|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अहिलेको सरकार असफल भएमा संविधान र व्यवस्था पनि असफल हुने बताएका छन्।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गिरिले यसपटक सरकारलाई असफल हुने छुट नभएको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतको नाम उल्लेख गर्दै उनले सरकार असफल भए प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै असफल नहुने तर्क गरे।

‘यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरूले ।’ गिरिले थपे, ‘संविधान असफल हुन्छ। संविधान असफल भएर पनि केही बिग्रिँदैन, व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुनु भनेको सोच्दा मात्र पनि कहाली लाग्छ मलाई।’

आफूले संविधानमा हस्ताक्षर नगरे पनि बाटो अर्को नदेखेकाले संविधानको रक्षा गर्न बोलेको/लेखेको उनको भनाइ थियो ।

सांसद गिरिले एक सय दिनभन्दा बढी समय लिए पनि हुने तर, लक्ष्यबारे स्पष्ट हुनुपर्ने बताए। पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई पार्टीका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले जसरी जाँदा जाँदै हिंसावादीलाई मूलधारमा ल्याएको स्मरण गर्दै गिरिले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संविधानवादको शिक्षा दिन आग्रह गरे ।

‘प्रतिपक्षको नेता भएर पनि यस संविधान अन्तर्गत प्रधानमन्त्री भएर संविधानको मर्म नबुझ्नु भएका पूर्वप्रधानमन्त्री, संविधानको संरक्षक भएर रहनु भएका राष्ट्रपतिलाई पनि कसरी बढीभन्दा बढी संविधानवादको शिक्षा दिने यो हाम्रो सबैभन्दा ठूलो लक्ष्य हो ।’

उनले अघि थपे, 'ठूलो लक्ष्य भन्दैमा दैनिक समस्याबाट पनि मुक्त हुन पाइँदैन कोभिडबारे कृपया ठोस कदम चाल्नुहोस्। चाँडै जनताले जिन्दावाद भन्ने खालको मन्त्रिमण्डल बनाएर दुनियाँलाई देखाउनुस् म शुभकामना दिन चाहन्छु।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.