|

काठमाडौं : नेपालमा  बालबालिकाहरूलाई समेत लगाउन मिल्ने कोरोना विरुद्धको फाइजर खोप दशैँअघि नै आइपुग्‍ने  भएको छ।

द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी)मार्फत अनुदानस्वरूप एक लाख ६३० डोज फाइजर खोप आउन लागेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।

उनका अनुसार खोप आइपुग्‍ने मिति भने टुंगो लागिसकेको छैन। तर, उक्त खोप दशैँअघि नै  आइसक्ने उनले दाबी गरे। ‘ अब छुट्टै एक लाख डोज फाइजर खोप आउँदै छ, उक्त खोप दशैँ अगाडि नै आइपुग्‍नेछ’ उनले भने।

आउन लागेको फाइजर खोप गाभीले नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कत्तिको उपयुक्त हुन्छ भन्नको लागि ट्रायलस्वरूप अनुदानमा पठाउन लागेको बताइएको छ। यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो।

नेपालमा फाइजर खोप भण्डारणका लागि केही हप्ताअघि युनिसेफले ४ वटा फ्रिज उपलब्ध गराइसकेको छ। युनिसेफले उपलब्ध गराएका ४ वटा फ्रिजमा १ लाख २० हजार मात्रा खोप भण्डारण गर्न मिल्ने बताइएको छ।

फाइजर खोप हालसम्म नेपालमा कोरोनाविरुद्ध ल्याइएका अन्य खोपभन्दा अलि फरक भएकाले यो खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने, सिरिन्ज पनि शून्य दशमलव ३ एमएमको चाहिने भएकाले हाल स्वास्थ्य सेवा विभागले त्यसको तयारी गरिरहेको छ।

फाइजर र अरू खोपमा के फरक?

कोरोनाविरुद्धका अन्य खोपभन्दा फाइजरको खोपमा केही फरक छ। फाइजर खोपको पाउडर हुने भएकाले यसलाई घोल्नुपर्ने हुन्छ। त्यसका लागि तालिम दिनुपर्छ। घोलेर एक घण्टा बाहिर राखेपछि मात्र लगाउन मिल्ने हुँदा अन्य खोपभन्दा यो खोपको प्रयोग तरिका फरक छ।

स्वास्थ्यकर्मीलाई यसबारे तालिम दिनुपर्ने हुन्छ। नेपालले फाइजरको ६० लाख मात्रा र मोडर्नाको ४० लाख मात्रा खोप खरिद गर्न लागेको छ। यी दुवै खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ। अक्टोबरमा आउने फाइजर खोप १८ वर्षमुनिको उमेर समूहभन्दा पनि अन्य उमेर समूहलाई दिने सम्भावना रहेको स्वास्थ्य सेवा विभागका अधिकारीले बताए।

फाइजरले उत्पादन गरेको खोप ९० प्रतिशत सुरक्षित मानिएको छ। दुई मात्रा दिनुपर्ने खोपले युएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) बाट अनुमति पाएको छ।

तीन साताको फरकमा दुई मात्रा दिनुपर्ने फाइजर खोपले १६ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा प्रयोग गर्न पूर्ण अनुमति पाइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.