‘म १० लाख नतिर्ने मान्छे होइन’

|

पर्वत : पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गरी दाखिला गर्न कास्की जिल्ला अदालतले पर्वत प्रहरीलाई पत्र पठाएको छ।

गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई लेखिएको पत्रमा मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको हो।

प्रतिवादी मल्ललाई वादी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा २०७७ चैत २७ मा पक्राउ गरी ६ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकोले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउ गर्न खोजी भइरहेको बताए। ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उनले भने, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्नेगरी खोजी भइरहेको छ।’

यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताए। २०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेको पनि मल्लको भनाइ छ।

‘किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ। मैले पैसा तिरिरहेको छु। धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि भन्ने छ। बा २ ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो,’ उनले भने, ‘उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ। उसले गाडी चलाउन सकेन, हात उठायो। हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ। यो बारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु।’

नेपाली कांग्रेस पर्वतको कोषाध्यक्षसमेत रहेका मल्लले आगामी १४ औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन्। गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक रहेका उनी जिल्लाको राजनीतिमा प्रभावशाली पनि मानिन्छन्‌।

जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदार समेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको मल्लको तर्क छ।

‘राजनीतिक रूपमा यो मुद्दा उठाइएको छ। पार्टीको सभापतिको बलियो दाबेदार रहेका कारण त्यसैलाई विफल पार्न खेलेको देखिन्छ। फैसला भएको पनि मलाई त थाहा नै छैन। पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ,’ उनले भने, ‘मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठूलो कुरा थिएन। उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो। कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ।’

व्यावसायिक मान्छेले कारोबार गरिरहने तथा साथीका लागि जमानी बस्ने वा लगानी गर्ने काम पनि भएको हुने बताउँदै उनले तलमाथि भएकोबारे आफूलाई समयमै जानकारी दिइएको हुनुपर्ने बताए।

हिमालयन अटोका प्रोप्राइटर तथा वादी ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताए।

‘उनले साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैँले लगेका पनि होइनन्। तर जमानी बसेका कारण यो अवस्था आएको हो,’ उनले भने, ‘पैसा पहिले नै तिरेको भए यो अवस्था आउने थिएन। यो मुद्दाका सबै प्रक्रियाहरू डिसमिस भएका छन्। मैले पैसा पाउनु पर्ने थियो-पाएँ, अब यो मुद्दा सकियो।’

अदालतको पत्र :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.