|

हेटौंडा : अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरूद्ध  विपक्षी गठबन्धनले तत्काल अविश्वासको प्रस्ताव नल्याउने भएको छ।

शाक्यविरूद्ध नयाँ सरकार गठन गर्न लागिपरेका विपक्षी गठबन्धनले उनलाई विश्वासको मत लिन केही समय दिने सहमती गरेका हुन्। विपक्षी गठबन्धनले उनीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनु अघि शाक्यलाई आफ्नै नैतिकतामा विश्वासको मत लिन दिने निर्णय गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिन हप्ता १० दिनको समय दिने सहमती भएको बताए।

‘राजनीतिक सस्कार पनि हुन्छ, उहाँलाई आफै विश्वासको मत लिन हामी केही समय दिन्छौ। यो समयमा उहाँले आफै सदन बोलाएर विश्वासको मत माग्नु भएन भने अविश्वासको प्रस्ताव लैजान्छौँ,’ उनले भने। कानुन व्यवसायीहरूसँग सल्लाह गर्दा पनि समाजवादीले भर्खरै मान्यता पाएकोले केही समय कुर्न आग्रह गरेकोले पनि तत्काल सरकारविरूद्ध अविश्वासको प्रस्ताव नलैजाने सहमती बनेको जम्कट्टेलले बताए।

उनले अल्पमतमा परिसकेको शाक्य नेतृत्वको सरकारले कुनैपनि नियुक्ती तथा महत्वपूर्ण निर्णय गर्न नसक्ने बताए। ‘भर्खर समाजवादी दर्ता भएर आधिकारिकता पाएको छ। हिजोको आजै अविश्वासको प्रस्ताव र बहुमत लिएर जाँदा राम्रो सन्देश जादैन भनेर हामीलाई कानुन व्यवसायीहरूले भन्नुभयो’ उनले भने,‘त्यसैले राजनीतिक संस्कार पनि देखाउन केही समय दिने भएका छौँ तर यो समयमा उहाँले सरकारको तर्फबाट कुनैपनि निर्णय र काम गर्नुभयो भने त्यो अवैद्य हुन्छ।’

नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले अष्टलक्ष्मीलाई विश्वासको मत लिन संविधानले दिएको पुरै समय आफूहरूले पनि दिने प्रतिक्रिया दिए। थाहाखबरसँग कुरा गर्दै लामाले भने,‘हाम्रो संविधान अक्षरश पालना हुनुपर्छ भन्ने पार्टी हो। सत्ता प्राप्तिको लागि हामी कुनै तिकड्म गर्दैनौ। संविधानले दिएको ३० दिनको समय हामी उहाँलाई दिन्छौँ। उहाँले सदन आह्वान गरेर विश्वासको मत लिनुहुन्छ भन्ने हाम्रो विश्वास छ।’

उनले संविधानले दिएको समयमा पनि शाक्यले विश्वासको मत नलिएमा विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव लैजाने बताए। विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम छिनोफानो गर्न सकस हुँदा अविश्वासको प्रस्ताव अगाडि बढाउन समस्या भइरहेको छ ।

सरकारविरूद्ध अविश्वासको प्रस्ताव लैजाँदा वा बहुमत पुर्‍याउन सरकार गठन गर्न जाँदा दुवैमा मुख्यमन्त्रीमा एकजनाको नाम प्रस्ताव गर्नुपर्ने हुन्छ। तर हाल गठबन्धनमा रहेको नेपाली कांग्रेसको संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे दुई जनाले मुख्यमन्त्रीमा दावी गर्दै गएका छन्।

दुई जनाले मुख्यमन्त्रीमा दाबी गर्दा कसले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन। मुख्यमन्त्रीको टुङ्गो नलाग्दा विपक्षी गठबन्धनले सरकारविरूद्धको प्रक्रिया अगाडि बढाउन नसकेको हो।

प्रदेशमा नयाँ सरकार गठनका लागि सदनमा ५५ मत आवश्यक पर्छ। माओवादी केन्द्रको २३, कांग्रेसको २२ र नेकपा (एकीकृत समाजवादी) को १३ गरी विपक्षी गठबन्धनसँग ५८ मत छ । यस्तो अवस्थामा विपक्षीको सरकार बन्ने निश्चित छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.