|

यतिबेला विश्वभर सबैभन्दा बढी चर्चित वेब सिरिज मध्येको एक हो मनी हेइस्ट। सन २०१७ देखि प्रशारण सुरु भएको मनी हेइस्टको भर्खरै पाचौँ सिजनको पहिलो भाग प्रशारण भएको छ। 

उसो त मनी हेइस्टका सबै पात्रहरु यसका दर्शकलाई मन पर्छ तर मनी हेइस्ट भन्ने बित्तिकै दर्शकले सबैभन्दा पहिले सम्झने नाम हो प्रोफेसर।  उक्त सिरिजमा सबै पात्रलाई जोडेर राखेका प्रोफेसर अधिकांश दर्शकको मनपर्ने पात्र पनि हो। पहिलो सिजनदेखि नछुटाइ हेर्ने दर्शकलाई प्रोफेसरको बारेमा धेरै कुरा थाहा छ तर, प्रोफेसरको भूमिका निर्वाह गर्ने अल्बारो मोर्तेको बारेमा भने धेरै थाहा नहुन सक्छ। 

सन १९७५ मा स्पेनको अल्जेरिरासमा जन्मेका मोर्तेले आफू अभिनयमा लाग्छु भनेर सोचेका थिएनन्। मध्यम वर्गीय परिवारमा जन्मेका उनका परिवारको सदस्य तथा कोही नातेदार यस क्षेत्रमा थिएनन्। कम्युनिकेसन इन्जिनियरिङ पढेर त्यसै सम्बन्धि काम गर्न थालेका उनले फिल्म र नाटक हेर्न थालेपछि उनलाई आफूभित्र पनि अभिनय गर्ने इच्छा लुकेको छ भन्ने थाहा भयो। 

केही वर्ष कम्युनिकेसन इन्जिनियर भएर काम गरेपछि उनले अभिनयको कक्षा लिएर फिल्मको अडिसन दिन थाले। सन २००२ मा प्रदर्शनमा आएको हस्पिटल सेन्ट्रल उनको पहिलो टेलिभिजन सिरिज बन्यो जसमा उनले सानो भूमिका निर्वाह गरेका थिए। 

त्यसपछि सन २००७ मा प्रदर्शनमा आएको लोलाले उनलाई धेरै मान्छेहरु माझ चिनायो। फिल्ममा उनको भूमिका सानो भए पनि उनी अरु निर्माताको नजरमा पर्न थाले।  त्यसपछि उनको करिअरले गति लिँदै गर्दा सन २०११ मा उनी बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो। पछि उनको देब्रे खुट्टामा क्यान्सर भएको कुरा थाहा भयो। त्यसको दुई वर्ष भित्रै मोर्तेले क्यान्सरलाई पराजित पनि गरे। आफू क्यान्सर भएर थलिनुपरेको समयलाई उनी आफ्नो जिन्दगीको मध्यान्तर बताउँछन्। 

निको भएर उठेपछि उनलाई केही नयाँ गर्ने मन थियो। त्यसपछि उनले आफ्नी श्रीमती बेलांका क्लिमान्तेसँग मिलेर थ्रि हन्ड्रेड पिस्तोला नाम नाट्य समूह बनाए।  त्यसपछि सक्रिय रुपमा नाटक निर्देशन तथा अभिनय गर्न थालेका उनलाई सन २०१४ मा एउटा टेलिभिजन सिरिज एल सिक्रेतोबाट अफर आयो। जुन स्पेनिस टेलिभिजनको इतिहासमा सबैभन्दा लामो समय चलेको थियो। उक्त सिरिजबाट मोर्ते टेलिभिजनका सबैभन्दा लोकप्रिय कलाकार पनि बने। 

एल सिक्रेतोपछि उनलाई करिअरकै सबैभन्दा ठूलो प्रोजेक्टबाट अफर आयो त्यो थियो ले कासा दे पापेल अर्थात् मनी हेइस्ट। ले कासा दे पापेल स्पेनिस टेलिभिजन क्षेत्रकै लागि महत्त्वपूर्ण सिरिज थियो जसले स्पेनिस सिरिजलाई विश्वभर पुर्याउन सक्छ भन्ने सम्भावना निर्माण टोलीले देखेको थियो। 

सिरिजका परिकल्पनाकार एलेक्स पिना एउटा पाको अनुभवी कलाकारको खोजीमा थिए जसले प्रोफेसर पात्रलाई न्याय गर्न सकोस्। उनले प्रोफेसरको रुपमा मोर्तेलाई नै देखेका थिए। त्यसैले पाँच पटक अडिसन लिएर भए पनि उनले मोर्तेलाई नै लिए। त्यसपछि ले कासा दे पापेल निर्माण भयो, प्रशारण भयो, दर्शकले निकै मन पराएपछि नेटफ्लिक्सले किन्यो त्यसपछि मनी हेइस्ट र प्रोफेसर दुवै विश्वभर चर्चित भए। 

अर्को एउटा कुरा जो कमैलाई मात्र थाहा हुन सक्छ त्यो हो सिरिजमा प्रोफेसरको भूमिका निर्वाह गरेका मोर्ते वास्तविक जीवनमा पनि प्रोफेसर थिए। उनले आफ्नो जीवनको केही वर्ष फिनल्याण्डको एक विश्वविद्यालयमा साहित्य तथा मञ्च व्यवस्थापन विषय पढाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.