|

म्याग्दी : २०७२ सालको भूकम्पले क्षति पुगेका १०५ वटा विद्यालय भवनको पुनर्निर्माण गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीमार्फत भवन, शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको हो। भूकम्प प्रतिरोधी भवनलगायतका पूर्वाधार निर्माण अभियानअन्तर्गगत हालसम्म १०५ वटा विद्यालयको भवन पुनर्निर्माण गरिएको छ।

आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुनर्निर्माण सुरु भएको हो।आर्थिक वर्षा २०७७/७८ सम्ममा दुइकोठे ३२ वटा, तीन कोठे १२ वटा र चार कोठे ६१ वटा गरी १०५ वटा भवन पुनर्निर्माण भएको इकाई प्रमुख तुलराज चौलागाईले जानकारी दिए। कार्यालयका अनुसार हालसम्म शौचालय ५० वटा र खानेपानीतर्फ २७ वटा योजना निर्माण सम्पन्न भएको छ।

गत आर्थिक वर्ष २०७७/७८ मा विद्यालयतर्फमा १०७ वटा योजनामध्ये ८३ योजनाको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ निर्माणधीन रहेको इकाई प्रमुख चौलागाईले जानकारी दिए।

गत आर्थिक वर्षमा ५० भवनमध्ये ३३ वटा, ३० वटा शौचालयमध्ये २५, २७ वटा खानेपानी आयोजनामध्ये २५ सम्पन्न भएको इकाईले जनाएको छ। कार्यालयका अनुसार दुई कोठे भवन आठवटा, तीन कोठे भवन एउटा, चार कोठे २४ वटा भवन निर्माण सम्पन्न भएको थियो।

त्यस्तै‚ शौचालय १६ वटा, खानेपानी १९ वटा सम्पन्न भएको थियो। १७ वटा भवन, दुई खानेपानी र पाँचवटा शौचालय निर्माण बाँकी रहेको कार्यालयले जानकारी दिएको छ।

विद्यालयको भवन, शौचालय र खानेपानी निर्माणका लागि आएको कुल २६ करोड १९ लाख ५१ हजार ९६२ रुपैयाँ बजेटमध्ये २४ करोड ८८ लाख ४३ हजार ८९२ रुपैयाँ बजेट खर्च भएको छ।

धवलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले जीर्ण पूर्वाधार हटाएर चार कोठे दुईवटा भवन निर्माणले विद्यालयको पठनपाठन सहज भएको बताए।

उनले पुनर्निर्माण कार्यालयबाट प्राप्त बजेटलाई विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको सक्रियतामा भौतिक संरचना सुरक्षित, सुविधायुक्त, वातावरणमैत्री र अपांगमैत्री बनाइएको जानकारी दिए।

पछिल्लो समय मुक्तिधाम माध्यमिक राखु भगवती, गलेश्वर मावि तोरीपानी, हेम मावि शिवाङलगायतका विद्यालयको जीर्ण संरचना हटाएर नयाँ संरचना निर्माणले विद्यालयको स्वरुप नै फेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.