|

काठमाडौं :  सरकारले केही महिनाअघि गरेको अध्ययनले करिब ५० प्रतिशत नेपालीमा कोरोनाविरुद्ध एन्टिबडी विकास भएको पाइएको छ। अध्ययनमा कोरोना भाइरस संक्रमण भएर वा खोप लगाइसकेका ५० प्रतिशत नेपालीको शरीरमा कोरोनाविरुद्ध एन्टिबडी विकसित भएको देखिएको हो।

केही महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सेन्टर फर डायनामिक नेपाल मिलेर गरेको समुदायमा आधारित सर्वेक्षणको नतिजाले एन्टिबडी विकास भएको देखाएको हो। ७७ जिल्लामा नै गएर वैज्ञानिक आधारमा करिब ३ करोड नेपालीको प्रतिनिधित्व गर्ने हिसाबले नमुना संकलन गरिएको थियो स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। संकलित रगतको नमुना टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

उक्त नमुनाको प्रारम्भिक रिपोर्टले ५० प्रतिशतभन्दा बढी एन्टिबडी विकसित भएको देखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए। अन्तिम रिपोर्ट आउन बाँकी भएकाले एन्टिबडी बन्ने प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ।

‘देशभरिबाट १३ हजार ७ सय जनाको रगतको नमुना लिएर गरिएको परीक्षणमा ५० प्रतिशतमा एन्टिबडी विकास भएको पाइएको छ,' मन्त्रालयका ती अधिकारीले भने, 'अब हजार नमुना परीक्षण गर्न बाँकी छ, जसमा एन्टिबडी बन्ने प्रतिशत अझै बढ्न सक्ला। सबै रिपोर्ट आएपछि हामी अब एक/दुई सातामै रिपोर्ट सार्वजनिक गर्छौं।‘

समुदायमा आधारित नमुना परीक्षणमा ५० प्रतिशतभन्दा बढीमा कुनै न कुनै किसिमले एन्टिबडी बनेको पाइएको उनले बताए। देशभरिबाट लिइएका १३ हजार ७ सय जनाको नमुनामा ६ महिनाभन्दा माथिको उमेर समूहहरू समावेश गरिएको थियो।

यसअघि ०७७ असोजमा गरिएको अध्ययनले संक्रमित भएकामध्ये १३ प्रतिशतमा एन्टिबडी बनेको पाइएको थियो। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञ  सम्मिलित एक टोलीले गरेको अध्ययनले १३ प्रतिशत जनसंख्या संक्रमित भएको देखाएको थियो।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार हिमाल, पहाड, तराई तीनै भूभागको प्रतिनिधित्व हुने गरी अध्ययन गरिएको थियो। मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट साढे ६ हजार जनाको रगत नमुना संकलन गरिएको थियो। त्यस बेला पनि ६ महिनाभन्दा माथिको उमेर समूहबाट नमुना संकलन गरिएको थियो।

जति धेरै जनसंख्यामा एन्टिबडी बन्छ कोरोनाविरुद्ध रोग प्रतिरोध क्षमता त्यति नै धेरै बढ्छ। मन्त्रालयका अधिकारीहरूका अनुसार संक्रमण भएर र खोप लगाएकामा देखिएको एन्टिबडी ७० प्रतिशतभन्दा माथि पुगेमा कोरोनाले नेपालीको जीवनयापन सामान्य बन्नेछ।

स्वास्थ्यका अधिकारीहरू ६० प्रतिशतभन्दा बढी जनसंख्यामा एन्टिबडी विकसित भए 'हर्ड इम्युनिटी' तर्फ जाने बताउँछन्। शरीरमा एन्टिबडी बन्दैमा रोगको संक्रमण नै नहुने होइन तर संक्रमण भएर वा खोप लगाएर शरीरमा एन्टिबडी बनिसकेपछि हुने संक्रमणबाट सिकिस्त भएर ज्यान गुमाउने सम्भावना न्यून हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.