प्रदेशसभामा पनि कमजोर बन्दै

|

धनगढी : सुदूरपश्चिममा एमाले उपाध्यक्ष भीम रावल एक्लिँदै गएका छन्। यसअघि सुदूरपश्चिम प्रदेशमा बलियो वर्चस्व रहेका रावल एमालेमा खुलेसँगै प्रदेशमा उनकै विश्वासपात्र मानिएकाले समेत साथ छाड्न थालेका छन्।

एमाले पार्टीमा विवाद भएपछि अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध गर्ने भीम रावल एमालेमा खुलेका हुन्। एमालेभित्रको विवादले गर्दा सात महिनासम्म रावलको सुदूरपश्चिम प्रदेशमा निकै दबदबा रह्‍यो। यतिसम्म कि एमालेभित्र विवाद भएदेखि रावलको अनुमतिबिना प्रदेश सरकारमा कुनै पनि निर्णय हुन सकेन। रावलको अनुमतिमा नै गत जेठ १५ मा प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको थियो।

तर, एमालेबाट छुट्टिएका माधव नेपाल पक्षधरले आफ्नो छुट्टै पार्टी निर्वाचन आयोगमा दर्ता गरेपछि सुदूरपश्चिममा को–कसको खेमातर्फ भन्ने बहस सुरु भएको छ।

सुदूरपश्चिममा तत्कालीन समयमा पार्टी र प्रदेशसभामा नेपाल समूहको वर्चस्व रहेको थियो। रावल पनि नेपाल समूहमै थिए। जसले गर्दा यहाँ रावल हाबी थिए। तर, अहिले नेता नेपालले नयाँ पार्टी नेकपा एकीकृत (समाजवादी) दर्ता गरेका छन्।

एमालेमा देखिएको यो पछिल्लो घटनाक्रमले सुदूरपश्चिममा रावल कमजोर देखिएका छन्। अहिले रावल एमालेमै रहने भए पनि उनी निकटकै व्यक्तिहरूले भने माधव नेपाललाई साथ दिने बताएका छन्।

सुदूरपश्चिमको एमाले राजनीतिमा भीम रावल फ्याक्टर र प्रेम आले फ्याक्टरले काम गर्छ। रावल माधव नेपालसँग हुँदा आले ओलीतिर लागे। आलेले नेकपा विभाजनको बेला सुदूरपश्चिमको ठूलो शक्ति ओलीतिर पारेका थिए।

तर, पछिल्लो समय आले ओली छाडेर माधव नेपालतिर लागेका छन्। ओलीतिरका मान्छे त यथावत रहे तर भीम रावल जो प्रदेशसभा र प्रदेश कमिटीमा सबैभन्दा शक्तिशाली थिए उनी एमालेमै रहँदा त्यो शक्ति आफूसँग राख्न सकेनन्। संघीय सांसदमा उनी र झपट रावल मात्र माधव नेपाल छाडेर एमालेमा रहे अरू पहिले नै ओलीसँग थिए।

कसले छोडे साथ?

शेरबहादुर कुँवर

रावलको गृह जिल्ला अछामका शेरबहादुर कुँवरले भीम रावलको साथ छोडेका छन्। रावल एमाले सुदूरपश्चिम प्रदेश संयोजक हुँदा अछाम जिल्ला अध्यक्ष रहेका शेरबहादुर कुँवरलाई रावलको विश्वास पात्र मानिन्थे।

उनी अन्तिम समयसम्म पनि रावलसँगै थिए। तर, अन्ततः उनले रावलको साथ छोडेका छन्। उनले माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्। कुँवरलाई अछाममा बलियो जनाधार भएको नेताको रुपमा चिनिन्छन्।

दीर्घ सोडारी

सुदूरपश्चिम प्रदेशसभामा एमाले संसदीय दलको नेता प्रकाश शाह छन्। उनी पहिले माधव पक्षमा रहे पनि अहिले एमालेमै रहेका छन्। तर, तत्कालीन एमालेको माधव समूहमा रहेका सांसद दीर्घ सोडारीको पक्षमा धेरै सांसद रहेको बताइन्छ। संसदीय निर्वाचनमा एमाले कैलालीका अध्यक्ष रहेका सोडारीले आफूनिकटका व्यक्तिहरुलाई टिकट दिएको र उनीहरू निर्वाचित भएपछि सोडारी थप बलिया भएका हुन्। उनी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधारमन्त्रीसमेत हुन्। रावलनिकट सोडारी अहिले नेकपा एकीकृत समाजवादीमा खुलेका छन्।

सोडारीसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङले पनि रावलको साथ छोडेका छन्। उनी तत्कालीन कञ्चनपुर एमालेका अध्यक्ष थिए।

प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्व-उद्योग वन तथा वन तथा वातावरणमन्त्री माया भट्ट पनि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य भएका छन्।

भट्ट रावलनिकट हुन् भने जोशी घनश्याम भुसालनिकट हुन्।

२४ चैतमा सुदूरपश्चिममा रावलले आफ्नो संयोजकत्वमा समानान्तर समिति तयार गरेका थिए। त्यसमा कैलालीको अध्यक्ष बनाइएका दीर्घ सोडारी, कञ्चनपुरको तारालामा तामाङ र अछामका अध्यक्ष तोकिएका शेरबहादुर कुँवर अहिले उनको साथमा छैनन्।

प्रदेशसभामा पनि कमजोर

सुदूरपश्चिम प्रदेशमा ओलीइतरका १७ सांसद छन्। तीमध्ये आधा दर्जन बढी सांसद नेपाल पक्षमा खुलेका छन्। अहिलेसम्म माधव नेपालको पक्षमा रहेका एमाले संसदीय दलका नेता प्रकाश शाह मात्रै रावलको पक्षमा खुलेका छन्।

उनी प्रदेश सरकारको आर्थिक मामिला तथा कानुनमन्त्रीसमेत हुन्। अझै केही सांसद रावल पक्षमा खुल्ने बताइए पनि अधिकांश भीम रावल पक्षका सांसदहरू नयाँ पार्टीमा जाने दाबी गरिएको छ।

‘अझै सल्लाह भइरहेको छ। हामीनिकट १७ जनामध्ये ३ वा ४ जना मात्रै एमालेमा रहन सक्छन्। अरू सबैले माधव नेपाललाई साथ दिन्छन्’ विगतमा रावलनिकट एक सांसदले भने, ‘मैले पनि उहाँलाई साथ दिन सकिनँ।’

सुरुदेखि नै एमालेमा रहेका कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लीलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा एमालेमै रहने भएका छन्।

विगतमा रावलनिकट रहेर अहिले नयाँ पार्टीमा जाने योजना बनाएका एक प्रदेशसभा सदस्यले एमाले र एकीकृत समाजवादीमा आधा–आधा सांसद बाँडिने दाबी गरे।

२५ जना प्रदेशसभा सदस्य रहेको एमालेमा यसअघि नै ८ सांसदले एमालेलाई साथ दिने घोषणा गरिसकेका छन्। तीबाहेक १७ जना नेपाल-रावल पक्षका केही सांसद मात्रै एमालेमा रहने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.