|

काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै जाँदा सरकारले  नेपाल मास्क अभियान सुरु गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सप्ताहव्यापी रुपमा अभियान सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अभियानको शुभारम्भ गरेका छन्।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित अभियान सुरु भएको छ।

देशव्यापी रुपमा कोरोना भाइरसको बढ्दो संक्रमण र सम्भावित तेस्रो लहरबारे सबैलाई सचेत बनाउन र कोरोना रोकथाममा मास्कको महत्व थप बुझाउनका लागि अभियान सुरु गरिएको हो ।

मास्कलाई किन महत्व दिने ?

कोभिड–१९ को जोखिम अझै रहेका कारण सहि तरिकाले मास्क नलगाउँदा आफू संक्रमित हुनुका साथै अन्य व्यक्तिलाई समेत संक्रमण सार्ने सम्भावना उच्च हुन्छ।

केन्द्रकी निर्देशक डा. राधिका थपलियाका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण र सम्भावित तेस्रो लहरबारे सबैलाई सचेत बनाउन र कोरोना रोकथाममा मास्कको महत्व थप बुझाउनका लागि अभियान सुरु गरिएको बताइन्। 

विशेषगरि ग्रामीण तथा शहरको बाहिरी भेगका प्रायः मानिसहरुले सही तरिकाले मास्क नलगाउने र कतिपयले त मास्क नै नलगाउने गरेको पाइएको छ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एउटा माध्यम भनेको हामीले बोल्दा, खोक्दा, गीत गाउँदा, हाँच्छ्यु गर्दा निस्कने स–साना छिटाहरूबाट त्यसैले‚ मास्कको सहि प्रयोगले मात्र संक्रमण फैलावट रोक्न सक्छ।

त्यसैले मास्क लगाउनु अनिवार्य  भएको हुँदा मास्कको महत्व बुझाउन र यसलाई सहि तरिकाले लगाउन सिकाउन मास्क अभियान सुरु गरिएको उनले बताइन्। 

मास्क अभियान सुरु गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा पछिल्लो समय पुन: संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको पालना गर्न र उचित तरिकाले सबैले मास्क लगाउनु पर्ने बताए।'

'जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना नगर्दा पुन: संक्रमण बढ्दै गएको छ, यस्तो बेलामा हामी सबैले जनस्वास्थ्यको राम्रोसँग पालना गर्न र उचित तरिकाले मास्क अनिवार्य लगाऔं' उनले भने। 

प्रचलनमा रहेका मास्क

एन ९५ मास्क : बजारमा अहिले थरीथरीका मास्कहरू उपलब्ध छन्। जसमध्ये अलि भरपर्दो मास्क हो एन ९५ मास्क। कोरोना भाइरस मात्रै हैन अन्य विभिन्न खालका भाइरसहरूबाट जोगाउन एन ९५ मास्कलाई सबभन्दा राम्रो मास्क मानिन्छ।

यो मास्कको बनावटको आधारमा यसले शतप्रतिशत ब्याक्टेरियाहरु, धुलो र परागकणबाट बचाउने हुँदा मास्कहरूमा यो मास्कलाई सर्वोकृष्ट मास्कको रुपमा लिइन्छ। यसको मूल्य भने साधारण मास्क भन्दा अलि बढी पर्छ।

सर्जिकल मास्क : बजारमा सजिलै पाइने अर्को मास्क हो सर्जिकल मास्क । पोलिमरबाट निर्मित तीन तहको पत्र भएको मास्कलाई एन ९५ मास्क पछि राम्रो मानिन्छ। यो मास्क सस्तो र भरपर्दो भएकाले धेरैले प्रयोग गर्ने गरेका छन्। 

कपडावाला मास्क : बजारमा पाइने अर्को मास्क हो कपडाको मास्क। विभिन्न कपडाहरूबाट बनाइने यस्ता मास्कले हावामा रहेका धुलोको कणहरूबाट बचाउने भए पनि यो मास्कले भाइरसबाट भने बचाउँदैन । चिकित्सकले कपडाको मास्क लगाउन उचित नहुने बताउने गरेका छन्।

एक्टिभेट कार्बन मास्क : यो मास्क सामान्यतया गन्ध रोक्न प्रयोग गरिन्छ। यसले ब्याक्टेरियाहरू, धुलो र परागकणहरूबाट ५० प्रतिशत मात्र जोगाउँछ।

स्पन्ज मास्क : यो मास्कले पनि भाइरस विरुद्ध जोगाउँदैन। ब्याक्टेरिया र धूलोबाट यसले केवल ५ प्रतिशत  मात्रै बचाउँछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.