रावल फर्किदा भट्टलाई पीडा

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रभावशाली मानिएका दुई कम्युनिष्ट नेता भीम रावल र लेखराज भट्ट एकै ठाउँमा पुगेका छन्। कम्युनिष्ट राजनीतिमा आएको उथलपुथलपछि रावल र भट्टलाई समयले फेरि एकै ठाउँमा ल्याइदिएको हो।

रावल नेकपा एमालेका उपाध्यक्ष हुन भने भट्ट तत्कालीन माओवादी केन्द्रका नेता। २०७४ सालको प्रदेश तथा प्रतिनिधिको निर्वाचनपश्चात् २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेयता रावल र भट्ट एउटै पार्टीमा थिए।

तर, दुवै नेताको ‘गुट’ भने फरक थियो। नेकपाभित्र पूर्व माओवादी र पूर्व एमालेको दूरी हुँदा दुवै नेताहरू फरक–फरक गुटमा थिए। केही समयपछि तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डसँग रावलको निकटता बढेको र उनका पक्षमा सार्वजनिक स्थलमै भाषण गरेपछि भट्ट प्रचण्डसँग बिच्किएका थिए। फलस्वरूप उनी ओली समूहतिर लागे।

तर, त्यो नेकपा एकता भने दिगो रहन सकेन। सर्वोच्च अदालतको फैसलाले एमाले एकातिर, माओवादी एर्कातिर भए। तर, भट्टले ओलीको साथ छोडेनन्। रावल भने एमालेकै अर्को पक्ष माधव नेपाल समूहमा थिए।

अध्यक्ष केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनको विरूद्धमा खरो विरोध गरेका रावल नेपालले नयाँ दल दर्ता गरेपछि भने उनको साथ छोडेर ओलीकै पक्षमा लागेका छन्। नेकपा रहिरहेका बेला प्रचण्डले रावललाई च्यापेपछि भट्ट ओली पक्षमा लागेका थिए। तत्कालीन अवस्थामा भट्ट ओली सरकारका मन्त्रीसमेत थिए। कतिपयले मन्त्री पदकै लोभमा भट्टले ओलीलाई रोजेको आरोप पनि लगाएका थिए। 

रावल फर्किदा भट्टलाई पीडा

रावल एमालेमै रहेपछि भट्टलाई भने असहज भएको उनी निकटस्थहरू बताउँछन्। फरक राजनीतिक विचार भएका उनीहरू एकै पार्टीमा रहनु परेपछि भट्टलाई असजिलो महसुस भएको बताइन्छ। मन्त्री र सांसदबाट हट्नुपरेको पीडा भट्टलाई छ। 

प्रदेश इन्चार्जको लफडा 

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी रावललाई दिइएको थियो। उनीभन्दा जुनियर नेता पार्टीको ९ जनाको सचिवालयमा बस्दा आफूलाई प्रदेश इन्चार्ज र स्थायी समितिमै सीमित पारेको भन्दै रावल असन्तुष्ट थिए।

उनी सुरूवातमा पार्टी एकताको पक्षमा पनि नरहेको भन्ने चर्चा त्यसबेला चलेको थियो। त्यसबेला नेता भट्ट र उनको हैसियत लगभग एउटै रह्यो। नेकपाभित्रको विवाद बढ्दै जाँदा उनलाई इन्चार्जबाट हटाएपछि भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो।

समानान्तर कमिटी चलाएको नेपाल समूहले रावल नै प्रदेशको इन्चार्ज भएको भन्दै प्रदेश पार्टी कार्यालयमा भट्टको नामको नेमप्लेट हटाएर रावलको नेमप्लेट राख्न लगाएको थियो।

जहाँ दुई समूहबीच तनावको अवस्था सिर्जना भएको थियो। यसपछि रावल र भट्टको सम्बन्ध झन् चिसिएको थियो। अहिलेको अवस्थामा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्जका रूपमा भट्ट छन्।

पार्टी २०७५ जेठ २ अगाडिको अवस्थामा गयो भने प्रदेश इन्चार्ज नहुन सक्ने अवस्था छ भने नेता रावल उपाध्यक्ष यथावत् छन्। तत्कालीन समयमा प्रभावशाली नेताद्वय रावल र भट्ट अहिले कार्यकर्ता बिहिन जस्ता देखिएका छन्। उनीहरूले आफ्नै विश्वास पात्रलाई पनि गुमाएका छन्।

वर्षाै माओवादीमा बिताएका भट्टले एमाले बन्ने निर्णय गर्दा धेरै नेता कार्यकर्ताले उनलाई साथ दिएनन्। रावलको अवस्था पनि लगभग उस्तै छ। लामो समय नेपाल पक्षमा रहेका रावलले पार्टी विभाजनमा ओली पक्षमा रहने निर्णय गरेपछि उनी पक्षका नेता कार्यकर्ता पनि उनीसँगै नरहने अवस्था आएको छ।

एमालेमा रहेर रावलले सुदूरपश्चिम प्रदेशसभामा मात्रै तीन–चार जनाभन्दा बढी सांसदलाई आफ्नो पक्षमा लैजान नसक्ने देखिएको छ। भट्टको अवस्था पनि उस्तै छ। ओलीलाई रोजेदेखि नै उनले आफ्नो जनाधार क्षेत्र गुमाइसकेको उनको पूर्व पार्टीकै नेताहरूको भनाई छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.