‘अब बिदा भएर संस्मरण लेख्न मन छ’

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन्। 

नयाँ सरकार गठन हुनुअघि प्रधानमन्त्री देउवा निवासमा भएको पाँच दलीय गठबन्धनको बैठकमा आफूलाई  गठबन्धनका नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभाे भनेर सोधेको भन्दै प्रचण्डले आफूले ज्ञान पाएको जवाफ दिएको बताए। 

वाइसिएलको राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै  प्रचण्डले भने, ‘मैले ओलीसँग एकता गरेर ज्ञान पाएँ। त्यो देउवाजी, माधवजीलगायत सबैलाई काम लाग्छ।’

आफू घिउजस्तै नरम भएकाले ओलीले फाइदा उठाएको उनको भनाई छ। आलोपालो प्रधानमन्त्री र अध्यक्ष लगायतको सहमति गरेर ओलीले धोका दिएको उनले बताए। 

‘हामी घिउजत्तिकै नरम छौँ। तर, पर्यो भने कठोर हुन पनि जान्छौँ। ओली प्रवृत्तिलाई त्यही बलले ढाल्यौँ। संविधान, लोकतन्त्रको रक्षाको लागि गठबन्धनको महत्वपूर्ण हात हुन्छ’ प्रचण्डको भनाइ छ।  

अब बन्दुक समातेर नभएर औजार समातेर समाजवादको नयाँ सेना बन्नुपर्ने भनाइ राखे। 

‘कतिपयले एकता गरेर गल्ती भयो भन्छन्। तर, होइन एकता आवश्यकता थियो र छ। लोकतन्त्र र संविधान ल्याउनका लागि माओवादीको भूमिका छ भन्ने बिषयमा ओलीले हस्ताक्षर गरेका छन्। हामी सहमतिकाे हस्ताक्षरमा ढुक्क भयौँ।' 

प्रचण्डले भने,'ओलीले प्रधानमन्त्रीको लागि पो झुटो कुरा हस्ताक्षर गरेका रहेछन्। उनले प्रधानमन्त्री पाए मैले ज्ञान पाएँ।’

पुस्ता हस्तान्तरण गर्न तयार रहेको संकेत गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेँ। अब बिदा भएर संस्मरण लेख्न मन छ। तर, तपाईंहरु तयार नभएसम्म मैले सुख पाउने अवस्था छैन। त्यसकारण तपाईहरु लाग्नुपर्छ।’ 

धेरै ठुलो मेहनतका साथ गठबन्धन निर्माण भएको बताउँदै प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाको लागि दृढतापूर्वक लाग्नुपर्ने बताए। आफ्नो पार्टी र संगठनलाई बलियो बनाउनुपर्ने बताउँदै प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काउने प्रयास गरिरहेकाले सचेत हुनुपर्ने भनाइ राखे। 

अहिलेको उपलब्धिलाई रक्षा गर्नको लागि युवा शक्तिलाई प्रत्येक कमिटीमा ल्याउनुपर्ने उनको भनाइ छ। 

‘हामी सिधा सिधा कुरा गर्ने परियो उता केपी ओलीको बोलाइ एउटा बोली अर्कै रहेछ। म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्ने तर, उनले भ्रष्टाचार लुकाउनलाई पो त्यस्तो भनेका रहेछन्’ प्रचण्डको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.