|

सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ बेलखोलास्थित भैरवी निम्न माध्यमिक विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थी खुला आकाशमुनि पढ्नुपर्ने भएको छ।

हावाहुरीले छाना उडाएको ५ महिनाभन्दा पनि बढि भइसकेको छ। ०७७ चैतमा आएको हावाहुरीले छाना उडाएको थियो। कोरोना संक्रमणले बन्द भएको विद्यालय खोल्ने तयारी भइसक्दा समेत छाना मर्मत हुन सकेको छैन।

विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले छाना उडाएको भवन नै जीर्ण भएकाले मर्मतभन्दा नयाँ भवनको लागि प्रयास गरे पनि बनाउन सफल हुन नसकेको प्रधानाध्यापक रामप्रसाद शर्माले बताए।

भवन नै जीर्ण भएकाले मर्मतमा खर्च गर्नुभन्दा नयाँ भवनका लागि नगरपालिकासँग आग्रह गरेको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ। उनले भने, ‘कोरोना भाइरसको संक्रमण कम हुँदै जाँदा धेरै स्थानीय तहले विद्यालय सञ्चालन गरिसकेका छन् तर यहाँ मर्मतसमेत हुन सकेको छैन।’

छाना मर्मत नभएकाले विद्यालय खुलेपछि खुला आकाशमुनि पढाउनुको विकल्प छैन। कक्षा ४ देखि ८ सम्म उक्त भवनमा पढाई हुँदै आइरहेको थियो।

छाना नहुँदा भवन घामपानीले दिन प्रतिदिन झन् झन् जीर्ण बन्दै गएको प्रकाश बुढाले बताए। वर्षाको पानीले गर्दा दार (काठ) कुहिँदै गएकाले भवन ढल्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ। उनले भने, ‘लगातारको पानीले जस्तापाता अड्याउन राखिएका सबै काठ पानीले भिजेर कुहिन थालेका छन्। पानी भवनभित्र पर्दा भित्तासमेत कमजोर बन्दै गएको छ।’

शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति पटक पटक नगरपालिकामा गएर अनुरोध गर्दा पनि कुनै सुनुवाई नहुनु दुर्भाग्य भएको बुढाको भनाइ छ।

कालीमाटीको स्कुल पनि उस्तै हालतमा

यस्तै गत जेठमा आएको हावाहुरीले कालिमाटी गाउँपालिका –४ छापडाँडाको जनचेतना प्राथमिक विद्यालयको पनि अवस्था त्यस्तै छ। हावाले उडाएको ४ महिना भइसक्दा समेत मर्मत हुन सकेको छैन।

दुईकोठे भवनको छाना मर्मतका लागि गाउँपालिकामा पत्र पठाए पनि मर्मतको काम अघि नबढेको प्रधानाध्यापक हिमलाल भण्डारीले बताए। हावाहुरीले भवनको छाना मात्र नभई भित्तासमेत भत्किएकाले कक्षा सञ्चालन गर्न नसकिने उनको भनाइ छ।

दुईकोठे भवन कामै नलाग्ने भएको उनले बताए। उनले भने, 'कक्षाकोठा अभाव हुँदा १ देखि ३ सम्मका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ। पानी नपरेको दिन खुला चौर र बरन्डामा राखेर पढाउने गरेको भएपनि पानी परेको दिन १ देखि ३ सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँदै आइरहेका छौं।'

भवन कामै नलाग्ने भएकाले नयाँ भवनका लागि प्रदेश सरकार र गाउँपालिकामा पहल गरिरहेको प्रधानअध्यापक भण्डारीले बताए। शिक्षाजस्तो संवेदनशील विषयमा स्थानीय सरकारले चासो नदेखाउँदा साना बालबालिकामा नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.