|

हेटौंडा :  सुशील घिमिरे एक समय नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि चलेको नाम हो। अहिले आफ्नो गृहजिल्ला मकवानपुरको हेटौंडामा रंगशाला निर्माणको लागि दाताको बाटो हेर्दै छन्। 

 बक्सिङ खेलेर हेटौंडालाई मात्रै नभई देशलाई नै अन्तर्राष्‍ट्रिय स्तरमा चिनाएका घिमिरे अहिले आफ्नो ठाउमा खेलकुद सञ्चालन गर्ने रंगशाला बनाउने अभियानमा छन्।  देशको प्रतिनिधित्व गर्दै विभिन्न स्थानको रंगशालामा खेल्न पुग्दा उनलाई आफ्नो ठाउँको सधै झ–झल्को आउँथ्यो।​

वि.स.२०५४ सालमा १७ वर्षको हुँदादेखि घिमिरेले बक्सिङ खेल्न थालेका थिए। खेल्न थालेको एक वर्षमा नै उनले क्षेत्रीय स्तरको खेलमा सहभागी हुने मौका पाए। त्यसपछि पनि उनले लगातार ५/६ वटा खेलमा सहभागिता जनाए तर कुनैमा पनि सफलता हासिल गर्न सकेनन्। 

सफलता नपाएर निराश बनेका उनले गुरुको आग्रहमा ०५८ सालमा पुष्करध्वज शाही मेमोरियल राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिए र प्रथम भए।  त्यसपछि उनी लगातार ०७२ सालसम्म बक्सिङमा अपराजित खेलाडी बने। १० पटकसम्म नेशनल च्याम्पियन बनेका उनले ३ पटक साफ गेम, ओलम्पिक क्वालिफाइङ र एशियन गेम गरि १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए। 

घिमिरेले नेपाललाई ३ वटा पदक समेत दिलाएका थिए। बक्सिङबाट राम्रो सफलता पाएका उनले बिचमा विभिन्न कारणले खेल्न छोड्ने बिचार गरेर विदेशको यात्रा तय गरे। करिव ५ वर्ष मकाउ बसेका उनले त्यहाँ पनि खेल्ने र सिकाउने नै काम गरे।

जहाँ गएपनि खेललाई छोड्न नसकेका उनी अन्ततः ७६ सालमा स्वदेश फर्किए र रंगशाला निर्माण कार्यलाई अगाडि बढाउने प्रयत्न गरे। आफूले खेल्न थालेदेखि नै हेटौंडामा रंगशाला निर्माण गर्ने योजना बनाएको घिमिरे बताउँछन्। 
‘खेलकुदमा राम्रो सम्भावना बोकेको हाम्रो हेटौंडामा पनि खेलकुद गतिविधि सञ्चालन गर्ने एउटा रंगशाला बनाउन पाए हुने जस्तो सधै लाग्थ्यो, अहिले त्यो रंगशाला निर्माणको थालनी भएको छ ,’उनले भने। 

उनले निर्माणाधीन पिप्ले क्याम्पा रंगशाला हेटौंडाको गौरवको आयोजनाको रुपमा विकास हुने सुनाए। पिप्ले युवा क्लबको अध्यक्ष रहेका उनले आफ्नो क्लबको तर्फबाट रंगशाला निर्माणको कार्यलाई सुरु गरेका थिए। सुरुमा रंगशाला अभियानमा एक्लै भएका उनलाई अहिले कयौंले हात र साथ दिएका छन्। 

कति भयो निर्माण कार्य ? के छ योजना ?      

हेटौंडा–५ क्याम्पा डाँडामा निर्माणाधीन रंगशाला साढे ३ बिगाहा क्षेत्रफलमा फैलिएको छ। ४ सय मिटरको एथलेटिक्स रनिङ ट्रयाक निर्माण सम्पन्न गरेर हाल रंगशालामा प्याराफिट निर्माणको काम भइरहेको छ। चौरलाई मर्मत गरेर ग्राउण्डको रुपमा मर्मत गरेर निर्माण कार्य भइरहेको रंगशालामा हालसम्म ७० लाख खर्च भइसकेको घिमिरेले बताए। 

उनले हेटौंडा उपमहानगरपालिका, हेटौंडा—५ वडा कार्यालय र विभिन्न व्यक्तिको सहयोगमा सुरुवात भएको ६ महिनामा यति निर्माण कार्य भएको बताए। 
 घिमिरेको अनुसार रंगशालामा ३ हजार ५ सय जना अटाउने गरि प्यारापिट निर्माणको कार्य भइरहेको छ।

रंगशालामा ३ वटा सिमेन्टको र २ वटा फलामको प्यारापिट बन्नेछ। हाल ५० मिटर लम्बाई, १० मिटर चौडाई र २२ मिटर हाइट रहेको सिमेन्टको प्यारापिट बनाउने काम थालिएको छ। उनले रंगशाला भित्र छुट्टाछुट्टै ब्लक बनाएर कुल एकसय ५० मिटरको ३ वटा सिमेन्टको प्याराफिट निर्माण कार्य थालिएको बताए। 

सहयोगी दाताको बाटो हेर्दै

६ महिना अघिबाट सुरु भएको रंगशाला निर्माण कार्य करिव २० दिनदेखि बन्द छ। यसअघि विभिन्न निकायबाट सहयोगस्वरुप आएको पैसा ग्राउण्ड मर्मत, एथलेटिक्स रनिङ ट्रयाक निर्माण र प्यारापिटको लागि पिल्लर उठाउँदा सकिएपछि काम रोकिएको हो। 

 अब बाँकी काम सुरु गर्नको लागी अन्य सहयोगी दाताको बाटो हेरिरहेको भन्दै घिमिरेले केहि दिनमा नै पुनः रंगशाला निर्माण कार्य सुरु गरिने बताए। उनले हेटौंडा उपमहानगरपालिका र ५ नम्वर वडा कार्यालयले चालु आवको बजेटमा नै रंगशाला निर्माणको लागि रकम विनियोजन गरेकाले त्यसैबाट आगामी निर्माण कार्य सुरु गरिने बताए। 

उनले हेटौंडा उपमहानगरपालिकाले ७५ लाख र वडाले २० लाख रुपैयाँ रंगशाला निर्माणको लागी विनियोजन गरेको जानकारी दिए। रंगशाला निर्माणको लागि उपमहानगरको इन्जिनियरले ६ करोड रुपैयाँ लागत अनुमान गरेको हुँदा यो रकम पनि रंगशाला निर्माण सम्पन्न गर्नको लागी पर्याप्त छैन। 

‘उपमहानगर प्रमुख हरिबहादुर महत र वडा अध्यक्ष राजेश बानियाँले रंगशाला निर्माणको लागी धेरै नै सहयोग गर्नुभएको छ। रंगशाला निर्माणमा उहाँहरुको अतुलनीय भुमिका छ। तर पनि हामीले यसको निर्माण सम्पन्न गर्नको लागी अन्य दाताको पनि बाटो हेर्नुपर्ने अवस्था छ,’घिमिरेले भने। 

रंगशाला निर्माणको लागी विभिन्न व्यक्तिहरुले आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गरेका उनले बताए। तर निर्माण सम्पन्न गर्न आवश्यक रकमको उपलब्धता नहुँदा निरन्तर काम गर्न भने नपाएको उनको भनाइ छ।

प्रदेश सरकारबाट ३० लाख मात्रै बजेट

बागमती प्रदेशको राजधानीमा एउटा युवा क्लबले निर्माण गर्न लागेको रंगशालामा प्रदेश सरकारको सहयोग भने उत्साहजनक देखिएको छैन।  खेलकुदमा अथाह सम्भावना बोकेको हेटौंडामा हालसम्म खेलकुद गतिविधि सञ्चालन गर्ने व्यवस्थित रंगशाला नहुँदा वर्षेनी खेलकुद सञ्चालन गर्दा समस्या हुने गरेको छ। सरकारी निकायबाट नै रंगशाला निर्माणमा प्रयास हुनुपर्नेमा युवाहरुले थालनी गरेको कार्यमा पनि प्रदेश सरकारले उचित सहयोग नगरेको उनीहरु बताउँछन्।

कुल लागत ६ करोड लाग्ने अनुमान गरिएको रंगशाला निर्माणको लागि प्रदेश सरकारले जम्मा ३० लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ। वर्षेनी लाखौ रुपैयाँ खेल क्षेत्रमा खर्च गर्न नसेकर फ्रिज गराउने प्रदेश सरकारले प्रदेश राजधानीमा निर्माणाधीन प्यारापिटको लागि ३० लाख मात्रै विनियोजन गरेको हो। 

हेटौंडाको ५ नम्वर वडा कार्यालयले मात्रै पनि २० लाख रुपैया बजेट विनियोजन गरेको छ भने उपमहानगरले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.