तीन दिनभित्र बुझाइसक्‍न महानगरको ताकेता

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि कर नबुझाउने स्टार मलसहित २० ठूला करदाताको नाम सार्वजनिक गरेको छ। करदाताहरूले समयमा कर नतिरेपछि महानगरपालिकाले बुधबार एक सूचना जारी गरी उनीहरूको नाम सार्वजनिक गरेको हो।

महानगरको राजस्‍व विभागका अनुसार कान्तिपुर डेन्टल हस्पिटल,चिरायु हस्पिटल,देवेन्द्रलाल श्रेष्ठ,एन.आर टी क्लब,युनाइटेड वर्ल्ड ट्रेड सेन्टर,बागमती च्याम्बर,बुद्धबारी कम्पलेक्स,काठमाडौं इन्जिनियरिङ कलेज,आदर कम्प्लेक्स,नेपाल रेडक्रस सोसाइटीले कर बुझाएका छैनन्।

त्यस्तै,कृषि सामग्री संस्थान,एलआरआई बोर्डिङ स्कुल,मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल,आरबी कम्प्लेक्स,शुभश्री  को अपरेटिभ लिमिटेड,काठमाडौं प्लाजा,नेपाल शेयर मार्केट,गोपालजी पोपर्टिज प्रालि र स्टार मलले कर नबुझाएका हुन्।

राजस्‍व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार यी करदाताबाट ७० करोडभन्दा बढी राजस्‍व उठ्न बाँकी छ। ‘यी करदाताले भवन बनाएर व्यवसाय सञ्चालन गरेदेखि नै महानगरपालिकामा कर बुझाएका छैनन्,’उनले भने,‘सबैको प्राय पाँच वर्षदेखिकै कर भुक्तानी बाँकी छ।'

तीन दिनभित्र पैसा नबुझाए सिल गर्ने 

महानगरपालिकाले यी करदातालाई तीन दिनभित्रमा रकम बुझाउन  ताकेता गरेको छ। यसको लागि महानगरपालिकाले करदाताको घर दैलोमा नै बुधबारबाट माइकिङ सुरु गरेको छ।

यो समय अवधिमा नबुझाए करदाताको पसल,घर,व्यवसाय सबै सिलबन्दी गर्ने राजस्‍व विभागका प्रमुख अधिकारीले चेतावनी दिए।

‘कोभिडका कारण हामीले छिटो कर बुझाउनु भनेर कुनै दबाब दिएका थिएनौँ,तर धेरै नै यी करदाताले ज्यादती गरे,त्यसैले हामीले तीन दिनको समय दिएका छौँ,यो समयमा नबुझाए प्रहरीको समन्वयमा जसरी भए पनि क्रमश: सबै सिल गछौँ,’ अधिकारीले भने।

उनका अनुसार गत असार १६ गते नै गोरखापत्रमा सूचना प्रकाशित गरी कर बुझाउन जानकारी दिइएको थियो। तर,त्यति गर्दा पनि उनीहरूले कर तिरेनन्। उनीहरूलाई कर बुझाउने सूचना जानकारी प्राप्‍त गर्न सहज होस भनेर  चार दिनसम्म माइकिङ गरिने पनि महानगरले जनाएको छ। 

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.