|

काठमाडौं  : उमेरले ९० टेक्न लागेका भैरवबहादुरले आफूलाई पुरस्कार दिइएकोमा खुसी लागेको बताएका छन्। उनले भने, 'कुनै पनि पुरस्कार ठूलो या सानो हुँदैन। पुरस्कार भनेको पुरस्कार हो। सम्मान हो। उहाँहरूले कसरी दिनुभयो थाहा छैन। तर मलाई खुसी लागेको छ। म सन्तुष्ट छु पुरस्कार पाएकोमा।' 

यो वर्षको जगदम्बा श्री पुरस्कार पाएका नृत्यशास्त्री भैरवबहादुर थापा अहिले प्रसन्न छन्। 

६ दशकभन्दा लामो समय यस क्षेत्रमा सक्रिय भैरवबहादुरलाई कला साधनामा अध्ययन अनुसन्धान गर्दै नृत्य क्षेत्रको उन्नयनमा गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो मदन पुरस्कार गुठीले जनाएको छ। 

वि.सं. १९८९ सालमा काठमाडौंमा जन्मेका भैरवबहादुर वि.सं.२०१० देखि नृत्य निर्देशनमा सक्रिय छन्। उनलाई लोक नृत्य मञ्चनको सुरुवातकर्ता पनि मानिन्छ। वि.सं. २०१० मा नाटककार बालकृष्ण समको सक्रियतामा स्थापना भएको भैरव नृत्य दलबाट देश तथा विदेशमा नेपाली लोकनृत्य मञ्चन गरिएको थियो। 

उनका शिष्यहरूमा अहिलेका चर्चित व्यक्तिहरू पनि छन्। हरिवंश आचार्य, भुवन चन्द, विमला थापा, वसुन्धरा भुसाल लगायतका कलाकार भैरवकै शिष्य हुन्। त्यति मात्र होइन रानी ऐश्वर्य तथा उनका बहिनीहरू कोमल र प्रेक्षालाई पनि उनले नृत्य सिकाएका थिए। 

लामो समय सांस्कृतिक संस्थान नाचघरमा नृत्य निर्देशक भएर काम गरेका उनले अवकाशपछि भैरव नृत्य दललाई समय दिन थाले। उनी नृत्यसँगै साहित्य लेखनमा पनि सक्रिय व्यक्ति हुन्। 

उनको ६५ वर्ष लगाएर लेखिएको नृत्यसम्बन्धी पुस्तक नृत्याक्षर विज्ञान सार्वजनिक छ। जुन यो वर्षको मदन पुरस्कारको मनोनयनमा पनि परेको थियो।

उक्त पुस्तकमा प्रयोग भएका शब्दावली बुझाउनको लागि शब्दकोषको आवश्यकता हुने भएकाले उनी यतिबेला त्यसैको तयारीमा रहेका छन्। 

आफूले ६५ वर्ष लगाएर लेखेको उक्त पुस्तक विद्यालयमा पढाइएको हेर्ने चाहना रहेको उनी बताउँदै आएका छन्। लोक नृत्यलाई लिएर सरकार गम्भीर हुनुपर्ने पनि उनको भनाइ छ। 

जगदम्बा श्री पुरस्कार मदन पुरस्कार गुठीबाट दिइने दोस्रो पुरस्कार हो। जगदम्बा श्री पुरस्कार नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ।

मदन पुरस्कार गुठीकी संस्थापिका जगदम्बाकुमारी देवीको सम्झनामा उक्त पुरस्कार वि.सं. २०४५ देखि प्रदान गर्न थालिएको हो। जगदम्बाश्री पुरस्कारमा दुई लाख नगद र प्रमाण पत्र प्रदान गरिन्छ। 

जगदम्बा श्रीबाट सबैभन्दा पहिले सम्मानित हुने स्रष्टा नारायण गोपाल हुन्। तीन दशकसम्म नेपाली संगीत क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई २०४५ मा सम्मान गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.