‘तेस्रो धार’का नेताले गरे आफ्नो बचाउ, दोषजति माधव नेपाललाई !

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन्। 

ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष प्रचण्डले बिल्कूल झूट बोलेको दावी गर्दै ओलीले भने, ‘देशका अगाडि बेइमानपूर्ण कुरा गर्ने? मैले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रह्यो। उहाँहरुले षड्यन्त्र गरेर ल्याएको अध्यादेश मात्रै एमाले फुटाउनका लागि ल्याएको प्रष्ट भइसक्यो।’

प्रचण्डलाई जवाफ

आफूले ल्याएको अध्यादेश संवैधानिक भएको दाबीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संकेत गर्दै ओलीले भने, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनसायमा फरक छ। एकजना मित्रले भन्नुभयो– पहिलेको र अहिलको उस्तै हो भनेर। कोही नअलमलिनु होला भनेर। पहिलेको र अहिलको अध्यादेश उसै प्रयोजनका लागि उस्तै प्रयोजन, उस्तै मनसाय, उस्तै संवैधानिक प्रश्न होइन। कानुनी हिसाबमा उस्तै होइन यो फरक छ।’

अध्यादेशको बिषयमा प्रचण्डले साफ झुट बोलेको उनले आरोप लगाए। गठबन्धनको सरकारले देशका अगाडी बेइमानीपूर्ण कुरा गरेको तर्क राखे। 

ओलीले आक्रमक शैलीमा भने, ‘एमाले पार्टी फुटाउन लागेको देशका लागि? सत्ताले यस्तो, सरकारले राजनीतिक पार्टी भित्र बदनियतको साथ हात हालेर अनुचित ढंगले कानुन निर्माण गरेर, प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक कार्य हो, यो नैतिक कार्य होईन। यो विल्कुलै अनैतिक कार्य हो। त्यसकारण यस्तो अनुचित कार्य उचित होइन। देश जोगाउनका लागि अध्यादेश ! यो अध्यादेश नआएको भने देश के हुन्थ्यो? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो? बिलाउँथ्यो । यो के घाममा राखेको बरफको डल्लो हो? कर्कलाको पातमा राखिएको पानी हो यो देश खर्तक्क झर्ने, कहाँ खस्यो–खस्यो थाहा नपाउने? देश जोगाउनका लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि!’ 

देश जोगाउनका लागि लागि भन्दै असंवैधानिक र अनैतिक ढंगले अध्यादेश नल्याएको भए देश जोगिँदैनथ्यो? भनेर प्रश्न गरे। 

अहिलेको सरकारले जनताको काम गर्दैन

ओलीले वर्तमान सरकार जनताको काम गर्नको लागि नआएको दाबी गरे। उनले आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दुखेसो पनि गरे। 

ओलीले भने, 'वर्तमान सरकार आफैंले विकास निर्माणको काम ठप्प पारेको छ। दीर्घकालीन खालका आयोजनाहरुको काम अघि नबढाउन सरकारले परिपत्र गरेको थियो।’

मेलम्ची खानेपानी आयोजना आगामी बैशाख भित्र काठमाडौं ल्याउने कुरा गरे पनि सरकारले काम अघि बढाउन नसकेको उनको भनाइ थियो। आफ्नो सरकारलाई काम गर्न नदिएकाहरुले अहिले कुनै जनताप्रति कुनै काम गर्ने नसकेको आरोप लगाए।

‘विकास, निर्माणको काम ठप्प भएको छ। जुन कामको ठेक्का लागेको थियो, ती कामहरु मात्रै चालु छन्। अरु नयाँ कामहरु हुनेवाला छैन। ठेक्का लाग्नेवाला पनि छैन। मेलम्चीको पानी बैशाखसम्म काठमाडौं आउने भनिएको छ। तर, त्यो पानी पनि आउनेवाला छैन। किनभने गफले पानी आउँदैन, कामले पानी आउने हो’ ओलीको भनाइ छ। 

सभामुखमाथि खनिए

माधव नेपालसहितका पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गरे। पार्टीले निस्कासन गरेका आफ्ना सांसदहरुको मुद्दा विचाराधीन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे। 

सभामुख सापकोटाले पक्षधरताको राजनीतिमा हात हाल्ने काम गरेको आरोप लगाए। 

सभामुख सापकोटाका पछिल्ला गतिविधि खेदजनक रहेको औंल्याउँदै भने, ‘निर्वाचन आयोगलाई संसद सचिवालयले गत १ गते एमालेबाट १४ जना सांसदलाई निस्कासन गरिएको पत्र आएको  र त्यो विचाराधीन रहेको बताएको छ। कारबाही गरिएका व्यक्तिहरुले लिष्ट समेत निर्वाचन आयोगमा पठाउँछ। त्यो भन्दा बेइमानी के हुन्छ? सभामुखले पक्षधरताका साथ राजनीतिमा हात हाल्ने, गिजोल्ने काम यो भन्दा बढि के हुन्छ? यो अत्यन्तै दुःखद् कुरो हो। म यसमा खेद व्यक्त गर्न चाहन्छु।’

ओलीले सभामुखलाई दाँत टाल्ने फुर्सद हुँदा नौ दिनदेखि एमालेले गरेको कारवाही हेर्ने फुर्सद नभएको आरोप लगाए। 

‘एमालेले गरेको कारवाही विचाराधीन छ रे! आठौँ दिन त दाँत टाल्न हिँडेछन् तर सात दिनसम्म के गरेर बसेछन् सभामुख? सभामुख त हिजो त दाँत टाल्न गएका रहेछन्। उनलाई दाँत टाल्ने फुर्सद छ। तर, एमालेको कारबाही सदर गर्ने फुर्सद छैन' ओलीले भने। 

सभामुखले पक्षधरता छाड्न नसकेको भन्दै एमाले फुटाउने षडयन्त्रमा लागेको आरोप लगाए। 

देउवाको आलोचना 

ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको भन्दै आरोप लगाए। लोकतन्त्रका लागि लडेका प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा व्यक्तिका लागि कानुन बनाउने जस्तो काम गरेकोमा आफू आश्चर्यचकित भएको उनले टिप्पणी गरे। 

‘एउटा व्यक्तिलाई सजिलो बनाउनका लागि कानुन निर्माण गर्दै जाने ? एउटा पार्टी फुटाएर प्रतिपक्षलाई कमजोर पार्न रातारात षड्यन्त्रपूर्ण खेल खेल्न पाइँदैन। जो अहिलेको सरकारले खेल्यो। शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँजस्तो लोकतान्त्रिक आन्दोलनमा लामो समय बिताएको मान्छेले लोकतान्त्रिक मूल्यमान्यता छाडेर जे काम गरिएको छ, त्यसप्रति म आश्चर्यचकित भएको छु’ ओलीले भने।

देश र जनताका लागि आवश्यक पर्दा मात्रै अध्यादेश ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहे पनि वर्तमान सरकारले त्यस विपरित काम गरेको पटक पटक दोहोर्‍याए। 

योगेशले गरे आफ्नो बचाउ 

एमाले विभाजनको अन्तिम चरणमा पुगेपछि नेता माधवकुमार नेपालको साथ छाडेका नेताहरुले आफ्नो बचाउ गरेका छन्। 

सम्मेलनमा ओलीले बोलिसकेपछि तेस्रो धारको नेताहरुको तर्फबाट जवाफ दिँदै नेता योगेश भट्टराईले भने, हामीले १० बुँदे सहमति उहाँ (माधव)को सहमतिमा नै ल्याएका थियौँ। त्यसमा उहाँले केही कुरामा असहमति जनाएपछि हस्ताक्षरअघि नै सच्चाइएको थियो।’ 

नेता नेपालले ओलीलाई एकताको लागि गत वैशाख २७ गते पठाएको ६ बुँदे प्रस्तावअनुसार सबै सहमति भइसकेको उनले दाबी गरे। 

नेता भट्टराइले भने, ‘१० बुँदादेखि उहाँलाई जानकारी थियो। भीम कमरेडले फोन लाउड स्पिकर बनाएर नेपाललाई १० बुँदाबारे जानकारी दिनुभएको थियो। माधव कमरेडले केही शब्द फेर्न लगाउनु भएको थियो। घनश्याम भुसाल कमरेडले १० बुँदेको फाइनल ड्राफ्ट माधव नेपाललाई उहाँको कोटेश्वरस्थित घरमै लगेर पनि बुझाउनु भएको थियो। त्यसमा उहाँको सहमति नै थियो।’

पार्टी एकताकाे लागि १० बुँदे सहमति नै पर्याप्त भएकाले त्यसबारे धेरै बोल्नुपर्ने कुनै अर्थ नभएको उनको भनाइ छ। 

माधवलाई पार्टीमा फर्किन आग्रह

अध्यक्ष ओलीले नयाँ पार्टी दर्ता गरेको नेता माधवकुमार नेपालसहितका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरेका छन्। 

मंगलबार बसेको संयुक्त स्थायी कमिटीको बैठकबारे जानकारी दिन बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले एक वक्तव्य जारी गरेर एमालेमै फर्केर आआफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरे। 

एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने स्पष्ट पारे। 

यस्तै, मंगलबारको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले पार्टीमा कसैलाई विभेद नहुने भएकाले एकतामा फर्किन आग्रह गरेका थिए। तर, ओलीसँग पार्टीमा विद्रोह गरेका नेता नेपालले पार्टी दर्तापछि एकताको वार्ता हुने बताइरहेका छन्। उनले कम्युनिष्ट आन्दोलनको रक्षाको लागि बृहत् कम्युनिष्ट एकता गर्ने बताइरहेका छन्। 

यता, एमाले अध्यक्ष ओलीले भने बृहत् कम्युनिष्ट पार्टी नै एमाले भएकाले पार्टीमा आएर आआफ्नो जिम्मेवारी सम्हाल्न आग्रह गरे। 

ओलीले जारी गरेको वक्तव्य

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.