|

हेटौंडा : हेटौंडाको २७ वर्षीय एक पुरुष, जो तीन वर्षदेखि आफ्नै श्रीमतीबाट हिंसाको शिकार बन्दै आएका छन्।

पुरुष प्रधान समाजमा महिला हिंसाको अनेकौं घटना सुन्ने गरिएकोमा पछिल्लो समय पुरुष हिंसाको घटना पनि हुन थालेका छन्। त्यस्तै एक घटनाको शिकार बनेका हुन्–कृष्णप्रसाद (नाम परिवर्तित)। ०७५ साल फागुनमा मागी विवाह गरेका उनले गएको ३ वर्षमा श्रीमतीबाट मानसिक मात्रै नभएर शारिरिक हिंसा पनि सहेका छन्।

विवाह भएको तेस्रो दिनबाट नै सुरु भएको उनीहरुबीचको मनमुटाव ३ वर्षसम्म एक अदृश्य हिंसाको रुपमा निरन्तर चल्दै आएको छ। विवाह गरेर सुन्दर वैवाहिक जीवनको सपना देखेका कृष्णप्रसादलाई विवाह भएको तेस्रो दिनमै श्रीमतीले आफूलाई डिभोर्स दिएर अर्को विवाह गर्न आग्रह गरेकी थिइन्। तर एकपटक जोडिसकेको सम्बन्धलाई तोड्न हुदैन भन्ने सोचले आफूले डिभोर्स नदिएको कृष्ण बताउँछन््। अहिले उनीहरुको एक वर्षको छोरा पनि छ। हुर्किँदै गएको छोरासँगै उनीहरु दुईबीचको विवाद पनि दैनिक बढ्दै गएको छ।

शनिबारको मात्रै कुरा हो, जब कृष्णको श्रीमती केही दिनको माइत बसाइपछि हेटौंडा फर्किएकी थिइन्। श्रीमती आइपुगेको थाहा पाउने बितिकै कृष्ण हतारिँदै लुक्ने ठाउँ खोज्दै  थिए। लुक्ने ठाउँ कही नपाएपछि कृष्ण लामो समयसम्म शौचालयमा गएर लुकेर बसे। उनी यसरी श्रीमतीसँग डराउनुको कारण केहीदिन अघि घटेको घटनाले गर्दा हो। केहीदिन अघि  कृष्ण र उनको श्रीमतीको झगडा भएको थियो। श्रीमानलाई आफ्नो अगाडी अनुहार नदेखाउनु भन्दै अनेक अपशब्दले गाली गर्ने उनले कृष्णको रिसले छोरालाई पिटेकी थिइन्। 

यही विषयमा विवाद हुँदा कृष्णलाई उनको श्रीमतीले इँटाले प्रहार गरेकी थिइन्। श्रीमतीले  प्रहार गरेको इँटाले उनको टाउकोमा गम्भीर चोट लाग्यो। इँटाले श्रीमानलाई प्रहार गरेर उनी आफू ढोका लगाएर भित्र सुतिन्। कृष्ण भने एक्लै भोको पेट घर बाहिरको बेञ्चमा  सुते। यो सिलसिला एक हप्तासम्म चल्यो। कृष्णले एकहप्तासम्म खान पाएनन्। निम्नवर्गीय भएकाले उनले दैनिक बाहिर किनेर खान पनि सकेनन्। कहिलेकाही उनलाई साथीहरुले  खुवाए त कहिले उनी भोकै बसे।

कृष्णको घर हेटौंडा बजारबाट अलि भित्र पर्छ। उनले हेटौंडा बजारमै सामान्य काम गर्ने हुँदा बजारमा नै डेरामा बस्छन्। उनको श्रीमती पनि कृष्णसँगै बस्छिन्। बिहे भएको ३ वर्षमा अहिलेसम्म श्रीमती आफुसँग खुसी भएको ३÷४ पटकको मात्रै याद भएको उनी बताउँछन्।

‘उसले अहिलेसम्म केही मागेको पनि छैन। किन सधै यस्तो गर्छिन् भन्ने कुरा मैले आफैले अहिलेसम्म बुझ्न सकेको छैन,’ कृष्णले भने। बिना गल्ती पनि श्रीमानमाथि सधै खनिने उनको श्रीमतीले धेरै पटक कृष्णको पुरा परिवारलाई मार्ने धम्कीसमेत दिएकी छन्। 

‘मलाई सधै अनुहार नदेखा भनेर गालि गरिरहन्छिन्। उनको अगाडी गएपनि गाली खान्छु नगएपनि खान्छु। म अगाडी जादा रिसले कतिपटक चुरोट खाइन्’ उनले गुनासो गरे।  कृष्णले केही समयअघि मात्रै श्रीमतीले चुरोट सेवन गर्ने गरेको थाहा पाएको बताए। परिवारलाई र उनलाई मार्ने धम्की दिने, दैनिक झगडा गरेर मानसिक तनाव दिने, खाना खान र कोठामा सुत्न नदिने र  हातपात गर्ने गरेको कृष्णको भनाइ छ।

श्रीमतीले एकदिन त आफ्नो माया बुझ्लिन भन्ने आशमा बसेको उनी बताउँछन् । ‘न मानसिक बिरामी भएको होकि भनेर मैले अस्पताल पनि लैजान खोजे तर उनी उल्टो रिसाइन्। यतीकै ठिक होलिन् की भन्ने आशमा बसेको छु तर उनले सधै डिभोर्स माग्छिन्। सानो छोरा छ, उसलाई बाउ आमामा बाँड्न मन छैन, उनले भने, ‘न त उनलाई छोड्न नै मन छ। त्यसैले मैले डिभोर्स दिन सकेको छैन।’ 

कृष्णमाथि अन्याय भएको भन्दै उनको श्रीमतीलाई माइती पक्षले पनि सम्झाउने गरेका छन्। तर कृष्णले गर्दा आफ्नै माइती पक्ष पनि आफ्नोविरुद्वमा भएको भन्दै उनले थप झगडा गर्ने गरेकी छिन्।

कृष्ण एउटा प्रतिनीधि पात्र मात्रै हुन्। पछिल्लो समय महिलाबाट पीडित हुने पुरुषको संख्या पनि बढिरहेको छ। तुलनात्मक रुपमा पुरुषभन्दा महिला धेरै हिंसाको सिकार हुने भएपनि पछिल्लो समय महिलाबाट पुरुष पनि हिंसाको सिकार हुन थालेका छन्। तर पुरुष हिंसाको घटना प्रहरीकोमा भने त्यति पुग्ने गरेको छैन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा पुरुष हिंसाको ५ वटा घटना प्रहरीकोमा आएको बताए। 

उनले श्रीमतीबाट हिंसामा परेको भन्दै ५ जना पुरुषले प्रहरीकोमा उजुरी दिएकोमा सबैको मिलापत्र गरेर पठाइएको बताए। पुरुषमाथि श्रीमतीले हिंसा गर्ने कारण अधिकांश आर्थिकसँग नै सम्बन्धित हुने गरेको उनको भनाइ छ। ‘पुरुष हिंसाको धेरै घटना आर्थिक कुरासँग नै जोडिएको हुने भएपनि केहि घटना भने श्रीमतीले मादक पदार्थ सेवन गरेर हातपात गरेको, अनावश्यक झै–झगडा गरेको जस्तो कारणले पनि हुने गरेको छ।’ उनले भने। 

रिमालले पुरुष हिंसाको घटना प्रहरीसामु एकदमै कम आउने गरेको बताए। नेपाली समाजले पुरुषलाई कमजोर बन्नु हुदैन भन्ने गरेकाले सहनै नसक्ने अवस्था नहुँदासम्म पुरुष हिंसाको घटना प्रहरीसम्म आइनपुग्ने गरेको उनको भनाइ छ।

माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले पछिल्लो समय पुरुष हिंसाको घटनाहरु पनि आउन थालेको बताइन्। लामाले तुलनात्मक रुपमा महिला हिंसाको घटना धेरै हुने गरेको भएपनि पुरुष हिंसा पनि हुने गरेको बताइन्। उनले प्रायः पुरुषमाथि शारिरिक भन्दा पनि मानसिक हिंसा हुने गरेको बताइन्।

‘घरमा नबस्ने, अनावश्यक कुरामा झैझगडा गर्ने, परपुरुषसँग लाग्ने र श्रीमानको सम्पती दुरुपयोग गर्ने जस्तो घटनाहरु पुरुषमाथि हुने गरेको छ। यस्तो घटना लिएर आफूमाथि हिंसा भयो भन्दै पुरुषहरु पनि आउने गरेका छन् ,’लामाले भनिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.