|

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा बाढीले धेरै क्षति पुगेको पाइए त्यसको मर्मतका लागि नयाँ ठेक्का लगाइने भएको छ। आयोजनाले बढी क्षति पुगेको खण्डमा मर्मत गर्न नयाँ ठेक्का लगाउने जनाएको हो।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनाको हेडबक्समा क्षति पुगेको छ। सुरुङमा माटोले भरिएको छ। जसकारण अहिले उपत्यकामा आयोजनाको पानी आएको छैन।

‘आयोजनासम्म पुग्ने बाटो ट्रयाक खोल्ने काम सुरु भएको छ, बाटो खुलेपछि प्राविधिक टोलीसहित निरीक्षण गर्न जान्छौँ, हेडबक्समा धेरै क्षति भई नयाँ बनाउनु परेमा नयाँ ठेक्का लगाउनुपर्ने हुन्छ,’ प्रवक्ता पन्तले भने।

अस्थायी रूपमा मेलम्चीको पानी आगामी चैत/वैशाखसम्ममा उपत्यकामा ल्याउने आयोजनाको लक्ष्य छ। तर, पहिला जस्तै गरी पानी कहिलेबाट उपत्यकामा ल्याउन सकिने यकिन टुंगो आयोजनाले दिन सकेको छैन।

बाढीले क्षति पुगेको आयोजना मर्मत गर्न करिब ९० करोड खर्च लाग्ने उनले बताए। आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकामा मेलम्ची आएको थियो। मेलम्चीबाट ल्याइएको पानी चैत १५ देखि उपत्यकामा वितरण गर्न थालिएको थियो।

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर नै पानी वितरण गरिँदै आएको थियो। 
तर, बाढीका कारण अहिले आयोजनामा ठूलो क्षति पुगेको छ। मेलम्चीको पानी नआएपछि उपत्यकामा पहिला जस्तै पानीको समस्य हुन थालेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईका अनुसार यतिखेर उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। 

तर, बोरिङ, कुवालगायत स्रोतबाट दैनिक १४ करोड लिटर पानी मात्र आपूर्ति हुने गरेको छ। हिउँदको समयमा झनै १४ करोड लिटरबाट घटेर १० करोड लिटर मात्र पानी वितरण हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.