|

रुकुम (पूर्व) : ५० शैय्याको रुकुमपूर्व अस्पतालको भवन निर्माणको कार्य सुरु गरिएको छ। ५० शैय्या क्षमताको भौतिक संरचना भएको रुकुमपूर्व अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो।

लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेटमा शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा रुकुमपूर्व अस्पतालको नयाँ भवन निर्माण कार्य थालिएको छ। भ्याटबाहेक १५ करोड ५७ लाख ४५ हजार ९ सय २९ रुपैयाँमा खड्का- पिएसे जेभी निर्माण कम्पनीले काम गरिराखेको अस्पताल विकास समितिका अध्यक्ष फत्तेकुमारी ओलीले जानकारी दिइन्।

गत जेठ ३ गतेबाट काम सुरु भएकोमा आगामी २०८० साउन २० गते अर्थात् अबको दुई वर्षमा भवन निर्माण गरिसक्नुपर्ने अस्पताल विकास समितिका अध्यक्ष ओलीले बताइन्।

हालसम्म पुरानो संरचनालाई भत्काइ फिल्ड निर्माणको काम भइरहेको ओलीको भनाइ रहेको छ। दुई वर्षपछि सुविधासम्पन्न ५० शैय्याको नयाँ भवनबाट सहज सेवा दिइने अध्यक्ष ओलीले बताइन्।

रुकुमपूर्व छुट्टै जिल्ला बनेदेखि, रुकुमपूर्व अस्पताल स्थापना कालदेखि हालसम्म अस्पतालले पहिलेको रुकुमकोट स्वास्थ्य चौकीको भवनबाट सेवा दिइराखिएको छ। स्वास्थ्य चौकीको भवनबाट अहिले अस्पताल स्तरीय औषधि उपचार सहितको सेवा दिइराख्दा मापदण्ड अनुसारको संरचनाको अभावले सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका प्रमुख डाक्टर गणेश चौधरीले बताए।

रुकुमपूर्व अस्पतालमा भवन अभाव हुँदा एकै कोठामा बिरामीले खचाखच भरिने गरेका छन्। स्वास्थ्य चौकीकै पुरानो भौतिक संरचना भत्काई नयाँ भवन बन्दै गरेकाले एकै कोठामा बिरामी राख्नुको विकल्प नभएको चौधरीको भनाइ रहेको छ।

अस्पताल अपाङ्गमैत्री, पर्याप्त शौचालय, बगैंचा र पर्याप्त पार्किङ सुविधासहितको भवन तयार गरिँदै छ। अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै हुने अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.