|

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार दिउँसो १२ बजे बस्ने बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

कर्णका अनुसार बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल हुनेछ। आन्तरिक रुपमा सांगठनिक संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी हुनेछ।

पार्टी सदस्यता, विधान घोषणा र नियमावलीबारे पनि छलफल गर्ने तयारी छ। महन्थ ठाकुर नेतृत्वको लोसपाले निर्वाचन आयोगबाट आधिकारीकाता प्राप्त गरेपछि शनिबार दोस्रो बैठक बस्न लागेको हो।

नयाँ दल दर्ता भएको २१ दिनभित्र पुरानै दलमा रहेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहले दल रोज्न पाउने व्यस्था गरिएको छ। स्थानीय तहका लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरूका लागि प्रादेशिक निर्वाचन कार्यालयमा अनुसूचीअनुसार बनाउने काम सुरु भएको नेता कर्णले बताए। भदौ २३ गतेसम्म स्वघोषणा गर्ने गरी तयारी अघि बढाएको उनको भनाइ छ।

निर्वाचन आयोगमा लोसपा दल दर्ता गराएपछि बिहीवार पहिलो बैठक बसेको थियो। निर्वाचन आयोगले लोसपा पार्टी दर्ता भएको पत्र संसद सचिवालयमा पठाएको छ। सचिवालयले लोसपालाई पनि अन्य दललाई जस्तै सुविधा दिने तयारी अघि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.