|

पाल्पा : तीन जिल्ला जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्यले गति लिएको छ।

पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। ठेकेदार कम्पनी र सरकारबीच तालमेल नहुँदा समयमै यो पुल निर्माण हुन सकेको थिएन। 

०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौताअनुसार ७ वर्ष बढी म्याद गुज्रिसकेको छ।

ठेकेदार र सरकार एक अर्काबीच आरोप प्रत्यारोप गर्दा निर्माणको काम प्रभावित भएको थियो।

दक्षिण एसियाकै आकर्षक र धेरै जनता लाभान्वित हुने भनिएको पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा यहाँका नागरिक निराश बनेका छन्। कामको जिम्मा लिएको ठेकेदारले लापरबाही गरेको र स्वयं सरकारले बेवास्ता गरेका कारण पुल सम्झौताअनुसार समयमै निर्माण हुन नसकेको गुल्मीको रुरु गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विकले बताए। अहिले भने निर्माण कार्य भइरहेको छ। अब काम रोकिन दिन नहुने उनी बताउँछन्।

पछिल्लो समयमा गत असार मसान्तभित्र पुलको काम सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको थियो। तर, काम सम्पन्न हुन सकेन।

बर्खामा कालिगण्डकी नदीको बहाव बढेपछि निर्माण कार्य प्रभावित भएको निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी नयाँ बाटो रूविना मना जेभीका आधिकारिक प्रतिनिधि महेन्द्र अधिकारीले बताए।

अहिले पुल निर्माणको काम धमाधम भइरहेको छ। ९५ प्रतिशत काम सम्पन्न भइसकेको उनले दाबी गरे। पाल्पातर्फको झोलुङ्गे पुल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ। गुल्मीतर्फको एक महिनामा सम्पन्न हुन्छ। लठ्ठा बिछ्याउने काम सकिएको छ। अहिले फिटिङ गर्ने काम भइरहेको उनले बताए। स्याङ्जातर्फको भने नदीको वहाव कम भएपछि काम सुचारु हुने उनले बताए। यसअघि नै यहाँ चार वटा लठ्ठा बिछ्याइएको थियो। नदीमा आएको बाढीले सबै लठ्ठा एकै ठाउँ जेलिदिएपछि काम अवरुद्ध भएको उनले बताए। 

यो नेपालकै नमुना झोलुङ्गे पुल हो। यसको प्राविधिक जानकारी नहुँदा निर्माण कार्यमा ढिलाई भएको अधिकारीले स्वीकार गरे। झण्डै दुइ वर्ष पुल कसरी बनाउने, कस्ता सामग्री प्रयोग गर्ने र लोड थाम्ने कसरी बनाउने भन्नेबारे जानकारी लिँदा नै बितेको उनले बताए। जमिनमुनिको काम गर्दा र समयमै सामग्री नपाउँदा निर्माण कार्यमा ढिलाइ भएको उनी बताउँछन्। अहिले काम तीव्रगतिमा अगाडि बढिरहेको छ। आगामी मङ्सिरसम्म निर्माण कार्य सम्पन्न हुने अधिकारीले दाबी गरे। 

यो पुलले तानसेन नगरपालिका–१४ को अर्गली, गुल्मीको रुरु गाउँपालिका–१ को रिडी र स्याङ्जाको कालिगण्डकी गाउँपालिका– १ कारिकोट चण्डिभञ्ज्याङलाई जोड्नेछ।

२०७१ साल असार १० गते तत्कालिन मुख्य सचिव लीलामणि पौडेल र गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारीले संयुक्त रुपमा तीनमुखे पुलको शिलान्यास गरेका थिए। सरकारले नयाँ बाटो, रूविना, मना, जेभीसँग नौ करोड ८८ लाख रुपियाँ लागतमा तीन मुखे झोलुङ्गे पुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.