|

चितवन : नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोख्रेलले मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता संशोधन नभई खारेज गर्नुपर्ने बताएका छन्।

एमसीसी सम्झौता खारेजी अभियानलाई सोमबार सम्बोधन गर्दै नेता पोख्रेलले एमसीसीको उत्पतिमा नै विष रहेकाले संशोधन गरेर केही नहुने बताए। चार वर्ष अघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता गरेका हुन्।

आफ्नो पार्टी सरकारमा भएका बेला सम्झौता भएकाले नेपाली कांग्रेसले एमसीसीको विरोध गरेको छैन। एमसीसी सम्झौतामा नेपालको कानुन भन्दा सम्झौता ठूलो हुने सर्त राखिनु नै दुर्भाग्य भएको पोख्रेलले बताए।

सम्झौता संशोधन गर्ने हल्ला चले पनि सम्झौतामा अमेरिकाले कुनै किसिमको संशोधन मान्य नहुने कुरा उल्लेख गरेको उनले बताए। ‘सम्झौतामा कुनै पनि संशोधन मान्य नहुने अमेरिकाले बताइसकेको छ’, उनले भने,‘अब संशोधन गरेर अनुकुल हुन्छ ? उत्पतिमा नै विष छ भने पछि गएर त्यसलाई अमृत बनाउन सकिँदैन।’

एमसीसी सम्झौतासँग नेपालको कानुन बाझिएमा नेपालको कानुन र संविधान नै निलम्बनमा पर्ने उनले बताए। अमेरिका र चीन विश्वमा शक्तिशाली मुलुकका रुपमा स्थापित हुने होड रहेको भन्दै उनले अमेरिकाले चीनलाई कमजोर बनाउन एमसीसी परियोजना ल्याएको उनको भनाइ छ।

‘चीन विरुद्ध गतिविधि गर्न अमेरिकाले नेपालमा लगानी गर्न खोजिरहेको छ’, उनले भने, ‘नेपाल उसका लागि रणनीतिक महत्वको केन्द्र बनेको छ। नेपालमा अझै पनि राजनीतिक स्थायित्व बन्न सकेको छैन। गरिब मुलुक त हो नै। यसकै कारण यहाँ लगानी गरेर अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजिरहेको छ।’

विद्युत प्रसारण र सडक विस्तारका नाममा आएको एमसीसी सम्झौताभित्र नेपालको हित विपरित थुप्रै बुँदा राखिएको उनले बताए। ‘अनुदान दिने हो भनि यति धेरै शर्तहरु किन राखेको ?’, उनले प्रश्न गरे, ‘चीनसँग तिब्बतलाई टुक्राउने उद्देश्यले विद्युत प्रसारण लाइनलाई राखिएको छ।’

एमसीसी परियोजनाका लागि अमेरिकाले ५० करोड डलर र नेपालले १३ करोड डलर लगानी गर्ने सम्झौतामा भनिएको छ। परियोजनामा नेपालको २६ प्रतिशत लगानी रहने भए पनि बौद्धिक सम्पतिमा नेपालको अधिकार नहुने, कारोबारका सक्कल कागजपत्र नेपालले हेर्न नपाउने र सम्झौता विपरित काम भएको अमेरिकालाई लागेमा ३० दिनभित्र फिर्ता जाने जस्ता राष्ट्रहित विपरितका प्रावधान रहेको उनले बताए।

विप्लव नेतृत्वको नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोलाले अमेरिकाले आफ्नो साम्राज्य विस्तार गर्न विभिन्न प्रपञ्च रचेको बताए। ‘आफ्नो साम्राज्य विस्तार गर्न अमेरिकाले प्रपञ्च रचिरहेको छ।

त्यसमध्ये एउटा एमसीसी पनि हो’, उनले भने,‘एमसीसी सम्झौतासँग बाझिएका नेपालका कानुन निलम्बन हुने र एमसीसी परियोजनाको सुरक्षाका लागि अमेरिकी सैनिक आउँदा पनि नेपाल केही बोल्न नपाउने भनेको घातक हो।’

एमसीसी सम्झौतालाई आमनागरिक माझ सार्वजनिक गर्न डराउनुले नै सम्झौता नेपालको हित विपरित रहेको कुरा पुष्टि हुने एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनका नारायण शर्माले बताए। एमसीसी सम्झौताका राष्ट्रहित विपरितका बुँदाहरु जनता माझ लैजाने अभियानलाई तीव्र बनाइने पनि उनले बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.