|

इलाम : लुथरन वर्ल्ड रेलिफले इलाम अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ। लुथरनले ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण अस्पताललाई हस्तान्तरण गरेको हो।

लुथरनका नेपालस्थित कन्ट्री डाइरेक्टर किरण ओझाले अस्पताल प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललाई सदरमुकाममा उपकरण हस्तान्तरण गरे। विशेषगरी कोभिड नियन्त्रणका लागि सघाउन अस्पताललाई उपकरण प्रदान गरेको जनाइएको छ।

लुथरनले भेन्टिलेटर २ थान, डेफिब्रिलेटर १ थान, ब्लड ग्यास एन्ड केमेस्ट्री एनालाइजर २ थान, प्यासिएन्ट मोनिटर १ थान, थ्री च्यानल इलेक्ट्रोकार्डोग्राफ ५ थान, इन्फ्युजन पम्प १ थान, सक्सन मेसिन ३ थान प्रदान गरेको छ।

यी उपकरण अस्ट्रियाको भियनास्थित एनेक्स कम्पनीबाट खरिद गरी ल्याइएको लुथरनले जनाएको छ। नेपालमा खरिद गर्दा दोब्बर शुल्क लाग्ने भएपछि विदेशबाट आधा मूल्यमा उच्च गुण्स्तरको सामग्री ल्याइएको ओझाले बताए। उनले सरकारले ५ लाख रुपैयाँभन्दा बढी भन्सार शुल्कसमेत छुट गर्दा उपकरण ल्याउन अझ सहज भएको बताए।

लुथरनले नियमित कार्यक्रमअन्तर्गत नभई विशेष कोष संकलन गरेर इलामलाई सहयोग गरेको ओझाले बताए।

इलाम अस्पतालकै लागि जुटेको करिब १० लाख रुपैयाँको उपकरण प्रदान गर्न बाँकी नै रहेको उनले बताए। ‘पूर्वी नेपालमा लुथरनको नियमित कार्यक्रम नभएका बेला हामीले इलाममा स्वास्थ्य उपकरण ल्याउन पहल गरेर सफल भयौं,’ गृहजिल्ला इलाम नै भएका कन्ट्री डाइरेक्टर ओझाले भने, ‘जसले यी सामग्रीका लागि पवित्र उद्देश्यले आर्थिक सहायता गर्नुभएको छ, उहाँहरूले चाहिँ नाम सार्वजनिक गर्न चाहनुभएन।’

इलाम अस्पतालमा धेरै जसो रोगको उपचारमा प्रयोग हुने उपकरण भएपनि दक्ष जनशक्ति नहुँदा उपयोगमा आउन सकेको छैन्। दक्ष जनशक्ति नहुँदा अहिले पनि कतिपय उपकरण थन्किएका छन्। अस्पताल प्रमुख बरालले जनशक्ति व्यवस्थापनका लागि लामो समयदेखि प्रयत्न गरेपनि सफल हुन नसकेको बताए।  प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामबहादुर मगरले इलामलाई पहाडी क्षेत्रको उत्कृष्ट अस्पताल बनाउनेतर्फ सबै एकजुट हुनुपर्ने बताए।

इलाम नगर प्रमुख महेश बस्नेतले अस्पतालका स्वास्थ्यकर्मीलाई सेवामा प्रोत्साहन गर्न नगरले बिशेष चिकित्सकलाई मासिक १५ हजार र चिकित्सकलाई ५ हजार रुपैयाँ प्रोत्साहन रकमसमेत थपिदिएको बताए।

अस्पतालको डाइलायसिस मेसिन सञ्चालनका लागि दक्ष जनशक्ति थप्न नगरले मासिक ५० हजार रुपैयाँ खर्च दिने उनले घोषणा पनि गरे। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु साहले अस्पताललाई जनशक्ति नै मुख्य समस्या भएको बताए। उनले उपकरणले सम्पन्न हुँदै गरेको इलाम अस्पतालमा अहिले कोभिडको चापका कारण तालिममा पठाउने डाक्टरसमेत नभएको गुनासो गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.