|

काठमाडौं : सिन्धुपाल्चोककी अनिशा मगर सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि भरेको आवेदन विवरण दर्ता गर्न बुधबार बिहान ६:३० मै  यातायात व्यवस्था कार्यालय चावहिल पुगिन्। 

आवेदन विवरण दर्ता गर्न बिहान ८ : ३० मा टोकन लिइन्। ९ : ३० बजेदेखि दर्ता प्रकृया सुरु भयो। उनको पालो आयो। उनी २ नम्बर कक्षमा दर्ता गर्न गइन्। तीन घण्टापछि बल्ल पालो त आयो तर त्यहीबेला सर्भर डाउन भयो। 

कर्मचारीहरुले एक छिन पर्खिन अनुरोध गरे, उनी पर्खिरहिन्।  फुर्सदमा हुँदा त अरु केही समय कुर्न उनलाई खासै केही थिएन। तर विहान ११ बजेदेखि उनको १२ कक्षाको परीक्षा भएकाले अब उनको तनाव सुरु भयो। ‘मेरो सामाखुसीमा परीक्षा दिन जानुपर्ने छ अहिले ११ बजे,खै ! अहिलेसम्म सर्भर चलेन मात्रै भन्छन्,’ दिक्क मान्दै उनले भनिन्। 

काम हुन्छ की भन्दै उनी १० : ३० सम्म भोकै पर्खिरहिन्। तर,काम भएन। उनी परीक्षा दिन कार्यालयबाट निस्किइन्। पाँच मिनेटको कामका लागि उनको ५ घण्टा त्यसै खेर गयो।  

अनिशा जस्तै, लाइसेन्सका लागि नयाँ दर्ता गर्न टोकन लिएर ७० जनाभन्दा बढी बसिरहेका छन्। तर बिहानैदेखि नचलेको सर्भर दिउँसो १२ बजेसम्म पनि चलेन।  जसकारण कोही निरास मुद्रामा पर्खिरहे भने कोही घरतिर हिँडे। 

सरकारले गुणस्तरीय प्रविधिको प्रणाली प्रयोग नगरेका कारण सधै सास्ती खेप्नुपर्ने सेवाग्राहीहरुले गुनासो गरे। तीन घण्टादेखि दर्ता गर्न पर्खिरहेका नुवाकोटका सन्तोष तामाङले भने,‘सर्भर चल्छ की भन्दै पर्खेको चार घण्टा हुन लागिसक्यो,खै !अहिलेसम्म चल्दैन मात्र भन्छन,यस्तो जनतालाई दुःख दिने अनलाइन प्रणाली किन जोड्नु पर्‍यो?,बरु पुरानै व्यवस्था ठीक रहेछ।’ 

उनका अनुसार यहाँ मात्र नभई यातायातका प्राय: सबै र अन्य सरकारी कार्यालयहरूमा पनि पनि यस्तै समस्या बारम्बार दोहोरिने गर्छ। तर सरकारले दिगो व्यवस्थापन गर्न सकेको छैन।

उनले भने,‘जे जति अनलाइन सेवा छन्,त्यहाँ पनि यसैगरि सर्भर चल्दैन,जसले सेवाग्राहीले दु:ख मात्रै पाउँछन्।’  उनले भीडभाड बढी भएपनि व्यवस्थापन नभएको पनि बताए।

‘कोरोनाको जोखिम कायमै छ,’तामाङले भने,‘यहाँ यत्रो भीड छ,अलिक फराकिलो ठाउँमा अफिस चलाएको भए,यस्तो हुने थिएन।’ 

‘देशभर सर्भर डाउन भएकाले समस्या भयो’

यातायात व्यवस्था विभाग,सवारी चालक अनुमति पत्र चावहिलका प्रमुख विष्णुकुमार भट्टराईले एक ठाउँमा मात्र नभई यातायातको देशै भरको सर्भर डाउन भएको बताए।

‘यो समस्या हाम्रोमा मात्रै भएको होइन,दर्ता गर्ने अनलाइन प्रणाली देशैभर डाउन भएको छ,नयाँको दर्ता प्रकृयामात्र रोकिएको हो,अरु काम भइरहेको छ,थप यस विषयमा बुझिरहेका छौँ,’उनले भने।

उनले क्षमताभन्दा बढी भार भएको बेला सर्भर डाउन हुने समस्या भएको बताए। ‘कहिलेकाही अनलाइनसम्बन्धी बढी क्षमताको काम भयो भने सर्भर बन्द हुन्छ,’उनले भने। दिनभरी नै सर्भर नचले बिहीबार(भोलि)फेरी दर्ता गर्न दिइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.