|

काठमाडौं : प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरुद्धका बीच पनि लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ।

मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

बिहान बसेको बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेको छ। सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन्।

सो बैठकमा केही विधेयकहरु पेश गरी पुन: बैठक साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी विमला पौडेलले जानकारी दिइन्।

सोही बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भइरहेको उनले बताइन्। सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.