|

काठमाडौं : कोभिड महामारीको कारण झण्डै ६ महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलसहित मनोरञ्जन क्षेत्रका व्यवसाय आजबाट सञ्चालनमा आउँदैछन्।

चलचित्र हल, सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय डिस्को–डान्स, दोहोरी रेष्टुराँ, क्लब तथा पप बार पनि खुला गरिएका छन्। 

२०७७ साल चैतबाट बन्द यी व्यवसाय झण्डै ६ महिनापछि संचालनमा ल्याउन लागिएको हो। प्रशासनले हल लगायत मनोरञ्जन क्षेत्रका व्यवसाय संचालनमा ल्याउन अनुमति दिएपनि तयारी गर्नुपर्ने भएकाले तत्काल खोलिहाल्ने संभावना भने नरहेको व्यवसाय संचालकहरुले जनाएका छन्। 

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी जारी निषेधाज्ञा आजबाट लागू हुने गरी भदौ मसान्तसम्म थप गरिएको छ। 

चलचित्र भवन, सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय डिस्को–डान्स, दोहोरी रेष्टुराँ, क्लब तथा पप बार संचालनमा ल्याउन अनुमति दिएपनि अनावश्यक भीडभाड, सभा जुलुस, जात्रा महोत्सव, भोज र चाडपर्व मनाउन भने निषेध गरिएको छ। 

घरपरिवार तथा आफन्त मित्रसँग चाडपर्व मनाउनै परेमा स्वास्थ्य मापदण्ड पालना गरी न्यून व्यक्तिको उपस्थितिमा सांकेतिक रूपमा मनाउन प्रशासनले जनाएको छ। सर्वसाधारणलाई आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना अनिवार्य गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.