|

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले नेताहरूप्रति बिहीबारकाे संसद बैठकमा आक्रोश पोखेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई एमाले नेताहरुले परमादेशको सरकार भनेपछि सांसद यादवले आक्रोश पोख्दै भने, 'देशमा कोरोना जस्तै प्रतिगमन फैलिएको छ। प्रतिगमन र अग्रगमनबारे बहस भइरहेको छ। परमादेश र जनादेशको कुरा गर्नेहरुलाई भन्छु। हामी पनि परमादेशबाटै आएका हौँ।' 

संविधान कार्यान्वयन गरेर जाँदा कसरी परमादेशको सरकार भयो ? उनले प्रश्न गरे। 'परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने?' उनले भने, 'गलत मान्छेलाई देश र पार्टीको जहाज उडाउन दिएपछि दुर्घटना हुन्छ। लगभग दुई तिहाइ सरकारलाई ध्वस्त पर्ने? जनआन्दोलन पनि गठबन्धनबाट आएको हो? संविधान पनि गठबन्धनबाट आएको  हो? तपाइँहरुको सरकार पनि गठबन्धनमा थियो होइन र?' 

आफूहरुले जे गर्दा पनि ठिक हुने तर अरुले गर्दा बेठीक हुने एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ भएको उनले आराेप लगाए। ओलीले प्रधानमन्त्री बन्नकै लागि गठबन्धन, आन्दोलन र पार्टीसमेत बर्बाद पारेको आरोप लगाए। 

यादवले भने, 'हुटिट्याउँले आकास थामेजस्तो कुरा गर्ने। जतिबेला पनि परमादेशको कुरा गर्ने। भ्रष्टाचार गर्दिन भन्ने अनि भ्रष्टाचारको ढाकछोप गर्ने।'

उनले विदेशी बैंकमा भएकाे कालो धनबारे छानबिन हुन पर्ने समेत माग गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.