|

काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको भन्दै आपत्ति जनाएको छ। 

महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १८ र २० गते गृह मन्त्रालयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ।

'नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावना विपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासंघको ठहर छ', महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रस्ट छ।’

मित्र राष्ट्रसँगको सम्बन्धका विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर रहेको समेत विज्ञप्तिमा उल्लेख छ। 

गृह मन्त्रालयले छिमेकी मुलुक तथा मित्र राष्ट्रविरुद्ध अभिव्यक्ति दिए वा प्रदर्शन गरे कारबाही गरिने भन्दै विज्ञप्ति जारी गरेपछि सरकारको चौतर्फी आलोचना भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.