिएर मजदूरहरु कार्यालयमा आएपछि गिरीबन्धु टी–स्टेट प्रालिलाई पत्राचार गरिएको बताए। 

“मजदूरहरु आउनुभएको थियो”, उनले भने, “पारिश्रमिक दिनू भनेर हामीले व्यवस्थापन पक्षलाई लिखित आग्रह गरिसकेका छौँ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.