कमिटीमा ४० वर्ष सम्मका युवा समेटिने, शिक्षक र कर्मचारी नअट्ने

|

काठमाडौं : नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा १७ जना पदाधिकारी रहने भएका छन्। १७ पदाधिकारीसहित १ सय ५१ केन्द्रीय कमिटी रहने सो पार्टीले तयार पारेको विधानमा उल्लेख छ।

पार्टीको विधानमा उल्लेख गरिएअनुसार केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरेको छ। 

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने विधानमा उल्लेख छ। केन्द्रीय कमिटीको कूल सदस्य संख्याको कम्तिमा एकतिहाइ सदस्य महिला हुनेछन्।

कमिटीका पदाधिकारी र सदस्यहरू राष्ट्रिय परिषदबाट निर्वाचित हुनेछन्। राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदप्रति उत्तरदायी रहनेछ। राष्ट्रिय परिषद्‌बाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भएपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटन हुने व्यवस्था गरेको छ। 

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने भएको छ।

पार्टीको विधान उल्लेख भएअनुसार राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च रहनेछन्। 

‘पार्टीको सार्वभौम अधिकार पार्टीका संगठित सदस्यहरूमा निहित रहनेछ । यसको प्रयोग पार्टी विधान अनुसार हुनेछ। सबै पार्टी कमिटीहरु समावेशी चरित्रका हुनेछन्। हरेक पार्टी कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिनेछ,’ विधानमा उल्लेख छ। 

जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित हुनुपर्ने व्यवस्था गरेको छ। 

पार्टीका सम्पूर्ण सदस्यहरूले मुलुकको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतत्वसाथ अघि बढाउँदै नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्न जन आधारित, सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशील, जुझारु र अग्रगामी राजनीतिक भूमिका निर्वाह गर्दै अघि बढ्न दृढ संकल्पित रहनुपर्ने लेखिएको छ। 

पदाधिकारी र सदस्यको योग्यता

राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिन महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिले संगठित सदस्य भई ७ वर्ष र अन्यले कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ।

केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्य हुन एक कार्यकाल पोलिटब्यूरो सदस्य भएको र पोलिटब्यूरो हुन कम्तिमा १ कार्यकाल केन्द्रीय कमिटीको पूर्ण सदस्य भएको हुनुपर्नेछ। केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा, संगठित सदस्य भई कम्तिमा १२ वर्ष काम गरेको र प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई २ कार्यकाल काम गरेको हुनुपर्नेछ।

महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने संगठित सदस्य भई ९ वर्ष काम गरेको र कम्तिमा १ कार्यकाल जिल्ला कमिटीमा रहेर काम गरेको भए पुग्नेछ। माथिको योग्यता पूरा गर्नुपर्ने कुनै व्यक्ति राजनीतिक कारणले जेल परेमा जेल बसाइको अवधिलाई पनि राजनीतिक निरन्तरतामा गणना गरिनेछ। अध्यक्ष हुन पोलिटब्यूरो सदस्यको योग्यता पुगेको हुनुपर्नेछ ।

सम्पत्ति विवरण

यस्तै, पार्टीको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा पार्टीका केन्द्रीय आयोग र केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यले आफू निर्वाचित वा मनोनित भएको ६० दिनभित्र तोकिएको ढाँचामा आफ्नो चल–अचल सम्पत्तिको विवरण सिलबन्दी गरी पार्टीको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।

पार्टीको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा पार्टीका केन्द्रीय आयोग र केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यले आफू सो पदमा रहुञ्जेल आर्थिक वर्ष पूरा भएको ६० दिनभित्र तोकिएको ढाँचामा आफ्नो सम्पूर्ण चल–अचल सम्पत्तिको अद्यावधिक विवरण पार्टीको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।

नेकपा (एकीकृत समाजवादी) को विधान :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.