|

जनकपुरधाम : प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊँ’ अभियान अन्तर्गतको साइकल वितरण स्थगित भएको छ। 

यस कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्राहरूलाई प्रदेश सरकारले साइकल वितरण गर्दै आएको थियो। 

प्रदेशभित्रका सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राका लागि धेरैजसो विद्यालयबाट साइकल माग निवेदन प्राप्त भएपछि कागजात रुजु गर्न समय लाग्ने भएकाले कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत अमन कुमार कर्णले बताए। 

अर्को सूचना प्रकाशित नभएसम्म कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए। प्राप्त फाइलहरू रुजु भएपछि अर्को सूचना प्रकाशित गरी पुनःसंचालन गरिने समेत उनले बताए। 

चालु आर्थिक वर्षमा दुई चरणमा साइकल वितरण गर्नुपर्ने भएको र त्यसमध्ये एक चरणमा वितरणसमेत भइसकेको तथा विद्यालयबाट करिब २ सयको संख्यामा फाइलहरू आएकाले यसमा समय लाग्ने उनको भनाइ छ। 

प्रदेश सरकारले यसमा शिक्षा बिमा, महिला मैत्री शौचालय निर्माणजस्ता कार्यक्रमलाई बढाएर महिला सशक्तीकरणमा प्रदेशलाई अग्रपंक्तिमा राख्ने सोच लिएको पनि कर्णले जानकारी दिए। 

प्रदेश २ सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभित्रका सामुदायिक विद्यालयका ८ कक्षामा पढ्ने ६१ वटा विद्यालयका १४ हजार तथा २०७७/०७८ मा १७ हजार २३८ छात्रालाई साइकल वितरण गरेको थियो।

प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीको बिमा गर्ने कार्य सुरु गरे पनि पछिल्लो वर्षदेखि यो कार्य पनि बन्द भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.