|

काठमाडौं : गत असार २६ गते अनामनगर क्षेत्र डुबानमा पर्‍यो।

धोबी खोलामा आएको बाढी त्यस क्षेत्रमा पस्दा कतिपय वर्कसप डुबिसकेका थिए भने कतिपयको घरभित्र पानी पस्दा बिचल्ली भयो। बाढीले ल्याएको हिलोले ५ दिनसम्म त्यो करिडोरको बाटोमा आवागमन रोकियो।

बस्ती डुबान हुनुको कारण एउटै छ–खोला अतिक्रमण गर्नु। खोला अतिक्रमण नभएको भए पानी होस् या बाढी,  बस्तीतिर नपसी सललल खोलामा बग्थ्यो। तर, समयक्रममा भयो ठीक उल्टो।

आसपासका स्थानीयले खोला अतिक्रमण गर्दा यो समस्या वर्षेनी दोहोरिइरहेको छ। केही साता अघिसम्म अनामनगरको मदन भण्डारी कलेजअघि धोबीखोलामा नै घर भत्काएको गिटी, इँटालगायत निर्माण सामग्री फालिएको थियो। खोलाको बाढीले अहिले आधा बगाएको छ भने अझै फालिएका सामग्री बाँकी छ।

त्यस्तै, कालोपुल अगाडि अहिले माटोको चुचुरो लगाइएको छ। ती माटो खोलामा विस्तारै झर्दैछ। खोलामा माटो पुरिएकै कारण पानी परेको बेला वर्षेनी धोबी खोला आसपास क्षेत्रमा बाढी पस्ने गरेको छ। 

‘आफ्नो गल्तीले आफैँलाई घाटा’  

अनामनगरका स्थानीय शंखर पराजुलीले त्यहाँकै स्थानीयले माटो र ढुंगा खोलाभित्र फाल्ने गरेको बताउँछन्। उनले भने, ‘यहाँकै स्थानीयले माटोलगायत सामग्री खोलामा ट्रकका ट्रक फाल्छन्‌, अरू ठाउँकाले पनि गाडीमा ल्याएर यहि फाल्छन्, बाढी बग्ने बाटो खोला त्यसलाई माटो फालेर रोकेपछि त त्यो बाटो बिराएर बस्तीमा छिरिहाल्छ नि!’  

स्थानीय आफैँले गल्ती गर्दा घाटा ब्यहोरिरहेको उनको भनाइ छ। उनका अनुसार दिउँसो र राती दुबै समयमा खोलामा अनावश्यक फोहोर फाल्ने गरेका छन्। तर, सम्बन्धित निकायबाट कारबाही हुन सकेको छैन।

उनी भन्छन्‌, ‘यसरी नै फोहोर फालिरहे अबको ५/६ वर्षमै खोला भरिन्छ होला, त्यसपछि खोलाको पानी खोलामा नभइ बस्तीतिरै बग्ने त हो।’

यसो भन्छन्‌ वातावरण अभियन्ता

कानूनी रूपमा खोलानालामा फोहोर फाल्न बन्देज भएपनि स्थानीय तहले कडाई नगर्दा विकराल रूप लिँदै गएको वातावरण संरक्षण अभियन्ता सञ्जय अधिकारी बताउँछन्।

उनले भने, ‘खोलानालामा फोहोर, घर भत्काएका बस्तुहरू फाल्न पाइँदैन भन्ने कानूनी रूपमा स्पष्ट छ, तर नागरिक सचेत नै भएनौँ, जसले खोलामा फोहोरको बहाव बढ्दै गइरहेको छ, तर गल्ती गर्नेलाई कारबाही भएन।’  स्थानीय तह सचेत भएमा मात्रै यस्ता गतिविधि रोकिने उनको भनाइ छ।

‘पहिला नै खोलामा कुनै पनि फोहोरमैला नफाल्न सर्वोच्च अदालतले समेत रोक लगाइसकेको छ, तर ती आदेश कार्यान्वयन भएन,’ उनले भने, ‘बस्ती बनाउँदा पनि खाेला अतिक्रमण गरिएकाे छ। फराकिला खोला बिस्तारै खुम्चिँदै गएको छ।’

धोबी खोलाजस्तै हनुमन्ते, विष्णुमती, मनोहरा, बल्खु लगायत खोलामा पनि फोहोर फाल्ने गरेको पाइन्छ।

किन हुँदैन कारबाही ?

फोहरमैला व्यवस्थापन ऐन, २०६८ मा पनि तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका, वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएका ठोस, तरल, ग्यास, लेदो, धुवाँ–धुलो र फोहरमैला व्यवस्थापन स्थानीय निकायले गर्नुपर्ने उल्लेख छ।

यस विपरीत कार्य गरेको पाइए स्थानीय तहले सम्बन्धित संस्था वा निकायलाई कारबाही गर्नुपर्ने हुन्छ। तर, कारबाही भएको पाइँदैन।

काठमाडौं महानगरपालिकाका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले खोलामा फोहोर फाल्ने व्यक्तिको पहिचान हुन नसक्दा कारबाही गर्न नसकिएको बताए।

‘फोहोर, माटो र इँटा थुपारिएको र फालिएको मात्रै देखिन्छ, तर कसले फालेको भनी पहिचान नै हुँदैन, पहिचान नभइ अरूलाई समाउन मिलेन,’ थापाले भने। 

उनका अनुसार पहिला धोबी खोलाको पानीको सतहदेखि एक मिटरमाथि ढलको पाइप हालिएको थियो। तर, अहिले फोहोरले खोला नै भरिएर त्यो पाइप नै छोपिन लागेको छ।

‘त्यसरी फाल्नेलाई महानगरपालिकाले कारबाही गरेको पनि छ,’ उनले भने, ‘कसैले फोहोर फालेको बेला भिडियो या पहिचान गरेर हामीकहाँ जानकारी गरायो भने तुरुन्त कारबाही हुन्छ।’ त्यस्तो गरेको पाइए १५ हजार रुपैयाँ जरिवाना गर्ने गराइएको उनले बताए।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.