|

काठमाडौं : २०७६ साल फागुन ९ देखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'आमा' र 'सेन्टी भाइरस' हलमा हुँदा हुँदै, दर्शक हेर्न आउँदा आउँदै कोरोना संक्रमणको जोखिमले सिनेमा हल बन्द भए। हलमात्र होइन त्यसको केही दिनमा पूरा देश नै लकडाउनमा गयो।

डेढ वर्षदेखि बन्द भएका हल अझै थला परेकै छन्। पहिलो लकडाउनपछि पहिलेको लयमा फर्कन खोजेको सिनेमा उद्योगलाई कोरोनाको दोस्रो लहरले फेरि थला बसाल्याे।

​कोरोनाको दोस्रो लहरका कारण भएको लकडाउन खुकुलो भएसँगै सिनेमा हल पनि खुल्ने क्रममा छन्। हल त खुल्दै छन् तर हलमा नयाँ फिल्म छैनन्। प्रदर्शनका लागि तयार भएका फिल्म जोखिम उठाउन तयार छैनन्।

यतिबेला सिंगो उद्योग नै पहिलेको अवस्थामा फर्कन संघर्ष गरिरहेको छ। हल खोल्न र फिल्म प्रदर्शनका लागि दौडधुप पनि चलिरहेको छ।

कोरोना र लकडाउनले गर्दा फिल्म प्रदर्शनमा आउन नसके पनि फिल्म निर्माण भने रोकिएन। संख्यात्मक रुपमा फिल्म थोरै निर्माण भए तर बन्ने क्रममा पूर्णविराम भने लागेन।

नेपालमा कोरोनाको असर देखिनुभन्दा अगाडि नै तयार भएर प्रदर्शन मितिसमेत तोकिसकेका फिल्म र यो डेढ वर्षमा निर्मित फिल्म अहिले एउटै सूचीमा छन्। जुन सूची अझै लामो हुँदै छ, तर कुन फिल्म कुन मितिमा प्रदर्शनमा आउने भन्ने चाहीं टुंगो लागेको छैन।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार यतिबेला लगभग ३५ फिल्म प्रदर्शनका लागि तयार छन्। तीमध्ये दुई दर्जनभन्दा बढी फिल्म पहिलो लकडाउनले प्रदर्शन हुनबाट रोकिएका हुन्।

उनले भने, 'यतिमात्र होइन, ७५ देखि ८० फिल्मको अन्तिम चरणको काम भइरहेको छ। जम्माजम्मी यतिबेला निर्माताहरूको करिब १ अर्ब ६० करोड रूपैयाँ होल्डमा छ।' सरकारको सहयोगबिना यो अवस्थामा कुनै पनि फिल्म प्रदर्शनमा आउन नसक्ने उनले बताए।

नेपाली फिल्म उद्योगलाई सरकारबाट सहयोगको अत्यन्त आवश्यकता यतिबेला रहेको उनले बताए। आफूहरूले सरकारसमक्ष ३ महिनासम्म प्रदर्शनमा आउने फिल्मको ५० प्रतिशत र छायांकनमा जाने फिल्मको २५ प्रतिशत आर्थिक भार सरकारले बेहोरिदिने, न्यूनतम लगानी सुनिश्चित गरिदिनुपर्ने, कम्तीमा दुई वर्षसम्मको लागि सिनेमा उद्योगलाई करमुक्त गरिदिन र हल बन्द भएको समयको बिजुलीको डिमान्ड शुल्क छुट गरिदिन माग राखेको अधिकारीले बताएका छन्।

सामान्य स्थितिमा एउटै मितिमा दुई वा दुईभन्दा फिल्म प्रदर्शनमा आउने गरेकोमा लामो समयको विश्रामपछि खुल्न लागेको अहिलेको अवस्थामा फिल्मको चाप सन्तुलित राख्नु अर्को चुनौती हुनेछ।

यो समस्या बुझेर आफूहरूले निर्माता संघ, चलचित्र संघ, चलचित्र विकास बोर्डलगायत सरोकारवाला संस्था मिलेर एउटा समिति गठन गरेको उनले बताए। यो समितिले चलचित्र क्षेत्र चलायमान नहुने बेलासम्म कुनै पनि स्वदेशी तथा विदेशी फिल्म नजुध्ने गरी प्रदर्शन गर्ने तयारी गरिरहेको अधिकारीले बताए।

कुनै पनि देशको कला, संस्कृति संरक्षण गर्न सबैभन्दा पहिले त्यहाँको सिनेमालाई जोगाउनु पर्छ। अधिकारीले भने, 'सही समयमा सही कदम नलिए विदेशी भाषा, विदेशी संस्कृतिले अतिक्रमण गर्ने खतरा रहन्छ।'

अरु बेला दशैं, तिहारजस्ता पर्वमा फिल्म प्रदर्शन गर्न तँछाडमछाड हुनेमा यतिबेला सबै निर्माताले खुट्टा कमाइरहेका छन्, जोखिमबाट सुरक्षित हुन सरकारसँग 'लाइफ ज्याकेट'को अपेक्षा गरिरहेका छन्।

चलचित्रकर्मीका माग सरकारले पूरा गरिदिए दशैं र तिहारका लागि 'म यस्तो गीत गाउँछु–२', 'हिजो आजका कुरा' र 'चपली हाइट–३' प्रदर्शनमा आउने चर्चा भइरहेको छ। प्रदर्शनको मिति कुरिरहेको फिल्म 'चपली हाइट–३' ०७७ सालको नयाँ वर्ष लक्षित गरेर निर्मित फिल्म हो, जुन कोरोनाका कारण रोकिन पुग्यो।

पहिलो लकडाउनपछि पनि अवस्था सामान्य हुने अपेक्षामा निर्माता अर्जुन कुमारले अब भने अवस्था आफूले सोचेअनुसार नहुने देखेका छन्। उनी भन्छन्, 'अब नकुर्ने। सकेसम्म तिहारसम्म प्रदर्शन गर्न पाए हुन्थ्यो भन्ने छ।' यतिबेला नेपाली सिने उद्योगको अवस्था खराब रहेको र भविष्य अनिश्चित देखिएको पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.