|

काठमाडौं : सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पुँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरूले सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन्।

अटोमोबाइल्स डिलर्स एसोशिएन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुने बताए। अध्यक्ष दुलालले २०७८÷०७९ को प्रतिस्थापन बजेटमा स्वागतयोग्य रहेको बताउँदै उनले अब नेपालमा अटोमोबाइल उद्योगहरूको उदय हुने दाबी गरे।

​उनले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क  महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको भन्दै यो व्‍यवस्था नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुंगा साबित हुने बताए।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताए। उनले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको सुनाए।

उनले भने, ‘सरकारले ल्याएको प्रतिस्थापन विधेयकले केही राम्रो कुराहरू पनि राखेका छ, जस्तै साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याइएको छ, सँगै आन्तरिक उत्पादनलाई पनि प्राथमिकतामा राखेको छ, रोजगारी सिर्जना गर्ने कुराहरूलाई प्राथमिकतामा राखेको छ, तर विगतका वर्षहरूमा हामीले बजेट ल्याए पनि कार्यान्वयन नभएको पाएका छौँ, त्यसैले समयमै कार्यान्वयन हुनसक्यो भने राम्रो हुन्छ।’

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरूमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताए। उनले प्रतिस्थापन बजेटले शून्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाएको बताए।

शाहले भने, ‘प्रतिस्थापन विधेयक ठूला लगानीहरूमा प्रोत्साहन गर्ने किसिमको छ, यसले लगानीकर्ताहरूलाई कोरोना भाइरसका कारण मर्न लागेको व्यवसाय उठ्छ कि भन्ने आशा जगाएको छ, तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बिडम्बना छ, आर्थिक वर्षको दुई महिना त बितिसक्यो तर दशैँ तिहार भनेर कार्यान्वयनमा ढिला नहोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.