|

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदलाई सुचारु गराउने विषयमा कांग्रेससहितका प्रतिपक्ष दलहसँग छलफल गरेर अघि बढ्ने बताएका छन्।

सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो। 

आगामी वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशन अघि नै कांग्रेसलगायतका प्रतिपक्ष दलसँग छलफल गरी संसद्‌ सञ्चालन गराउने प्रधानमन्त्री दाहालको भनाइ थियो। शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सोसम्बन्धी समस्या समाधानका लागि सत्तारुढ दलहरुबीच भइरहेको पनि बताए। 

प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिन पार्टीका सांसदलाई निर्देशन दिएका पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

समाजमा पछि परेको दलित उत्पीडितहरुलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदहरुलाई सुझाव दिनुपर्ने प्रधानमन्त्री दाहालले बैठकमा बताएका थिए। 

उनले विकास बजेटका लागि अत्याधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढंगले वितरण गर्ने गरी सुझाव दिन पनि पार्टीका सांसदहरुलाईसचेत गराएका प्रमुख सचेतक पाण्डेले बताए।

बैठकमा सांसदहरुले राजश्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरी राष्ट्रिय आय वृद्धि हुने गरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.