|

काठमाडौं : संघीय संसद पटकपटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्।  

सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक बोलाएको  सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र दलका नेतालाई बोलाइएको छ। आफ्नो पार्टी विभाजनमा सहयोगीको भूमिका खेलेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखको कदमको विरोध गर्दै आएको छ। 

एमालेको अवरोधपछि प्रतिनिधिसभाको हिजोको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। बैठक शुरु हुनेबित्तिकै एमालेका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए। 

सभामुख  सापकोटाले अदालतमा विचाराधीन बिषयमा संसदमा बहस गर्न नमिल्ने भएकाले सदन सञ्चालनमा सहयोग गर्न पटक—पटक आग्रह गरे। सभामुखले आफ्नो अधिकारको बिषय उठाउँदा अरु सांसदको अधिकारमा ध्यान दिन समेत एमालेको ध्यानाकर्षण गराएका थिए। 
 
सभामुखको आग्रह अस्वीकार गर्दै एमालेले नाराबाजी कायम राखेपछि पहिलो बैठक १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो। त्यस्तै दोस्रो बैठक सुरु हुना साथ प्रतिपक्षका सांसदहरुले नाराबाजी सुरु गरेपछि बैठक आगामी मंगलबार १ बजे सम्मलाई स्थगित गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.